इलाम । मेची करिडोर सडकअन्तर्गत भान्ज्याङ-बेलासे खण्डमा पर्ने पुवाखोलामा मोडुलर बेलीब्रिज जडान गर्ने काम सोमबारदेखि सुरु भएको छ । पुल निर्माण नहुँदा लामो समयदेखि डाइभर्सनमार्फत सञ्चालन हुँदै आएको सडकमा अब स्थायी रूपमा सवारी आवागमन सहज हुने अपेक्षा गरिएको छ ।
सडक डिभिजन कार्यालय इलामका सूचना अधिकारी अर्जुन घिमिरेकाअनुसार सोमबारदेखि बेलीब्रिज जोड्ने काम सुरु गरिएको हो । उहाँकाअनुसार भदौ महिनाभित्रै पुल जडान सम्पन्न गरी सवारी सञ्चालनमा ल्याउने लक्ष्यसहित काम अघि बढाइएको छ । जडान हुदै गरेको पुलको लम्बाई ७० मिटर रहेको छ ।
गत वर्ष असोजमा आएको बाढीका कारण पुवाखोलामा यसअघि जडान गरिएको बेली ब्रिज बाढीले बगाएको थियो । पुल बगेपछि सडकमा डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिँदै आएको थियो । तर वर्षायाममा खोलामा पानीको बहाव बढ्दा डाइभर्सनबाट समेत सवारी आवागमन प्रभावित हुँदै आएको थियो ।
पुल नहुँदा इलामसहित पाँचथर र ताप्लेजुङतर्फ आवतजावत गर्ने यात्रु तथा स्थानीय नागरिकले लामो समयदेखि सास्ती खेप्दै आएका थिए । विशेषगरी बाढीको समयमा सडक अवरुद्ध हुँदा यात्रुहरू घण्टौँसम्म बाटोमै रोकिनुपर्ने अवस्था सिर्जना हुने गरेको थियो ।
पुवा खोलामा बेली ब्रिज सञ्चालनमा आएपछि मेची करिडोर सडकमा यातायात आवागमन थप सहज हुने अपेक्षा गरिएको छ । यो सडकलाई मेची राजमार्गको वैकल्पिक मार्गका रूपमा समेत हेरिएको छ ।
मेची करिडोर सडक निर्माण सम्पन्न भएपछि इलामबाट झापासम्मको दूरी करिब ४८ किलोमिटरमा सीमित हुने बताइएको छ । हालको मेची राजमार्गको तुलनामा छोटो दूरीको मार्गका रूपमा विकास भइरहेको यस सडकमा आवश्यक खोलाहरूमा पक्की पुल निर्माण सम्पन्न हुँदै गएमा इलाम र झापाबीचको दूरी तथा यात्रा समयसमेत घट्ने अपेक्षा गरिएको छ ।
पुवाखोलामा बेलीब्रिज जडान सम्पन्न भएसँगै वर्षायाममा समेत यातायात सञ्चालनमा सहजता आउने र इलाम, पाँचथर तथा ताप्लेजुङका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास गरिएको छ ।







रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सुगतिका
परराष्ट्रमन्त्री खनाल र कोरियाली विदेशमन्त्री
न्यायाधीश नियुक्तिको अधिकार प्रधानन्यायाधीशलाई दिनुपर्छः
जलवायु अनुसन्धानमा नीतिगत झमेला र
मदन पुरस्कार वीणा राजभण्डारी र
संविधान कार्यान्वयन नै नगरी संशोधनको