काठमाडौं । हालैको बाढी-पहिरोबाट प्रभावित क्षेत्रमा अस्थायी आश्रयस्थलमा रहेका महिला तथा बालबालिका विभिन्न किसिमका असुरक्षा, अभाव र दुर्व्यवहारको जोखिममा परेको भन्दै महिला सुरक्षा दबाब समूहले गम्भीर चिन्ता व्यक्त गरेको छ । समूहले जारी गरेको प्रेस विज्ञप्तिमा बाढी प्रभावित क्षेत्रमा रहेका एकल महिला, गर्भवती तथा सुत्केरी महिला, अपांगता भएका महिला, ज्येष्ठ नागरिक, बालबालिका तथा महिनावारी भएका महिलाहरूले आवश्यक कपडा, महिनावारी सामग्री, औषधि, पोषणयुक्त खाना लगायतका आधारभूत राहत सामग्री सहज रूपमा प्राप्त गर्न नसकेको उल्लेख गरिएको छ ।
विपद्का समयमा संवेदनशील समुदायको सुरक्षा, गोपनीयता, मर्यादा र विशेष आवश्यकतालाई प्राथमिकतामा राख्नुपर्नेमा समूहले जोड दिएको छ । अस्थायी आश्रयस्थलमा महिला र बालिकाको सुरक्षाका लागि महिला प्रहरीको उपस्थिति गराउन आवश्यक रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै, प्रभावित व्यक्तिको पूर्वस्वीकृति तथा सहमति बिना फोटो तथा भिडियो खिच्ने, सामाजिक सञ्जालमा प्रसारण गर्ने तथा भ्रामक सामग्री सार्वजनिक गर्ने कार्यले पीडितको गोपनीयता, आत्मसम्मान र मनोसामाजिक सुरक्षामा असर पार्न सक्ने भन्दै समूहले यस्ता गतिविधिप्रति सचेत रहन आग्रह गरेको छ ।
समूहले सम्बन्धित सबै निकाय, राहत तथा उद्धारमा संलग्न संघसंस्था, सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई संयमता, संवेदनशीलता र मानवीय मर्यादा कायम गर्दै प्रभावित नागरिकको सुरक्षा र सम्मानलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरेको छ ।
नेपाल सरकारले आफ्नो स्रोत-साधनअनुसार राहत तथा उद्धारको प्रयास गरिरहेको अवस्थामा सबैले हातेमालो गर्दै प्रभावित समुदायसम्म सुरक्षित, समान र सम्मानजनक ढंगले राहत पुर्याउन तथा विशेष जोखिममा रहेका महिला र बालबालिकाको सुरक्षा सुनिश्चित गर्न समूहले अपिल गरेको छ ।
‘विपद्मा राहत मात्र होइन, सुरक्षा, सम्मान र मर्यादा पनि सुनिश्चित गरौँ’ भन्ने आग्रहसहित समूहले विपद्बाट प्रभावित महिला तथा बालबालिकाको संरक्षणमा सबै पक्षको प्रभावकारी समन्वय आवश्यक रहेको जनाएको छ ।







उखु बेचेको छ महिना बित्दा
अमेरिकी सेनाद्वारा थप पाँच इरानी
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न
नेपालले अन्तर्राष्ट्रिय मञ्चमा सशक्त आवाज
रसुवा बाढीमा मृत्यु हुनेकाे संख्या
जेनजी आन्दोलनका सहिदको अनुहारसँग सालिक