अति सर्वत्र वर्जयेत्
देशमा दैवीदुर्विपाकका घटनाले विश्वमानवको मुटु कामिरहेको छ । सिंगो राष्ट्रका आँखा भिजेका छन् । राष्ट्र अन्तर्राष्ट्रका सम्बद्ध संस्थाका विज्ञले पनि वैयक्तिक, राष्ट्रिय तथा सामुदायिक सम्पत्तिका नोक्सानीको लेखाजोखा गर्न सकेका छैनन् । पुराणमा पढेको र भूगर्भविद्ले पुस्तकमा पढेका र अनुमान गरेका कुरा प्रत्यक्ष दृश्यमान भएका छन् । एउटा सानो भू-भाग र जलाधार क्षेत्रमा घटेका घटनाले प्रलयकालको छटा प्रदर्शन गरेको छ र मानवीय विधिनिर्माण र विकासका स्मारकलाई कमिलाले उठाएको माटाका थुप्रामा केटाकेटीले पिसाब गरिदिँदा देखिनेजस्तै कन्तबिजोक देखिएको छ ।
प्रकृतिको सानो अंशको क्रुद्धताले प्रदर्शन गरेको यो बीभत्सताले गाँजेका बेला देशलाई भिन्न विचार, दर्शन र लाखौं अभाव तथा दारिद्य्र्र र अशिक्षाको पनि अन्धकारका भागबाट इषद् उज्यालामा ल्याउने पटकपटकका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक साँगुरा गल्छी र गल्लीबाट देश र देशमा भएका ३१ भन्दा बढी संस्कृतिका पालकज नतालाई नेपालीय संस्कृतिमा बाँध्न मझधारमा उभिएर दक्षिणपन्थी र वामपन्थीलाई राष्ट्रिय चालमा ढाल्ने क्षमताको नेपाली कांग्रेस आफैं वल्लो घाट न पल्लो तिर भएको छ । नाम उँचो मुख कान बुचो मान्छे बनेको छ । जसले राष्ट्रिय नेतृत्व गरेर देशर देशवासीका चाहनाकांक्षाको राजमार्ग निर्माण गरेको थियो त्यो आज घरका कुनामा बसेर खोते झगडा गरेर समय बरवाद गरिरहेको देखिन्छ ।
अदालत देशका विधिको व्यख्याता हो । अदालत राजनीतिक दलको पनि विधिको व्याख्याता हो । आधिकारिकता छिमल्ने काममा त्यसलाई मुछ्नु हुँदैनथ्यो । न मातृका र बीपी अदालत गए न त गिरिजाप्रसाद नै अदालत गुहार्न गएका थिए । यो गोतान कुलको चरित्र कहाँबाट कसरी आयो ?
पाँचपाँच पटक देशको प्रधानमन्त्री भएका र आठ पटक गृहक्षेत्रबाट चुनाव लड्दा सधैं जितेका भए पनि आज कुहिराको काग बनेका छन् । आज उनका आचरण, बोली, व्यवहार तथा चिन्तनमा देखिने दृश्यप्रति जनताले आश्चर्यप्रकट गरिरहेका छन् । के भयो ? कांग्रेसमा कसका आँखा लागे, कि मति बिग्रियो ? समानता, भ्रातृता र विश्वबन्धुतालाई गायत्री ठानेर जीवनचरित्रमा उतार्न राजनीतिका क्षेत्रमा आएका असीको दशक पार गरेका नेताबाट उनैका कार्यकर्ताका सामुन्ने प्रदर्शन गरेका विधिव्यवहार, मानवीय अपेक्षाभित्रका लाग्छन् ? अति भएन ? सोच्ने हो कि ? आफ्नै इतिहासमा कालो दाग त नलाग्ला ? मूल्यांकन आवश्यक छ । हिजो गिरिजाप्रसादले यसै गरेका भए ? सोच्ने कि आँखा चिम्लने ? बडाले जो गर्यो काम हुन्छ त्यो सर्वसम्मत ।...छोटाको रिस हुन्छ, सहनु यै हो बडाको बल ।
जुन थालमा खायो त्यही थालमा चुठ्ने ?
यद्यपि राजनीतिमात्र होइन विधिव्यवहार पनि सधैं आदर्शैआदर्शबाट चल्दैन । जीवनका आवश्यक्ता र तिनको आपूर्तिका लागि समाजमा मिल्दानमिल्दा अनेकौं तत्व हुन्छन् । तिनको आपूर्तिका लागि अख्तियार गरिने मार्गमा पनि विविधता हुन्छ नै । सर्वस्वीकार्य मार्ग सधैं नभेटिन पनि सक्छ । बहुस्वीकार्य मार्ग खोज्न, छान्न जान्नु र सक्नु नै नेतृत्वको परिचय प्रदर्शन गर्नु हो । नेपाली कांग्रेसमा यो धैर्य, दृष्टि, आचरण र चिन्तन किन देखिँदैन ? केले डढेलो लायो ? स्वार्थले, संगतले या विश्ववातावरण र राष्ट्रिय चरित्रचिन्तनका अभावले ? चामल, च्याँख्ला र कनिका सँगै पकाउँदा सजिलै खान सकिने खाद्य बन्दैन कि ? भनेर पनि सोच्ने शक्ति हराएछ । हामी यति स्वार्थी स्वगर्जु कसरी भयौं ?
अर्थकरी विद्या र संज्ञानात्मक शिक्षा आज जसरी त्यस बेलाको नेपालमा छुट्टिएको थिएन । अर्थकरी विद्याजसलाई शास्त्रीय भाषामा कुविद्या (आजको भाषामा प्राविधिक शिक्षा) भनिन्छ त्यसले पनि यति उपभोक्तावादी बनाउँछ भन्न सकिँदैन । ग्यालिलियो, भोल्तेयर, अल्वर्ट आइन्स्टाइन र म्याडम क्युरीमा पनि त मानवीय करुणा र संवेद्यता भेटिन्छ नि । हो, राजनीतिले सत्यासत्यलाई प्रयोगमा प्राचीनकालदेखि नै ल्याएको देखिन्छ । रामलाई धोबीको आरोप या दुर्योधनको लाक्षागृह निर्माण वा भीमसेनलाई विषको लड्डु खुवाएर समुद्रमा फालेको प्रसंग होस् कि हिरोसिमा नागासाकीमा खसालिएको बमको कुरा गरौं यी अमानवीय क्रियाकलापका घिनलाग्दा पक्ष हुन् । यिनलाई विश्वमानवले मानवीय आदर्श भनेर आजसम्मै मानेको पनि त छैन ।
केही दिन पर्खन नसक्ने र विधिपूर्वक आएका समस्यालाई सम्बोधन नगर्ने दुवै पक्षका कमजोरी होइनन् र ? दुवैले आत्मसात गर्नु आवश्यक छ । राजनीतिक दलका नेताको चरित्र आदर्श हुनैपर्छ । पाउने अंश पाउन ढिलो भयो भनेर घरमा आगो लाउने र लगाए लगा भनेर सम्बोधन नगर्ने दुवै गलत हुन् हामीले देख्दा । खोचे थाप्ने चरित्र मानवजीवनका लागि आदर्श मान्न सकिएला र ? खहरे खनिएझैँ र गर्जिए झैँ धीरगम्भीर मान्छे उत्ताउलो देखिँदा सबैभन्दा बढी आश्चर्य मान्छ मानव समाजले । अतः जुन थालमा खाइन्छ त्यसैमा चुठ्ने काम नगरौं । झगडियाले पेसा बनाएर लेखनदास र अदालत धाएझैँ धाउने चरित्रलाई राजनीतिक चरित्र मान्न सकिँदैन । राजनीतिशास्त्रका विद्वान्ले यस्तो अभिलक्षण बताएका छैनन् ।
राजनीतिक दलका राजनीतिकर्मीले आफूलाई साधारण मान्छेका चाहना र व्यवहारमा उतार्न मिल्दैन किनभने ऊ सामान्यभन्दा विशेष भएकै कारणले अरू उसका पछि लागेका अनुयायी बनेका हुन्छन् । यति नबुझ्नेले राजनीति गर्नु हुँदैन । राजनीतिमा उचाल्ने पछार्ने खेल पनि चल्छ तर जिम्मेवारीपूर्ण किसिमले । गैरजिम्मेवार बनेर पानीमाथिको ओभानु बनेर होइन । राजनीति पेशा होइन यो त समाज रूपान्तरणको अभियान हो । जनताको सेवायज्ञ हो शक्ति सत्ता पनि जनताको सेवाका कारणले मात्र प्राप्त हुन्छ । ठालु बन्नेले इतिहासमा कुनाम कमाएका छन् । नेपोलियन, एर्साद, हिटलर, मुसोलिनी आफ्ना जमानाका विश्व हाँक्ने भएर पनि आज तिनका नाममा विश्वले किन थुक्छ ?
रोएर मिल्ने कि हाँसेर ?
अदालत देशका विधिको व्यख्याता हो । अदालत राजनीतिक दलको पनि विधिको व्याख्याता हो । आधिकारिकता छिमल्ने काममा त्यसलाई मुछ्नु हुँदैनथ्यो । न मातृका र बीपी अदालत गए न त गिरिजाप्रसाद नै अदालत गुहार्न गएका थिए । यो गोतान कुलको चरित्र कहाँबाट कसरी आयो ? निश्चित अवधि तोकेर सरकार, संघसंस्थाले दिएको नियुक्तिमा अन्यथा भयो भने पीडित अदालत जान्छ तर आफ्ना विधिव्यवहार जनताबाट अनुमोदन गराउने चरित्र भएको राजनीतिक दल विभाजन गर्ने नगर्ने तिनै राजनीतिकर्मीका बीचको कुरो हो । विधानले पनि त्यही व्यवस्था गरेको छ । आआफ्ना स्वार्थका कारणले ८२ प्रतिशत केन्द्रीय समितिमा पकड भएको सभापतिबाट तिनै महाधिवेशन प्रतिनिधि र महामन्त्री किन बिच्किए ? भनेर स्वमूल्यांकन नगरी नदुःखेको कपाल दुःखाउने काम गर्न नेता भनिएका अदालत जानु राजनीतिक संस्कार र उदार चरित्रको भन्दा काइते प्रवृत्ति र पजने चरित्र चिन्तनको आधिक्यका कारणले हो भन्न सकिन्छ ।
कांग्रेस र एमाले नसुध्रे यस प्रकारका विसंगतिका खेल राज्यमा धेरै खेलिने सम्भावना छ । अतः अदालत र जागिरे कर्मचारी चरित्रभन्दा माथि उठेर नाङ्ला जत्रो छाती बनाएर कांग्रेस मिले राम्रो हो भनेर दुनियाँले भनेको छ । भोलि रोएर मिल्ने कि आजै हाँसेर मिल्ने हो रोजाइ तपाईंहरूकै हो ।
उनलाई नेता मानेर महामन्त्री बनेकाले पनि दुईचार महिना पर्खन किन नसकेको भनेर सोच्ने ठाउँ छ । परवशया कसैबाट अभिप्रेरित भएर त यस्तो भएको थिएन ? राजनीतिमा यस्तो जटिलता पनि आउँछ । अनेकौं तत्व आ-आफ्ना स्वार्थका भोजन बनाउन सक्रिय हुन्छन् । यो नबुझे नेता फस्छ पनि । २०१७ सालमा यसलाई राम्ररी बुझेका हुनाले नै बीपीले प्रजातन्त्रको दीप र स्वचरित्रको आदर्श बँचाउन सकेका थिए । मातृकाले यही नबुझ्दा २००७ सालको सर्वोच्च कमाण्डर भइसकेका व्यक्ति पनि पछि एक्लै परेको उदाहरण हामीसँग छँदैछ । हुन त एउटा कुरो के छ भने कांग्रेस स्थापनाकालदेखि कहिल्यै सुव्यवस्थित भएको थिएन जुनदिन निवर्तमान सभापतिले यसलाई व्यवस्थित गराउने नाममा अर्द्धकार्यकर्ते (क्याडरबेस) दल बनाउने अभियान आरम्भ गरेथे त्यही दिनबाट कांग्रेस छिन्नभिन्न भएको हो ।
यस कुरालाई वर्तमान सभापतिले पनि राम्ररी बुझेर छाती फराकिलो बनाउन नसके यही परिणाम यिनले पनि भोग्नुपर्नेस्थिति बन्नसक्छ । सुशीलदाले प्रकाशमानलाई किन लिनुभयो ? गिरिजाप्रसादले आफूभन्दा दोस्रो क्रममा राखेर अहिलेका निवर्तमान सभापतिभन्दा ज्येष्ट सदस्य धेरै हुँदाहुँदै पनि किन राखेका थिए ? यी कुरा सम्झेर गगन–विश्वले पनि आफ्नो वाक्चातुरीमात्र होइन छातीलाई फराकिलो बनाउनुपर्छ नै । धेरै कांग्रेसी नेपाली कंग्रेसमा मेल भएन भने देशको प्रजातन्त्र नै सखाप हुन्छ भन्छन् तर अब सत्य नहुन सक्छ । बागमतीमा धेरै पानी बगेको छ र कांग्रेसले आफ्नो आदर्शमा खिया लगाइसकेको पनि धेरैले महसुस गरेका छन् । आजका कांग्रेसको स्वरूप विगत १०/१२ वर्षदेखि निर्मित हुँदै आएको हो । अब युवापुस्तालाई नेपाली कांग्रेसमा आकर्षित गराउनु जति आवश्यक छ अरू केही पनि आवश्यक नहुन सक्छ ।
युवपुस्ता विकर्षित हुनाका कारण खोजेर युवकलाई आकर्षित गर्ने कार्यक्रम ल्याउनु आवश्यक छ । अहिले देशमा कुकुरको पुच्छर बांगो देख्दा पनि खित्का छाडेर हाँस्ने पुस्तालाई मूलबाटो खनेर राज्य जिम्मा लाउने काम जुन पुस्ताका नेताले गरे तिनले अब पनि आआफ्ना दलमा शिर उठाउन खोज्नु भनेको ‘प्राँशुलभ्ये फलेलोभात् उद्बाहुरिव वामनः’ नै हो भन्ने भ्रम सिद्धिँदै जान लागेको पनि देखिन्छ । सामलचामल छिन्कन, केलाउन नजान्नेले भुसैसहितको भात पकाउँदोरहेछ भन्ने त विश्वविद्यालयहरूको वर्तमान बेहालबाट स्पष्ट भएकै छ । एउटा जलाधार क्षेत्रमा आएको महाविपत्तिका कारण देशभरिका परीक्षार्थीलाई वल्लो घाट न पल्लोतिर बनाउनु कुन जान्नेपना हो ? त्रिशूलीका विद्यालय अवरुद्ध हुँदा त्यहाँका विद्यार्थीलाई वैकल्पिक व्यवस्था गर्ने कि ? देशभरिका विद्यार्थीलाई घर पठाउने ? यो कस्तो बुद्धि हो ? धेरै जान्ने रहेछन् बालेन, सस्मित र रवि, यिनको जय होस् ।
कांग्रेस र एमाले नसुध्रे यस प्रकारका विसंगतिका खेल राज्यमा धेरै खेलिने सम्भावना छ । अतः मिल्ने बेलामा रिस नसम्झनु, खाने बेलामा घिन नसम्झनु भन्ने उखानलाई आत्मसात गरी अदालत र जागिरे कर्मचारी चरित्रभन्दा माथि उठेर नाङ्ला जत्रो छाती बनाएर कांग्रेस मिले राम्रो हो भनेर दुनियाँले भनेको छ । भोलि रोएर मिल्ने कि आजै हाँसेर मिल्ने हो रोजाइ तपाईंहरूकै हो । ‘नाम उँच मुहकान बुँच’ नदेखाउनुस् ।







भाद्र शुक्ल तृतीया : विधिपूर्वक
हरितालिका तीजमा पशुपतिनाथसहित शिवालयमा श्रद्धालुको
विद्यार्थी, शिक्षक तथा अभिभावको सुझावका
बर्दियामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको
नेपालभन्दा बाहिर गएर प्रतियोगिता जित्नु
विपद्को पीडाबीच आएको तीज, भक्तजन