कताबाट सुरु गरौँ ? कसरी विषय उठाऊँ ? अब के लिनु छ, भगवान् ? लिन त मसँग के नै बाँकी छ र ? पटक-पटक जिउँदो भएर पनि मरेको मान्छे हुँ म । यो जीवनमा पटक-पटक परीक्षा दिएको छु, त्यो पनि सामान्य होइन, कठिनभन्दा कठिन परीक्षा । हरेकपटक ढलेँ, फेरि उठेँ । हार मानिनँ । तर, अहिले आएर म आफैँ अन्योलमा छु, यो परीक्षा पास गरेँ कि फेल भए ? फेल भए भनूँ भने म जिउँदै छु । पास भए भनूँ भने बाबुआमाले छ दशकसम्म दुःख गरेर र मैले चार दशकभन्दा बढी संघर्ष गरेर जोडेको सम्पत्ति निमेषभरमै स्वाहा भएको छ । सम्पत्तिको नाममा केही बाँकी छैन । आँखाले हेर्दाहेर्दै वर्षौंको मिहिनेत बालुवाको बगरमा परिणत भयो । बिहान तरकारीमा हालेको नुन बेलुकाका लागि बचाउन नसकेको अवस्थामा अरू सम्पत्ति र धनको के कुरा गर्नु ? यो मेरो जीवनमा पहिलोपटक आएको विपत्ति होइन ।
दश वर्षे सशस्त्र द्वन्द्व, संकटकाल, जनआन्दोलन, २०७२ सालको महाभूकम्प, कोरोना महामारी, नाकाबन्दी, जेन-जी आन्दोलन हुँदै अहिले भोटेकोबीको बाढीको वितण्डासम्म आइपुग्दा जीवनले मलाई अनेकौँ पटक थिचेको छ । त्यसमाथि आफ्नै शरीरले दिएको पीडा अलग थियो । मोटरसाइकल दुर्घटना, हर्निया, एपेन्डिक्सलगायत समस्या झेलेँ । गम्भीर रोगसँग तीन वर्षसम्म स्वदेशदेखि विदेशसम्म उपचार गराए । मृत्युको नजिक पुगेर पनि फर्किए । त्यसपछि मनमनै भनेको थिए, ‘अब त उठ्छु ।’
जीवनसँग फेरि नयाँ सम्झौता गर्न खोज्दै थिए । तर, भगवान् ! तिमीले फेरि किन यस्तो परीक्षा लियौ ? भेलको नजिक पुगेको मान्छेलाई फर्काएर फेरि किन खाडलमा धकेल्यौ ? पुनर्जीवन पाएको मान्छेलाई फेरि किन यस्तो पीडा दियौ ?
जिउँदो छु, तर भित्रभित्रै मरिरहेको छु । कहिलेकाहीँ आफैंलाई लाग्छ, म बाँचेको अर्थ के हो ? अनि फेरि अर्को आवाज आउँछ, ‘तँसँग अझै जिम्मेवारी बाँकी छ ।’ सायद त्यही जिम्मेवारीले मलाई आजसम्म जोगाइरहेको छ ।
आफ्नै घरको पीडा, शरीरको थकान र मनको भत्काइ शवै बिर्सनुपरेको थियो । अरूलाई बचाउन दौडिरहेको थिए तर आफैंभित्र भने केही टुक्राटुक्रा भइरहेको थियो । साथीहरूलाई निरन्तर सम्पर्क गर्ने प्रयास गरेँ । कसैले सान्त्वना दिन फोन गरे, कसैले भेट्न आए । त्यो कठिन समयमा साथीहरूको उपस्थितिले पनि ठूलो अर्थ राख्दोरहेछ ।
त्यो कहालीलाग्दो दिन अब २०८३ साल भदौ १० गतेतिर फर्कौं । भदौ ५ गते आफ्नै सक्रियतामा सम्पन्न गरेको कार्यक्रमको समीक्षा गर्न म कालोनीस्थित स्पार्कल इन्टरनेसनल स्कुलतर्फ गएको थिए । दुःख र संघर्षले थलिएको शरीर भए पनि कामप्रतिको सक्रियता रोकिएको थिएन । त्रिशूली बजारको नयाँ पुलबाट हिँडेर पिपलटारस्थित गुडविल एकेडेमी पुगेँ । त्यहाँ रामराजा कुमालसँग केहीबेर कुराकानी भइरहेको थियो । त्यही बेला काठमाडौंमा रहेका दाजु शिव देवकोटाको फोन आयो । ‘त्रिशूलीमा निकै ठूलो बाढी आएको छ ।’ फोनमा आएको त्यो एउटा वाक्यले मन झस्कियो ।
तत्काल नुवाकोटका प्रहरी प्रमुख विपिन रेग्मीलाई फोन गरेँ । उहाँबाट अवस्थाबारे जानकारी लिए । त्यसपछि विदुर नगरपालिका-१ का अध्यक्ष लेलिन रञ्जितलाई सम्पर्क गरेँ । उहाँ पनि आसपासका मानिसलाई खबर गर्न सक्रिय हुनुहुँदो रहेछ । त्रिशूली बजारका सुदीप श्रेष्ठलाई फोन गरेर घटना बताए । रामराजा सरलाई सामाजिक सञ्जालमार्फत सूचना प्रवाह गर्न आग्रह गरेँ । त्यसपछि शरण पाण्डे सरलाई साथमा लिएर घरतर्फ लागेँ ।
बाटोमै आमालाई फोन गरेँ । ‘खोलामा ठूलो बाढी आइरहेको छ, सुरक्षित ठाउँमा जानुहो स् ।’ त्यसपछि बट्टार बजारदेखि विदुर बजारसम्म सम्भव भएसम्म मानिसलाई सतर्क गराउँदै गए । आमाले तलतिरको बाटोमा खासै पानी नआएको बताउनुभयो । तर, मनले मानेन । म घरतिरै गए । माथिबाट तल पसलतर्फ हेरेँ । आँखा रसाए । मुटु धड्कियो । जिउ थरथर काँप्यो । तर, मन बाँधेर बसेँ । भित्रभित्रै रोए, तर बुबाआमाको अगाडि आँसु देखाइन । ‘विपत्ति हामीलाई मात्र परेको होइन । हामी बाँच्यौँ भने सम्पत्ति फेरि कमाउन सकिन्छ ।’ आफैँलाई सम्झाइरहेँ । तर, मन कहाँ मान्थ्यो र ?
सडक विस्तारका क्रममा सरकारले भत्काएको घरबाट जोगाएर राखेका सामानदेखि नयाँ घर निर्माणका लागि जम्मा गरेका झ्याल-ढोका, स्कुटर, मोटरसाइकल, पसलका सामान, घरायसी सामग्री शवै त्यहीँ थिए । तर, आँखै अगाडि ती शवै बाढीले बगायो । कुन दैवले यस्तो दृश्य हेर्न बाध्य बनायो, थाहा छैन । एकछिनमै वर्षौंको पसिना बगरमा मिसियो । सम्पत्ति मात्र होइन, सम्झनाहरू पनि बगे । सम्पत्ति गुमाउनुको पीडा एउटा ठाउँमा थियो । तर, मेरो लागि त्योभन्दा ठूलो चोट अर्कै थियो ।
पत्रकारिता सुरु गरेदेखि अहिलेसम्म जतन गरेर राखेका महत्त्वपूर्ण डकुमेन्ट, जीवनमा प्राप्त गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानका प्रमाणपत्र, पत्रकारिताका सामग्री र मैले आफ्नै मिहिनेतले प्रकाशन गर्दै आएको पत्रिकासँग जोडिएका कागजातहरू पनि बाढीले लग्यो । दशौँ लाख रुपैयाँ खर्च गरे पनि पुनः प्राप्त गर्न नसकिने ती कागजातहरू आँखै अगाडि बगरमा विलीन भए । कहिलेकाहीँ लाग्यो अब के बाँकी छ ? एक मनले भन्यो, ‘यति ठूलो रोगलाई त जितिस्, अब फेरि उठ् ।’ अर्को मनले भन्यो, ‘अब कति लड्ने ?’ तर, मसँग बुबा थिए, आमा थिइन्, श्रीमती थिइन्, छोराछोरी थिए । मेरो कमजोर निर्णयले उनीहरूको जीवनमा झन् ठूलो चोट पर्नसक्छ भन्ने सम्झिए । त्यसैले आफूलाई सम्हालेँ । मनमा जति ठूलो आँधी चले पनि बाहिरबाट बलियो बन्नुपर्ने रहेछ । सायद पुरुष हुनुको शवैभन्दा ठूलो बोझ यही हो रुन मन लाग्छ, तर परिवारका लागि आँसु लुकाउनुपर्छ ।
डाँको छोडेर रुन मन लाग्यो । शरीर गलिसकेको थियो । पानी निरन्तर परिरहेको थियो । बेलाबेला आफैँ ढल्छुजस्तो हुन्थ्यो । तर, जिम्मेवारीले ढल्न दिएन । शवै कुरा सकिएको जस्तो लागे पनि मानवता सकिएको थिएन । ढुंगेमा एक बालक बग्दै आएको खबर पाए । उसलाई उद्धार गर्नुपर्ने थियो । दुईपटक प्रहरी चौकीसम्म हिँडेर पुगेँ । त्यतिबेला आफ्नै घरको पीडा, शरीरको थकान र मनको भत्काइ शवै बिर्सनुपरेको थियो । अरूलाई बचाउन दौडिरहेको थिए, तर आफैँभित्र भने केही टुक्राटुक्रा भइरहेको थियो । साथीहरूलाई निरन्तर सम्पर्क गर्ने प्रयास गरेँ । कसैले सान्त्वना दिन फोन गरे । कसैले भेट्न आए । त्यो कठिन समयमा साथीहरूको उपस्थितिले पनि ठूलो अर्थ राख्दोरहेछ । तर, बाढीपछि भोक हरायो । निन्द्रा हरायो । मनको शान्ति हरायो । आँखाअगाडि बारम्बार एउटै दृश्य आउँथ्यो बाढीले बगाउँदै गरेको घर, सामान र मेरा जीवनका दस्तावेज ।
शवै कुरा बगिसकेपछि त्यहाँ बसिरहनुको अर्थ पनि देखिन । आमासँग सल्लाह गरेँ । काठमाडौं जाने निर्णय भयो । त्यहाँ बस्दा बुबाको रक्तचापसम्बन्धी समस्या झन् बढ्ला भन्ने डर थियो । त्यसैले थोत्रो शरीर र गलित मन लिएर काठमाडौंको बाटो लागेँ । आदरणीय दाजु शरण उत्सुक सापकोटालाई भेटेँ । उहाँबाट सहयोग पाए । त्यसपछि बट्टार आएर माइक्रो चढेँ । मोबाइलमा ब्याट्री निकै कम थियो । बट्टार आइपुगेपछि फोन लगातार बज्न थाल्यो । साथीभाइ, आफन्त, शुभचिन्तक र विभिन्न व्यक्तित्वहरूले फोन गरिरहनुभएको थियो । शवैलाई एउटै कुरा भनिरहेको थिए, ‘म र मेरो परिवार सुरक्षित छौँ ।’ आफ्नै पीडा लुकाएर अरूलाई ढुक्क बनाउनु पनि एउटा संघर्ष रहेछ । गाडी भाडासमेत थिएन । त्यसपछि आदरणीय दाजु रामचन्द्र कोइरालालाई फोन गरेँ । उहाँले भाडाको व्यवस्था गरिदिनुभयो । आमाले चाउचाउ र चिसो किन्नुभयो । खान मन पटक्कै थिएन । तर, आमाको मन राख्नका लागि खाए । दिमागमा भने घर, सामान, कागजात र बगेर गएको जीवन घुमिरहेको थियो । ढिकुरे बजार पार गरेपछि मोबाइल फेरि लगातार बज्न थाल्यो । तर, मोबाइलको ब्याट्री सकिँदै थियो । मसँगै माइक्रोमा गोसाइँकुण्ड जान लागेका, तर यात्रा स्थगित गर्नुपरेका एकजना अपरिचित दयालु यात्रुले मोबाइल चार्ज गर्न ब्याकअप दिनुभयो । त्यो अपरिचित व्यक्तिको त्यो सानो सहयोग पनि त्यतिबेला मेरा लागि ठूलो थियो । फोन उठाउँदै, जवाफ दिँदै, आफूलाई सम्हाल्दै अगाडि बढिरहेँ । धेरै बोल्दा–बोल्दै गला अवरुद्ध हुन्थ्यो । निरन्तरको तनाव र यात्राले स्वरसमेत बसेको थियो । बाटोमा दुई बहिनीलाई फोन गरेँ । बोल्न सकिन । गला अड्कियो । तर, आफूलाई सम्हालेँ । उनीहरूलाई पनि सुरक्षित रहेको जानकारी दिएँ र मन थाम्दै अगाडि बढेँ । यहीबीचमा मिलापका सम्पादक कृष्ण भुसाललगायतका केही व्यक्तिलाई फोन गरे । माछापोखरीबाट गोंगबुस्थित धनेश्वर मामाघरसम्म पुग्दा ट्याक्सी चालकले गर्नुभएको सहयोग पनि कहिल्यै बिर्सन सक्दिन । जहाँ भए पनि उहाँको भलो होस् ।
सम्पत्ति गुम्यो भन्दैमा जीवन गुमेको छैन, कागजपत्र बगे भन्दैमा मेरो इतिहास बगेको छैन । घर बगे भन्दैमा मेरो हिम्मत बगेको छैन । बाढीले मेरो धेरै कुरा लग्यो, तर एउटा कुरा लैजान सकेन, फेरि उठ्ने मेरो अठोट ।
काठमाडौं पुगेपछि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपालकी अध्यक्ष रीता थापा, सल्लाहकार उज्ज्वल ठकुरीलगायतलाई घटनाबारे जानकारी गराए । मामाघर पुगेपछि आफन्त र साथीभाइसँग निरन्तर सम्पर्क भयो । मलाई सकुशल देखेपछि उनीहरू खुशी भए । फोन आइरह्यो, सोधपुछ भइरह्यो, सान्त्वना आइरह्यो, तर मेरो मन भने नुवाकोटमै थियो । समाचार हेर्दा, अरूका कुरा सुन्दा, आफ्नो जस्तै पीडा भोगेका मानिसका कथा देख्दा मन झन् भारी हुन्थ्यो ।
कसैको परिवार गुमेको थियो, कसैको घर गुमेको थियो, कसैको सम्पूर्ण जीवन बगेर गएको थियो, त्यतिबेला एउटा कुरा मनमा आयो ‘मेरो सम्पत्ति गयो, तर मेरो परिवार त मसँगै छ ।’ सायद यही नै मेरो शवैभन्दा ठूलो सम्पत्ति रहेछ ।
आज मेरो चिन्ता एउटै छ, परिवारलाई कसरी व्यवस्थापन गर्ने ? र, फेरि कसरी आफ्नो जीवनलाई पुनःस्थापित गर्ने ? मसँग अझै साथीहरू छन्, आफन्त छन्, शुभचिन्तक छन्, पत्रकार महासंघ छ, ट्रेड युनियन छ, प्रेस युनियन छ, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान छ । दुःखको समयमा ‘नआत्तिनू’ भनेर हौसला दिने धेरै मनहरू छन् । तर, यही दुःखको समयमा अनावश्यक फोन गरेर झन् पीडा दिनेहरू पनि भेटिए ।
सम्पत्ति गुम्यो भन्दैमा जीवन गुमेको छैन, कागजपत्र बगे भन्दैमा मेरो इतिहास बगेको छैन । घर बगे भन्दैमा मेरो हिम्मत बगेको छैन । बाढीले मेरो धेरै कुरा लग्यो, तर एउटा कुरा लैजान सकेन, फेरि उठ्ने मेरो अठोट । धेरै कुरा अझै बाँकी छन् । ती अर्को लेखमा लेखौँला । अन्त्यमा, जीवनका हरेक कठिन मोडमा साथ दिनुहुने आफन्त, साथीभाइ, शुभचिन्तक, संघसंस्था र सम्पूर्ण सहयोगी मनहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।
(लेखक अधिकारी नुवाकोटबाट प्रकाशित हुने सुन्दरादेवी सन्देश साप्ताहिकका सम्पादक तथा प्रेस युनियन नुवाकोटका पूर्वअध्यक्ष हुनुहुन्छ ।)







भोटेकोशी बाढी : ट्रमा सेन्टरमा
लागुऔषध खैरो हेरोइनसहित मकवानपुरमा तीन
कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य
भोटेकोशी बाढी : एक हजार
बाढी प्रभावित जिल्लाहरुमा राहत तिब्र,
क्यासिनोमा नेपाली प्रवेश गराई जुवा