(गाईजात्रा विशेष)
‘तेस्का बाजे, कस्तो ठाडो उकालो !’
रूकश्याक बिसाएका मनप्रसादले, ठुल्ठूलो स्वरमा बोलाए ‘ए नरेन्द्र दाइ ! ऐंसेलु घारीको फेदमा मूलको चिसो पानी छ । यतै आउनुहोस् है !’
पसिना पुछ्दै आएका नरेन्द्रले-‘यो ज्यानमारा उकालो कतिपटक हिँड्यौ मनप्रसाद ?’ भन्दै उकालोको टुप्पोतिर हेरे ।
ह्या दाइ, उकालोको टुप्पो र केजातिको...फेद नहेर्नु भन्छन् । तपाईंका आँखा भनेजति बेला पनि उकालोको टुप्पोमै हुन्छन् । मेरो कुरा गर्नुहुन्छ भने, यो उकालो कतिपटक हिँडे भन्ने कुराको गिन्ती नै बिर्सिसके । झरी पर्न सुरु भयोकि पहिरो झरेर मोटर बाटो बन्द हुन्छ । आफ्नो घर आउने-जाने छुट्टी यस्तै बेलामा पर्छ । यो उकालो ओह्रालो हिँड्नु मेरो नियति बनिसक्यो ।’
‘म त पहिलो पटकमा नै काबु भए मनप्रसाद । दोहोर्याएर त के हिँडुला र यो ज्यानमारा उकालो !’ ‘सहसचिवमा पदोन्नति हुने बेलामा जागिर छोड्ने विचार गर्नुभयो कि क्या हो दाइ ?’
‘के को छोड्छु जागिर ! तिमीजस्तो जुन ठाउँमा पोष्टिङ भए पनि लुरु-लुरु गएर त्यहीं वर्षौं बिताउने हो कि क्या हो ? अहिले पो ‘जेन-जी’ सरकारको नियम कानुनको फन्दामा फसें ! हेरिराख न, म त छ महिना पनि बस्दिन यो ठाउँमा । सरुवा गराएर सुगम जिल्लामा जान्छु ।’
रातभरि नेताको अगाडि उभिएर पुच्छर हल्लाउने, दिउँसो उनीहरूकै बलबुतामा हुकुम चलाउनेको ओठ मुख कसरी सुकेको छ ? हिजोका नेता भनाउँदाहरू चाउरी परेको मरिचजस्तो बनेर दुलाभित्र पसेका छन् । सोसल मिडियामा आउने त्यस्ता समाचार सुन्दा र देख्दा कान ठाडा पारेर बसेका जनताले ताली बजाइरहेका छन् । यो परिवेशमा पनि देशमा आमूल परिवर्तन भएन भने कहिले हुने ?
‘भन्ने बित्तिकै होला नि उपसचिव तहको सरुवा ?’ ओठ लेप्राए मनप्रसादले । ‘यतिका वर्ष जागिर खाएर पनि अझै कुरा बुझेको छैनौ होगी ? चौबीसै घण्टा आँ गरेर मुख खुला राखेर बस्ने घोरमुखा मन्त्री र सचिवको मुख नोटको बुजोले टालीदेउ त चौबीस घण्टामा सरुवा हुन्छ । त्यति पनि थाहा छैन ?’
गफ दिन सजिलो छ दाइ । सुगम जिल्लामा सरुवा हुन कहाँ त्यति सजिलो हुन्छ र ! भन्नुहोस् त, परिवार पाल्न धौ-धौ पर्ने विकट दुर्गममा फसेका कर्मचारीसँग कहाँबाट आउँछ सचिव र मन्त्रीको मुख बुजो लगाउने रुपैयाँ ? घरखेत बेच्ने कुरा भएन क्यारे !
‘बडो आदर्शवादी कुरा गर्यौ त’ भन्दै हाँसेका नरेन्द्रले भने, ‘कमाउने भनेको छुट्टै कला हो मनप्रसाद । त्यसका लागि छुट्टै किसिमको सीप चाहिन्छ ! जति धेरै सीप, त्यति धेरै कमाइ ! सिपालुले कमाइ गर्ने अनेक उपाय निकाल्छन्, थाहा छैन ?
तपाईंले भन्न खोज्नुभएको कुरा बुझें दाइ मैले । यतिका वर्षपछि चाकरी चाप्लुसी केही नगरी आफ्नै कार्य क्षमताको आधारमा बल्लतल्ल बढुवा भएर अधिकृत बनेको छु । त्यस्तो सोच बनाए भनेमात्र पनि ‘जेन-जी’ सरकार बनेको अहिलेको परिवेशमा सिधै जेलमा कोचिनुपर्ने हुनसक्छ !
‘सही होस् या गलत, काम गर्दाहोस् त जे मा पनि पुर्याउनु पर्यो नि मनप्रसाद !’
‘भयो दाइ, मलाई त्यस्ता कुरामा लाग्नु छैन । जे जस्तो छ म त्यसैमा सन्तुष्ट छु ।’
एउटा कुरा सोधौं मनप्रसाद, ‘के तिमी एकजना स्वच्छ बन्दैमा यो देशबाट भ्रष्टाचार र घुसखोरी निर्मूल हुन्छ ? जुन सरकारले कर्मचारीको परिवारको न्यूनतम् आवश्यकतासम्म पूरा गर्न सक्दैन, त्यहाँ घुसखोरी बन्द हुने भनेको एउटा दिवास्वप्नबाहेक केही होइन ।’
यस पटकको सरकारबाट मैले चाहिँ आशा राखेको छु है दाइ ! देख्नु भएन कस्तो चमत्कार गर्यो । एक इशारामा जन-सागर उर्लियो । कुन्नि कस्तो जादुको लट्ठी बोकेको थियो ? देशका बहुसंख्यक जनतालाई मोहिनी लगायो ? चुनावमा एक रुपैयाँ पनि खर्च नगरी ‘ऐरे गैरे नत्थु खैरेले’ सांसद बन्ने अवसर पाए, जसको नाम जनताले सुनेकासम्म पनि थिएनन् । हेर्नुहोस् त् देश कसरी उत्सवमय बनेको छ ?
रातभरि नेताको अगाडि उभिएर पुच्छर हल्लाउने, दिउँसो उनीहरूकै बलबुतामा हुकुम चलाउनेको ओठमुख कसरी सुकेको छ ? हिजोका नेता भनाउँदाहरू चाउरी परेको मरिचजस्तो बनेर दुलाभित्र पसेका छन् । सोसल मिडियामा आउने त्यस्ता समाचार सुन्दा र देख्दा कान ठाडा पारेर बसेका जनताले ताली बजाइरहेका छन् । यो परिवेशमा पनि देशमा आमूल परिवर्तन भएन भने कहिले हुने ?
नरेन्द्रले कुनै प्रतिक्रिया जनाएनन् । गफ गर्दै हिँडेका नरेन्द्र र मनप्रसाद खाना खान एउटा होटेलमा पुग्दा मध्यान्न हुँदै थियो । नरेन्द्रले भने-ए ! मनप्रसाद एफ.एम.खोल त, समाचार सुनौं ।
एफ.एमको ब्रेकिङ न्यूजको प्रस्तोता बडो उत्साहित ढंगले भन्दै थियो-‘सरकार बनेको पाँच महिना नबित्दै सत्तारुढ दलमा ठाडो विद्रोह सुरु भएको छ । आजको प्रतिनिधिसभामा, फुटबलको खेलमा आत्मघाती गोल हानेजसरी, सत्तारुढ दलका सांसदले सरकार प्रमुखको मान मर्दन गर्दै कालो चश्मा खोलेर बाहिर निस्किन ठाडो चुनौती दिएका छन् ।’ ब्रेकिङ न्यूज सुनेका मनप्रसादले एफ.एम बन्द गरे ।
मनको तीतो ओकल्ने मौका पाएका नरेन्द्रले भने, ‘देख्यौ मनप्रसाद, जुन सांसदलाई तिमी ‘ऐरे गैरे नत्थु खैरे’ भन्दै थियौ, आज तिनै सत्तापक्षका सांसदले सत्ताधारीलाई थर्काउन सुरु गरे । नथर्काउन् पनि किन ? हिजोका सांसदले पाँच महिनाको अवधिमा, सांसद कोषबाट झर्ने सुकिला नोटका बिटा, भर्खर ब्याएको भैंसीजसरी टन्न फाँचो फुलाएर बसेका एन.जी.ओबाट झर्ने डलरका मुट्ठा, व्यापारीको कर छुट गराउँदा हुने अतिरिक्त आय, कमाउ अड्डामा कर्मचारीको सरुवा गराएबापत पाउने लाखौं रुपैयाँ उपहार, सबै जम्मा गर्दा पाँच वर्ष आरामले जिन्दगी बिताउने व्यवस्थाको जोहो गरिसकेका हुन्थे । आज आएर आय श्रोतका सबै प्वालमा बुजो लागेको छ । सांसदहरू कहिले महिना बित्ला र बैंक खातामा मासिक तलब जम्मा होला भनेर संसद् सचिवालयको मुख ताकेर बसेका छन् । मानिस न हो ! साधन सम्पन्न बन्ने इच्छा कसलाई हुँदैन ? त्यस्तो अनर्थ गर्नेलाई नथर्काए कसलाई थर्काउने ?
लोकतन्त्रमा कसैको पक्ष वा विपक्षमा बोल्नु स्वाभाविक प्रक्रिया हो दाइ । सबै कुरालाई रुपैयाँसँग जोड्नु उचित हुँदैन । संसद्को आजको प्रसंग, नांग्लो ठटाएर हात्ती तर्साउने खेल हो भन्ने कुरा राज्यसत्ता सम्हाल्ने नेता र जनता जनार्दन दुवै थरीले बुझेका छन् । डुगडुगी बजाएर बाँदर नाचको तमासा देखाउँदैमा केही फरक पर्नेवाला छैन !’
क्षणभर चुप लागेका मनप्रसादले भने, ‘थाहा छ ? यो खेल कसले खेलाउँदैछ भन्ने कुरा ? जेन-जीले हिजो सिङ फुकालेका यी तिनै बुढागोरू हुन् जसले शक्तिको उन्मादमा निरंकुश राज्यसत्ता सञ्चालन गरे । देशको ढुकुटीमा ब्रह्मलुट मच्चाएर देशलाई खोक्रो बनाए, जनतालाई भोको नांगो बस्न बाध्य बनाए । अहिले आएर बहुला कुकुरजस्तो बनेका छन् । यिनीहरूले जसलाई जहाँ भेट्यो त्यहीं टोक्ने प्रयास गर्नु कुन नौलो कुरा भयो र दाइ !’
सत्ताप्रति समर्पित मनप्रसादको धारणा सुन्दा, अगाडि पछाडि दुवैतिर हिँड्ने, दुई मुखे सर्पको स्वभाव भएका नरेन्द्र शसंकित भए । ‘कहिँ यो मानिस सत्ताधारीको जासुस त होइन ?’ उनको मनमा अनायास डर पस्यो । मनको डर अनुहारमा मात्र नभएर अंगअंगमा प्रकट हुँदै गयो । उनको शरीर एकाएक जिरिंग भयो । अतिसारले ग्रस्त रोगी बच्चाजस्तो कमजोरी अनुभव गरेका नरेन्द्रलाई यतिञ्जेल बोलेका कुरामा पछुतो भयो ।
यस उप्रान्त, सत्ताको विरुद्धमा कुनै पनि प्रकारको अभिव्यक्ति नदिने सोच बनाएका नरेन्द्रले, मृत्यु शय्यामा पुगेको मानिसले जसरी मनको भाव प्रकट गरे– ‘होक्कां गरेर आयो, गवाँ भएर भाग्यो’ भन्ने उखान सुनेका छौ मनप्रसाद ? अहिलेका सत्ताधारीको हालत पनि त्यस्तै हुने हो । यति कुरा हेक्का राख, यो सरकारको आयु वसन्तीको विवाहको आयुभन्दा पनि छोटो छ ।
इमानदारिता कुन चराको नाम हो ? कुन गुडमा बस्छ ? कता पाइन्छ ? भनेर सोध्न बेर नलगाउने महत्त्वाकांक्षाको रोगले ग्रस्त नरेन्द्रको कुतर्क सुन्नुभन्दा उनले उठाएको वसन्तीको विवाहको प्रसंगतिर मोडिएर बाटो काट्नु उचित ठानेका मनप्रसादले सोधे, ‘कुन वसन्तीको कुरा गर्नु भएको दाइ ?’
आलटाल गर्न आवश्यक नठानेका नरेन्द्रले, बैंश चडेको भालेले ठाडो मुन्टो लगाएर कुखुरी..काँ गरेजसरी गर्दन फुलाउँदै भने, ‘को हुनु नि ! लाहुरेकी छोरी ।’
‘दाइको कुरा बुझ्न पनि विशेष तालिम लिनु पर्लाजस्तो छ ! आगराको कुरालाई कता गाग्रामा मिसाउन खोज्नुभएको ? कहाँ राजा भोज, कहाँ गंगु तेली ! राज्यसत्ताको प्रसंगमा कहाँबाट घुस्रिन आइपुग्यो यो वसन्तीको विवाह ?’ ‘हात्ती भन्नु र हात्ती छाप चप्पल भन्नु उस्तै-उस्तै हो नानु’, भन्ने विज्ञापन सम्झना छ मनप्रसाद ?
‘किन सम्झना नहुनु दाइ ! त्यही विज्ञापन सुनेर, हात्ती छाप चप्पल किनेको दिन मेरी श्रीमती खुशी भएर हाँसौं कि नाचौं भएको दृश्य अहिले पनि मेरो आँखा अगाडि झल्झली आउँछ । त्यो विज्ञापन त धेरै वर्षसम्म चल्यो होगी दाइ ?
हो ! अहिलेको सरकारको आकस्मिक सत्तारोहण र वसन्तीको भावाबेसमा भएको प्रेम विवाह पनि उस्तै-उस्तै हो मनप्रसाद । यी दुबैमा एक प्रकारको सामन्जस्य छ ! कति चल्छ भन्ने कुराको नतिजा छिट्टै देख्न पाइनेछ ।’
अँध्यारोमा निसाना लगाउन खोज्ने नरेन्द्र झुटो कुरा बोल्नमा खली छन् भन्ने कुरा थाहा थियो मनप्रसादलाई । तर पनि, उनका कुरा चाख मानेर सुनेजसरी चकित भएको अभिनय गर्दा आफ्ना बाबुको के नै जान्छ र ! भन्ने सोचेका उनले उत्साहित स्वरमा भने-अघिल्लो बासमा, ‘एकातिरको मही, अर्कातिरको सोर्प्याक’ भनेर एक्लै हाँस्दै हुनुहुन्थ्यो ! त्यो सायद वसन्ती कै प्रसंग थियो ?
नरेन्द्रले भने, ‘कुनै प्रसंगमा उखान टुक्का सम्झिएको थिए होला, तिमीले त्यसैलाई समात्यौ होइन ?’
‘एउटा कुरा सोधौं लाग्यो, रिसाउनु त हुन्ननि ?’
‘प्रश्न सोध्यैमा किन रिसाउनु । सोध न, के कुरा हो ?’
‘तपाईं वसन्तीलाई प्रेम गर्नुहुन्थ्यो, होइन ?’
मनप्रसादको अनुहारमा क्षणभर ट्वाल्ल परेर हेर्दै सोधे, ‘कसले सुनायो तिमीलाई यो कुरा ?’ दाइ पनि बिर्सिन थाल्नुभएछ । म पनि त तपाईं पढ्ने धरान कलेजमा नाइट सिफ्टमा पढथें नि ।
‘ए, हो त नि होगी !’ भन्दै चुप लागे नरेन्द्र ।
मनप्रसादले भने, एक-दुईपटक वसन्तीसँग भेट्ने र बोल्ने मौका पाएको थिए मैले पनि । केटी जण्ड थिई । प्रेम र विवाहको कुरा खुलेर गर्थी । भन्थी, प्रेम गर्नु भनेको ख्यालठट्टा हो ? जसलाई प्रेम गरेकी छु उसलाई त्यत्तिकै छोड्छु कि क्या हो ? त्यो बेला, उसले तपाईंकै बारेमा कुरा गर्दैछे भन्ने सोच्थें मैले !
छोड मनप्रसाद, त्यस्ता कुरा साहित्य सिर्जनामा मात्र हुन्छन् । यथार्थमा प्रेम सम्पतिको गजले नापिन्छ र सामाजिक प्रतिष्ठाको तुलोमा तौलिइन्छ । व्यावहारिक जीवनमा प्रेम जतिसुकै वर्ष पुरानो किन नहोस्, युवती जतिसुकै भाबुक या बुद्दु किन नहोस् तर दृष्टिविहीन हुनेवाली छैन । युवतीका यस्ता कुरा सुन्न र पढ्नमा मात्र रमाइलो लाग्ने हो । व्यवहारमा उसलाई चाहिने भनेको मान सम्मान, धन सम्पति र गहना-गुरिया नै हो ।
त्यस्तैमा होटेलवालीले खाना तयार भयोभन्दा दुवैजना उठेर भान्सातिर लागे । खाना खाएर काँधमा रुक-स्याक बोकेका मनप्रसादले भने, सदरमुकाम पुग्न अब धेरै बाँकी छैन दाइ, त्यस्तै दुई घण्टाजति लाग्ला । अब फटाफट वसन्तीको कथा टुंग्याउनुस् भन्दै उकालो लागे ।
होटेलबाट बाहिर निस्किएका नरेन्द्रको मन उपियाँ फड्किएजसरी फड्को मार्दै पुनः एकपटक पच्चीस वर्षअगाडिको धरान पुग्यो । वसन्तीको स्मरण ताजा भएर आँखाअगाडि उभिन आइपुग्दा स्वादे जिब्रो फट्कारेका नरेन्द्रले आफ्नो विगत सुनाउन सुरु गरे ।
दुईतिर ठुल्ठूला भव्य घरको बीचमा एउटा पुरानो काठको तले घरमा थियो मेरो डेरा । दुई घरमध्ये उत्तरपट्टिको घरबाट साँझ–बिहान धूप-बत्तीको बास्ना र शंख घण्टको आवाजसँगै निस्किन्थ्यो भजन–कीर्तनको गुञ्जन । दक्षिणतर्फको घरबाट पोलेको मासु र रक्सीको गन्धसँगै निस्किन्थ्यो उषा उत्थुपको ‘कोई यहाँ आहा नाचे नाचे, कोई उहाँ आहा नाचे नाचे, औवा..औवा...’गीतको चर्को स्वर । आ-आफ्नो रहनसहनमा रमेर बसेका, एक अर्काको सुख दुःखमा साथ दिँदै आएका दुवै परिवारबीचको वातावरण सौहार्द्रपूर्ण थियो । उत्तरतर्फको घरमूलीलाई कसैले जिम्दार बाजे भन्थे कसैले पण्डितबा । उनको नाम थियो रामप्रसाद । दक्षिणतर्फको घर थियो हङ्कङका लाहुरे इन्द्रबहादुर राईको । उनलाई सबैले क्याप्टेन साब भन्ने गर्थे ।
दुईतिर ठुल्ठूला भव्य घरको बीचमा एउटा पुरानो काठको तले घरमा थियो । दुई घरमध्ये उत्तरपट्टिको घरबाट साँझ–बिहान धूप–बत्तीको बास्ना र शंख–घण्टको आवाजसँगै निस्किन्थ्यो भजन र कीर्तनको गुञ्जन । दक्षिणतर्फको घरबाट पोलेको मासु र रक्सीको गन्धसँगै निस्किन्थ्यो उषा उत्थुपको ‘कोई यहाँ आहा नाचे नाचे, कोई उहाँ आहा नाचे नाचे, औवा ..औवा...’ गीतको चर्को स्वर... ।
पण्डित भएर के गर्नु ! क्रूर स्वभावका व्यक्ति थिए रामप्रसाद । उनको कान्छो छोराको नाम थियो विक्रम । बाबुदेखि सधैंभरी त्रसित रहने विक्रम मलाई भेट्न आइरहन्थ्यो । एकदिन मैले सोधेको थिए, ‘बाबुको अगाडि पर्न त यति त्रसित हुन्छौ तिमी, बाघसँग जम्काभेट भए के गर्छौ ?’
उसको जवाफ गज्जवको थियो । भन्यो, ‘मैले के गर्नुछ र ? जे गुर्नुपर्ने बाघले आफैं गर्छ ।’ हङ्कङको स्वच्छन्द वातावरणमा पुल्पुलिएर हुर्किएकी क्याप्टेन इन्द्रबहादुर राईकी कान्छी छोरीको नाम थियो वसन्ती । विक्रम र वसन्ती दुबै मभन्दा जुनियर थिए कलेजमा ।
कहिले नाभी-दर्सना सारी, कहिले मिनिस्कर्ट त कहिले रेसमी कुर्ता सुरुवाल, हावामा फर् ..फर्..उड्दै गरेको रातो सल देख्दा टाढाबाट नै थाहा हुन्थ्यो ऊ वसन्ती हो भन्ने कुरा । उसलाई देख्दा कलेजका सिट्ठीमार ठिटाहरूको जिब्रो, पिरो बंगाली झाल-मुरही खाएजसरी ट्वाक्क पड्किनु स्वाभाविक थियो । अल्लारे ठिटाहरूको मुखबाट निस्किने आम्मा..मा..मा र उफ्फ..शब्दसँगै निस्किने सुसेली जति लामो हुँदै जान्थ्यो त्यत्तिनै झक्कास् भएर निस्किएकी हुन्थी ऊ ।
उसकी आमा लाहुरिनीले बेला मौकामा भन्ने गर्थिन्, ‘उँटजस्ती अग्ली भइसकी, बुद्धि भने पाँच पैसाको छैन । यो हङ्कङ होइन, धरान हो, छाती बाँधेर हिँड्ने गर न वसन्ती भनेर कतिपटक भनिसकेँ । कहाँ सुन्ने हो र ! झन् तीखा छाती पारेर हिँडछे । कुन दिन अभर पर्छ अनि थाहा पाउलिस् ।’
आमाबाबुले भनेको कुरा कुन पुस्ताका छोराछोरीले कहिले सुनेका थिए र वसन्तीले सुनोस् ! जिब्रो निकालेर आमालाई उल्याउँदै-‘मैले पनि त नकराउनुहोस् न आमा भनेर कतिपटक भनी सकें, सुन्ने भए पो !’ भन्दै साइकलको घण्टी ट्रिन्ग..ट्रिन्ग बजाएर खितिती हाँस्दै घरबाट बाहिर निस्किन्थी ।
ह्या दाइ ! तपाईं पनि मन परेकी तरुनीको कुरा निस्कियो भने जिब्रो फट्कारी–फट्कारी चाहिनेभन्दा बढी प्रसंसा गर्नुहुन्छ क्या ? कथाको प्रसंग खुरुक्क अघि नबढाएर किन साहित्य छाँट्नु पर्यो नि ! भन्नुहोस् न, त्यसपछि के भयो ? ‘के हुनु नि ! काँस खायो कस्कुटाले, फलाम खायो खैले, न जा भन्दा पोइल गएँ, दुख पाएँ ऐले, भन्ने उखान सुनेको छैनौ ? त्यही चरितार्थ भयो ।’
‘उखान टुक्का सुनाएर अल्प-अल्प कुरा नगर्नुहोस् न दाइ ! मलाई कथाको अन्त्य सुन्ने हतारो भयो क्या ! प्रसंगको उठान गरेपछि त छिचोल्नु पर्छ नि ! तपाईं भने कुरा चपाएर गिजोल्नु हुन्छ ।’ अब वसन्तीको कथा पूरा गर्नुहोस् दाइ । के साँच्चिकै प्रेम गर्नुहुन्थ्यो वसन्तीलाई ?
‘भन त यो प्रसंग साहित्यिक भाषामा सुनाउँ कि ठट्यौली पारामा ?’ ‘ढाडबाट पसिना तर्तरी चुहेको बेला के को साहित्य छाँट्नुहुन्छ । ठट्यौली पारामा सुनाउनुहोस् न, बाटो त सजिलोसँग कट्छ ।’
नरेन्द्रले प्रसंग अगाडि बढाए, तिमीलाई थाहा छ नि ! कलेजको जमानामा म पनि घोर्लिएको स्यालजस्तो गजक्क परेको थिए । धन, यौवन र रूपले सम्पन्न वसन्तीको त झन् कुरै नगर ! तिमीले नदेखेको होइन क्या रे ! कुखुराको पोथीले पनि एउटा निश्चित समयमा फुल कोरल्छे, वसन्ती भने अहिल्यै बच्चा कोरलौंलाजस्तो गर्थी । घरी काठमाडौं घुम्न जाउँ भन्थी, घरी पोखरा । पढाइमा बाधा हुन्छ र त्यो पनि भ्याउँदैनौ भने दार्जिलिङ नजिक छ, त्यतै जाउँ ।
उसका बाबुको पो स्टर्लिङ पाउण्डमा पेन्सन आउथ्यो र उसले जसरी मन लाग्यो त्यसरी रुपैयाँ उडाउँथी ! मेरा बाबुको न पेन्सन थियो न त भाग्योदय चिट्ठा नै परेको थियो । सबभन्दा ठूलो कुरा त, म पढाई बिगारेर वसन्तीलाई ओथ्रा बसाउने पक्षमा थिइन । न मेरा बाबुले मलाई मनलाग्दी खर्च गर्न नै दिन्थे । उसले चाहेजसरी मैले कहिल्यै पनि उसलाई घुमाउन लगिन । प्रेमको कुराले मात्र युवतीलाई कति दिन अड्याउन सकिन्छ र ! उसलाई त आफूले चाहेको बस्तु चाहिन्छ ।
वसन्ती क्रमशः मबाट टाडिँदै गई । मौकाको ताकमा बसेको पण्डितको छोरा विक्रम र वसन्तीको बीचमा कहिलेबाट इलु..इलु सुरु भयो र कुन दिनदेखि औवा..औवा.. चल्यो ? मैले मेलोमेसो पाइन । कुनै दिन फर्किएर आउँछे होली भनेको त के को फर्किनु ! एकदिन वसन्ती र विक्रमको विवाहको खबर सुन्दा, कसैले कानको जाली फुट्ने गरी बाँसको ठेडी ठोकिदिए जस्तो लाग्यो । म हेरेको हेरै भए ।
क्रमशः






मुक्त हलियाको समस्या स्थायी समाधान
साउदी अरेबियालाई ५ विकेटले हराउँदै
बालेनलाई गगनको सुझाव : ‘महासभामा
बाढीले मनास्लु पदमार्ग अवरुद्ध, लार्केपास
नारायणगढ–मुग्लिन सडक सोमबारदेखि आंशिक बन्द,
भोटेकोशी बाढी महाविपत्ति हो, पीडितलाई