सर्लाही । नेपालको दुग्ध सहकारी अभियानका अगुवा तथा प्रजातन्त्र सेनानी माधव कोइरालाको निधन भएको छ । कोइरालाको आइतबार निधन भएको हो । उहाँको निधनप्रति दुग्ध किसान, सहकारी अभियन्ता तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले दुःख व्यक्त गरेका छन् । विसं १९९५ फागुन ५ गते जन्मिनुभएका कोइरालाले तत्कालीन सोभियत संघ (यूएसएसआर)बाट सहकारी व्यवस्थापनमा डिप्लोमा हासिल गर्नुभएको थियो । उहाँले सहकारी निरीक्षकका रूपमा कामगर्नुका साथै जिल्ला सहकारी संघमा व्यवस्थापकको जिम्मेवारीसमेत सम्हाल्नुभएको थियो ।
राजनीतिक रूपमा प्रजातन्त्रवादी कोइराला नेपाली कांग्रेसमा सक्रिय हुनुहुन्थ्यो । उहाँले विसं २०४२ सालको नेपाली कांग्रेस नेतृत्वको अहिंसात्मक आन्दोलनमा सक्रिय सहभागिता जनाउनुभएको थियो । आन्दोलनका क्रममा उहाँ जेलसमेत पर्नुभएको थियो । उहाँ नेपाली कांग्रेसको जिल्ला समिति सदस्य तथा पञ्चायती व्यवस्था कायम रहेको समयमा, अर्थात् २०४६ सालअघि, नेपाली कांग्रेस सर्लाहीको उपसभापतिको जिम्मेवारीमा समेत रहनुभएको थियो ।
पछि नेपाली कांग्रेसका नेता प्रकाश कोइरालासँगै नेपाली कांग्रेस (राष्ट्रवादी) मा आबद्ध हुनुभएका कोइरालाले उक्त दलको महासचिवको जिम्मेवारीसमेत सम्हाल्नुभएको थियो । उहाँ जिल्ला विकास समिति (डिडीसी)को अध्यक्षमा समेत नियुक्त हुनुभएको थियो ।
सहकारी तथा दुग्ध क्षेत्रको विकासमा कोइरालाको महत्त्वपूर्ण योगदान रहेको सहकारी क्षेत्रका अभियन्ताहरू बताउँछन् । उहाँ दूध उत्पादक सहकारी संस्थाको केन्द्रीय समितिको संस्थापक अध्यक्ष हुनुहुन्थ्यो । नेपालमा दुग्ध सहकारी अभियानलाई संस्थागत बनाउन तथा केन्द्रीय दुग्ध सहकारी संघ गठनमा उहाँले मार्गदर्शन गर्नुभएको थियो ।
कोइराला दुग्ध विकास संस्थान (डिडीसी) सञ्चालक समितिको पूर्वअध्यक्ष तथा राष्ट्रिय दुग्धविकास बोर्डको कार्यकारी समितिका पूर्वसदस्यसमेत हुनुहुन्थ्यो । दुग्ध किसानका समस्या, सहकारीको विकास र किसानको हितका विषयमा उहाँले लामो समयदेखि सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको थियो । त्यसैले उहाँलाई दुग्ध किसानहरूको अभिभावकका रूपमा समेत स्मरण गरिन्छ ।
सामाजिक सेवाका क्षेत्रमा पनि उहाँको योगदान रहेको थियो । उहाँले लालबन्दीमा ‘प्रोपकार दान विभाग शाखा’ स्थापना गर्नुभएको थियो र त्यसको प्रधानसेवकका रूपमा काम गर्नुभएको थियो । त्यस्तै, उहाँ अर्गानिक कृषि एलायन्स नेपालका संस्थापक अध्यक्षसमेत हुनुहुन्थ्यो ।
सहकारी, दुग्ध विकास, सामाजिक सेवा तथा प्रजातान्त्रिक आन्दोलनमा कोइरालाले पुर्याएको योगदानलाई स्मरण गर्दै विभिन्न क्षेत्रका व्यक्तिहरूले उहाँप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । उहाँको निधनले नेपालको दुग्ध सहकारी अभियान र सहकारी क्षेत्रमा अपूरणीय क्षति पुगेको उनीहरूको भनाइ छ ।







बाजुरामा खोलाले बगाउँदा किशोर बेपत्ता
उखु बेचेको छ महिना बित्दा
अमेरिकी सेनाद्वारा थप पाँच इरानी
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न
नेपालले अन्तर्राष्ट्रिय मञ्चमा सशक्त आवाज
रसुवा बाढीमा मृत्यु हुनेकाे संख्या