पोखरा । जेन-जी आन्दोलनपछि गत भदौ २४ गते राजीनामा दिएका नेपाल समाजवादी पार्टी (नेसपा)का फणीन्द्र देवकोटा गण्डकी प्रदेशमा फेरि मन्त्री नियुक्त हुनुभएकाे छ । उहाँले बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष पद तथा गोपनीयताको शपथ लिनु भएकाे हो ।
देवकोटालाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ । उहाँ यसअघि २०८१ जेठ र असारमा गरी दुईपटक गण्डकीको ऊर्जामन्त्री बन्नुभएकाे थियो ।
माओवादी केन्द्रको ह्वीपविपरीत मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई फ्लोरक्रस गरेर विश्वासको मत दिएपछि देवकोटा पहिलोपटक मन्त्री नियुक्त हुनुभएकाे थियो । त्यसपछि माओवादी केन्द्रको कारबाहीमा परी पद गुमाएका उहाँ सर्वोच्च अदालतको आदेशपछि पुनर्बहाली भएर पुनः मन्त्रालय फर्किनु भएकाे थियो ।
कांग्रेस-एमाले सहकार्य टुटेपछि गण्डकी प्रदेशमा भएको सत्ता समीकरणमा देवकोटा पुनः मन्त्री बन्नुभएकाे हो । माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित भए पनि आफू नेपाल समाजवादी पार्टीको सांसद भएको देवकोटाको दाबीलाई सर्वोच्च अदालतले मान्यता दिँदै माओवादीको कारबाही बदर गरेको थियो ।
गण्डकीमा यसअघि मनाङबाट निर्वाचित राजीव गुरुङ ‘दीपक मनाङे’ सत्ता समीकरणमा निर्णायक बन्नुभएकाे थियो । अहिले देवकोटाको भूमिका पनि त्यस्तै निर्णायक देखिएको छ ।
देवकोटालाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिएसँगै प्रदेश सरकारमा मन्त्रालयको जिम्मेवारीसमेत हेरफेर गरिएको छ । यसअघि कांग्रेसका नन्दप्रसाद न्यौपानेले सम्हाल्दै आएको ऊर्जा मन्त्रालय अब देवकोटालाई दिइएको छ ।
एमाले सरकारबाट बाहिरिएपछि रिक्त भएको भौतिक पूर्वाधार, विकास तथा यातायात व्यवस्था मन्त्रालय र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी न्यौपानेलाई दिइएको छ ।
एमालेले छाडेको उद्योग तथा पर्यटन मन्त्रालय र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय भने मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफैँसँग राख्नु भएको छ ।
यससँगै २०७९ सालको प्रदेशसभा निर्वाचनमा गोरखाबाट निर्वाचित तीन जना प्रदेश सरकारमा महत्वपूर्ण जिम्मेवारीमा पुगेका छन् । गोरखा-२ (ख) बाट निर्वाचित पाण्डे मुख्यमन्त्री, गोरखा-२ (क) बाट निर्वाचित देवकोटा ऊर्जामन्त्री र गोरखा-१ (ख) बाट निर्वाचित न्यौपाने भौतिक पूर्वाधारमन्त्री बनेका छन् । गोरखा-१ (क) बाट निर्वाचित माओवादी केन्द्रका कृष्णप्रसाद धिताल भने प्रदेशसभाका सभामुख छन् ।
कांग्रेस र एमालेको सहकार्य टुटेपछि अन्य प्रदेशमा सत्ता संकट देखिए पनि गण्डकीमा भने त्यसको प्रभाव खासै परेको छैन । सरकारबाट बाहिरिए पनि देवकोटाले सरकारलाई दिएको समर्थन फिर्ता लिनुभएकाे थिएन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा सहभागी नभए पनि उसले सरकारलाई समर्थन गर्दै आएको छ ।
५९ सदस्यीय गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पाण्डेलाई कांग्रेसका २७ सांसदसँगै देवकोटा र राप्रपाका दुई सांसदको समर्थन रहेको छ । यससँगै सरकारको पक्षमा ३० सांसदको समर्थन पुगेको छ, जुन बहुमतका लागि आवश्यक संख्या हो ।
देवकोटाको पुनः नियुक्तिसँगै गण्डकीमा मुख्यमन्त्री पाण्डे नेतृत्वको सरकार तत्कालका लागि बहुमतमा सुरक्षित देखिएको छ ।







बर्दियामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको
नेपालभन्दा बाहिर गएर प्रतियोगिता जित्नु
विपद्को पीडाबीच आएको तीज, भक्तजन
चीनले इरानलाई सूचना दिएको खबर
भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु
बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद