कालीकोट । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि कालीकोटको रास्कोट नगरपालिकाका जनप्रतिनिधिले आफ्नो आधा महिनाको सेवा-सुविधा बराबरको रकम सहयोग गर्ने भएका छन् ।
मंगलबार रास्कोट नगरपालिकाका नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्यलगायत जनप्रतिनिधिहरुकाे उपस्थितिमा बसेकाे बैठकमा जनप्रतिनिधिले आफूले प्राप्त गर्ने आधा महिनाको सेवा-सुविधा बराबरको कुल ३ लाख ५१ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका हुन् ।
नगरपालिकाले मानवीय संमवेदना र सहयोग सम्बन्धि निर्णयकाे पत्र सार्वजनिक गर्दै भदौ १० गते बिहान ८ः४० बजे रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै यस्तो निर्णय गरेको जनाएको छ ।
नगरपालिकाले बाढी तथा प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।
भोटेकोशी बाढीले नदी तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएपछि अहिले पनि खोजी, उद्धार, राहत वितरण तथा शव व्यवस्थापनको काम भइरहेको छ। नेपाल प्रहरीका अनुसार बुधबार बिहान ५ बजेसम्म बाढीका कारण १ हजार १ सय २७ जनाको शव फेला परेको छ । तीमध्ये रसुवामा ४५, नुवाकोटमा १५५, धादिङमा ५९, चितवनमा ३४८, गोरखामा ६६, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्चिममा १९० र भारतमा ९ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण, शव व्यवस्थापन र सडक अवरोध हटाउने काममा सुरक्षा निकाय परिचालित छन् । नेपाल प्रहरीले यसअघि नै प्रभावित क्षेत्रमा हजारौँ सुरक्षाकर्मी परिचालन गरी घाइतेको उद्धार, राहत वितरण, क्षतिको विवरण संकलन तथा शव व्यवस्थापनको काम गरिरहेको जनाएको थियो ।
रसुवाको जलविद्युत् आयोजनाका सुरुङ तथा हिलो र भग्नावशेषमा पुरिएका व्यक्तिको खोजी अहिले पनि उद्धार टोलीका लागि मुख्य चुनौती बनेको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, विद्युत् क्षेत्रका प्राविधिक तथा विदेशी विज्ञ टोलीसमेत विभिन्न प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा खटिएका छन् । केही जलविद्युत् आयोजनाका सुरुङमा प्रवेश गरी खोजी कार्यसमेत जारी राखेको छ ।
सरकारले प्रभावित क्षेत्रमा तत्कालीन राहतसँगै पुनःस्थापना र पुनर्निर्माणको काम अघि बढाउने तयारी गरिरहेको छ । विपत्तिको प्रभाव ठूलो भएकाले सरकारी संयन्त्रसँगै विभिन्न संघसंस्था, निजी क्षेत्र तथा नागरिकस्तरबाट समेत राहत तथा आर्थिक सहयोग जुटाउने क्रम जारी छ । पछिल्ला दिनमा विभिन्न निजी तथा संस्थागत क्षेत्रबाट प्रधानमन्त्री राहत कोषमा लाखौँदेखि करोडौँ रुपैयाँसम्म सहयोग घोषणा तथा हस्तान्तरण भएका छन् ।
यस्तो अवस्थामा रास्कोट नगरपालिकाका जनप्रतिनिधिले गरेको आर्थिक सहयोगको निर्णयलाई विपत्तिमा परेका नागरिकप्रतिको ऐक्यबद्धता र स्थानीय सरकारको सामाजिक उत्तरदायित्वका रूपमा हेरिएको छ ।
नगरपालिकाले आर्थिक रूपमा आफ्नो सहयोग सानो भए पनि विपत्तिमा परेका नागरिकप्रतिको मानवीय संवेदना, सहानुभूति र अपनत्व महत्वपूर्ण रहेको जनाएको छ ।
“पीडित परिवारको पीडामा थाेरै भए पनि मलम लगाउन, उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउन र दुःखको यस घडीमा उनीहरूलाई हामी एक्ला छैनौँ, देश र समाज हाम्रो साथमा छ भन्ने अनुभूति दिलाउन यो सहयोग समर्पित गरिएको रास्काेट नगरपालिकाकम नगरप्रमुख धर्मराज शाहीले बताउनुभयो ।
उहाँले बाढी प्रभावित परिवार तथा नागरिकप्रति ऐक्यबद्धता जनाउँदै विपत्तिको सामना गर्न सबै पक्षबीच सहयोग, सहकार्य र मानवीय एकता आवश्यक रहेको बताउनुभयो ।
भोटेकोशी बाढीपछि सरकारले प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहत कार्यलाई निरन्तरता दिइरहेको छ । गृह मन्त्रालयले पनि बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलनसँगै प्रभावित क्षेत्रमा उद्धार, खोज र राहतका काम भइरहेको जनाएको छ ।







भोटेकोशी बाढी : शिक्षण अस्पतालमा
पाल्पाको लोपउन्मुख लाखे संस्कृति जोगाउँदै
कृष्णभीरमा खोलिएको ट्र्याक फराकिलो बनाइँदै,
टिपरको ठक्करबाट एक जनाको मृत्यु
भोटेकोशी बाढीपछि नेपालको प्रश्न :
तीन दिनमै ८७ हजारभन्दा बढी