काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसुवाको भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा सरकार प्रभावकारी हुन नसकेको बताउनुभएको छ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उहाँले नेपाली सेनाले जोखिम मोलेर खोज तथा उद्धारमा प्रशंसनीय भूमिका निर्वाह गरे पनि सरकारले नागरिक समाज, जनप्रतिनिधि र आम नागरिकलाई विश्वासमा लिएर प्रभावकारी रूपमा परिचालन गर्न नसकेको टिप्पणी गर्नुभयो।
उहाँले केवल सेना परिचालन गरेर मात्रै महाविपत्तिको सामना गर्न सम्भव नहुने बताउँदै संघीय, प्रदेश र स्थानीय सरकारबीच आवश्यक समन्वय हुन नसक्दा समस्या थप जटिल बनेको उल्लेख गर्नुभयो।
‘सेना परिचालन भए पनि जनपरिचालन हुन सकेन । जनपरिचालन नहुँदासम्म यस्ता महाविपत्तिको सामना गर्नु असम्भवजस्तै हुन्छ,’ उहाँले भन्नुभयो, ‘सेना परिचालनसँगै जनपरिचालन जोड्न र तीनै तहका सरकारबीच समन्वय कायम गर्न मैले पटक–पटक आग्रह गर्दै आएको छु।’
फिल्डमा रहेका जनप्रतिनिधि तथा आम नागरिकबाट सरकार उद्धार कार्यमा सफल हुन नसकेको गुनासो व्यापक रूपमा आइरहेको उहाँले बताउनुभयो।
उहाँले विपद्को समयमा संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार, जनप्रतिनिधि, नागरिक समाज तथा आम नागरिकलाई एकीकृत रूपमा परिचालन गरेर मात्रै समस्याको प्रभावकारी समाधान गर्न सकिने बताउनुभयो।
‘केन्द्रीय सरकारसँगै प्रादेशिक र स्थानीय सरकार जोडिएन भने यो समस्याको समाधान गर्न कठिन हुन्छ,’ उहाँले भन्नुभयो।
संयोजक दाहालले विपद्को सुरुवाती चरणमा सरकारले देखाएको तत्परता र पछिल्लो चरणको कार्यशैलीमा विरोधाभास देखिएको आरोप लगाउनुभयो। उहाँले विपद्को समयमा अन्य राजनीतिक दललाई समेत विश्वासमा लिएर अघि बढ्नुपर्नेमा प्रधानमन्त्री त्यसतर्फ गम्भीर नदेखिएको टिप्पणी गर्नुभयो।
उहाँले प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नै दलका सांसदहरूलाई समेत विश्वासमा लिन नसकेको दाबी गर्नुभयो।
‘भोटेकोशी बाढी अन्तर्राष्ट्रिय परिघटना’
संयोजक दाहालले प्राकृतिक विपद्लाई अन्तर्राष्ट्रिय परिघटनाका रूपमा लिएर यसको सामना गर्न विश्वव्यापी अनुभव, अध्ययन तथा विज्ञतालाई केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँले रसुवाको भोटेकोशी बाढी राष्ट्रिय वा क्षेत्रीय विषयमा मात्र सीमित नभई अन्तर्राष्ट्रिय ‘फेनोमेना’ भएको उल्लेख गर्दै यसको न्यूनीकरण तथा भविष्यमा यस्ता विपद्बाट बच्न अन्तर्राष्ट्रिय अध्ययन र अनुसन्धान आवश्यक रहेको बताउनुभयो।
विपद् व्यवस्थापनमा जापान र न्युजिल्यान्डजस्ता मुलुकको सफल अभ्यासबाट नेपालले पाठ सिक्नुपर्ने उहाँको भनाइ छ।
जापानको उदाहरण दिँदै उहाँले भन्नुभयो, ‘जापानमा पटक–पटक भूकम्प र सुनामी जाने गरे पनि उनीहरूले त्यसको सामना प्रभावकारी रूपमा गरिरहेका छन् । त्यहाँ केन्द्रीय, प्रादेशिक र स्थानीय सरकारका साथै बुद्धिजीवी र विज्ञहरूको एउटा स्थायी संयन्त्र निर्माण गरिएको छ । सङ्कट आउनासाथ उक्त संयन्त्र सक्रिय भई राज्यका सम्पूर्ण शक्ति र स्रोत परिचालन हुने गर्दछन्।’
नेपालले पनि जापान र न्युजिल्यान्डको जस्तै स्थायी संरचना निर्माण गरी माथिदेखि तलसम्मका सबै तहका सरकार तथा विज्ञहरूलाई एकीकृत गर्नुपर्ने उहाँले बताउनुभयो।
यस्तो स्थायी संयन्त्रले संकटका बेला राज्यका स्रोतसाधन र जनशक्तिको द्रुत परिचालन तथा विपद्को प्रभावकारी व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास उहाँले व्यक्त गर्नुभयो।







विपद् प्रतिकार्यमा विपक्षी दलहरु सरकारसँगै
भोटेकोशी बाढीपछि सरकारको राहत-उद्धार कार्यबारे
न्यायाधीश रेग्मी र अख्तियार प्रमुख
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी
कानुनमन्त्रीलाई कारबाही गर्न राष्ट्रिय सभाका
ओमानलाई ८७ रनले हराउँदै नेपाल