नेपाली कला क्षेत्रमा पारिवारिक पृष्ठभूमिबाट आउने नयाँ पुस्ताको सक्रियता पछिल्लो समय बढ्दो छ । यही पुस्ताका एक सम्भावनाशील नाम हो, उत्सव केसी । विशिष्ठ कलाकार उत्तम केसीका छोरा उत्सव सानैदेखि कलाक्षेत्रको वातावरणमा हुर्किनुभयो । अभिनयसँगै निर्देशन, स्क्रिप्ट लेखन, कथा लेखन, निर्माण तथा टिम लिडरसिपमा समेत सक्रिय उहाँ आफूलाई एउटै विधिमा सीमित राख्न चाहनुहुन्न । फिचर फिल्म ‘सिमाना’ बाट निर्देशनमा पाइला चाल्नुभएका उत्सवले ‘एसिड नट द सोलुसन’, ‘रहरै भो’, ‘गरिमा’, ‘सुन परानी’लगायत चलचित्र, छोटा फिल्म, सिरियल तथा म्युजिक भिडियोमा काम गरिसक्नुभएको छ । ‘एसिड नट द सोलुसन’बाट वेष्ट डेब्यु डाइरेक्टर-बक्स अफिस सर्ट फिल्म अवार्ड तथा ‘रहरै भो’बाट वेष्ट सोसियल भिडियो-सोसियल मिडिया फिल्म अवार्डसमेत उहाँले प्राप्त गर्नुभएको छ । यतिबेला फिचर फिल्म ‘चम्पा’ निर्देशनको तयारीमा रहनुभएका उत्सव केसीसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अशःं-
उत्सव केसीलाई पाठकले कसरी चिन्ने ?
म मूलतः कलाकारिता क्षेत्रमा सक्रिय व्यक्ति हुँ । अभिनय मेरो एउटा पाटो हो भने निर्देशन, स्क्रिप्ट राइटिङ, कथा लेखन र निर्माण पनि मेरो रुचिका क्षेत्र हुन् । पछिल्लो समय विशेषगरी निर्देशन र सिर्जनात्मक काममा बढी केन्द्रित छु । आफूलाई एउटा विधामा मात्र सीमित नराखी चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न आयाममा काम गर्ने मेरो चाहनानुसार काम गरिरहेको छु ।
कलाक्षेत्रमा आउने प्रेरणा कहाँबाट मिल्यो ?
मेरो सबैभन्दा ठूलो प्रेरणाको स्रोत नै मेरो परिवार हो । मेरा बुबा विशिष्ठ कलाकार उत्तम केसी हुनुहुन्छ । उहाँ हाल चलचित्र कलाकार संघको अध्यक्ष पनि हुनुहुन्छ । उहाँ नेपालकै परिचित कलाकार भएकाले घरमै सानैदेखि कलाकारिता र चलचित्र क्षेत्रको वातावरण पाए । कलाकारहरूको भेटघाट, चलचित्रसम्बन्धी छलफल र सिर्जनात्मक माहोल मेरा लागि सामान्य कुरा थिए । त्यसैले होला, सानैदेखि मलाई पनि यो क्षेत्रमा रुचि जाग्दै गयो ।
अहिले दर्शकसँग विकल्प धेरै छन् । नेपाली चलचित्रले दर्शकलाई हलसम्म ल्याउन कथा र प्रस्तुति दुवैमा बलियो हुनुपर्छ । प्रविधि परिवर्तन भइरहेको छ, डिजिटल प्लेटफर्मको प्रभाव बढिरहेको छ । त्यसैले हामीले दर्शकलाई कम आँक्नु हुँदैन । राम्रो कथा, राम्रो अभिनय र प्राविधिक रूपमा स्तरीय काम गर्न सके नेपाली चलचित्रको सम्भावना धेरै छ ।
बुबा कलाकार भएकै कारण यो क्षेत्रमा आउन सजिलो भयो कि चुनौती थपियो ?
दुवै पक्ष छन् । पारिवारिक वातावरणले यो क्षेत्रमा प्रवेश गर्न बाटो देखायो, धेरै कुरा बुझ्न सहज भयो । तर, बुबाको आफ्नै परिचय भएकाले आफूलाई स्थापित गर्दा तुलना हुने अवस्था पनि आउँछ । त्यसैले मेरो प्रयास भनेको बुबाको नामको छायामा मात्र नभई आफ्नै काम र क्षमताबाट आफ्नो परिचय बनाउनु हो ।
निर्देशनमा तपाईंको यात्रा कसरी सुरु भयो ?
निर्देशनप्रतिको रुचि पहिलेदेखि नै थियो । काम गर्दै जाँदा पर्दामा अभिनय गर्नेभन्दा पर्दापछाडिको सिर्जनात्मक पक्षले पनि मलाई निकै आकर्षित गर्यो । त्यसपछि विभिन्न फिचर फिल्म, सिरियल तथा अन्य प्रोजेक्टमा सहायक निर्देशकका रूपमा काम गर्ने अवसर पाए । यही अनुभवले निर्देशनको आधार तयार भयो ।
तपाईंले मुख्य सहायक निर्देशकका रूपमा पनि थुप्रै काम गर्नुभएको छ । त्यसले कस्तो अनुभव दियो ?
सहायक निर्देशकको काम मेरा लागि निकै ठूलो सिकाइ थियो । ‘मन मनै मन पराए’, ‘लोग्ने मान्छे’जस्ता फिचर फिल्म तथा ‘जे होला होला’, ‘मेरो कथा’, ‘अब जे होला होला’ जस्ता सिरियलमा मुख्य सहायक निर्देशकका रूपमा काम गरेँ । सेटमा काम गर्ने शैली, कलाकार व्यवस्थापन, प्राविधिक पक्ष, समय व्यवस्थापनदेखि निर्देशकको सोचलाई पर्दामा उतार्नेसम्मका धेरै कुरा त्यही क्रममा सिक्ने अवसर पाए ।
फिचर फिल्म निर्देशनको अनुभव कस्तो रह्यो ?
फिचर फिल्म निर्देशन आफैंमा ठूलो जिम्मेवारी हो । ‘सिमाना’मार्फत फिचर फिल्म निर्देशन गर्ने अवसर पाए । निर्देशकका रूपमा त्यो मेरो यात्राको महत्त्वपूर्ण चरण थियो । फिचर फिल्ममा कथा, कलाकार, प्राविधिक टिम, बजेट, समय र दर्शकको अपेक्षा सबैलाई सन्तुलनमा राख्नुपर्ने हुन्छ । त्यसले मलाई व्यावहारिक रूपमा धेरै कुरा सिकायो । चलचित्र निर्देशनमा मलाई लय संग्रौला, दमन रूपाखेतले पनि विशेष सहयोग गर्नुभएको छ । यस्तै, ‘एसिड नट द सोलुसन’ र ‘रहरै भो’ मेरो लागि विशेष प्रोजेक्ट हो । यो सर्ट फिल्म निर्देशनसँगै स्क्रिप्ट लेखनमा पनि मैले काम गरेको हुँ । सामाजिक विषयलाई मनोरञ्जनसँग जोडेर दर्शकलाई सोच्न बाध्य बनाउने प्रयास थियो । यसले मलाई निर्देशक र लेखकका रूपमा आफूलाई परीक्षण गर्ने अवसर दियो ।
यहीबाट अवार्ड पनि पाउनुभयो । अवार्डले तपाईंलाई कति प्रेरित गर्छ ?
अवार्ड भनेको कलाकार तथा सिर्जनाकर्मीका लागि ऊर्जा हो । ‘एसिड नट द सोलुसन’बाट वेष्ट डेब्यु डाइरेक्टर–बक्स अफिस सर्ट फिल्म अवार्ड र ‘रहरै भो’ले वेष्ट सोसियल भिडियो-सोसियल मिडिया फिल्म अवार्ड प्राप्त गरेको थियो । सामाजिक सन्देश बोकेको कामले अवार्ड पाउनु मेरा लागि विशेष कुरा हो ।
अभिनयतर्फको यात्रा चाहिँ कसरी अघि बढ्यो ?
अभिनय त मेरो बाल्यकालदेखिकै रुचि हो । बुबा कलाकार भएकाले अभिनयलाई नजिकबाट बुझ्ने अवसर पाए । त्यसपछि ‘मोहनी’ जस्तो फिचर फिल्मदेखि ‘जे होला होला’, ‘लै बरी लै’, ‘मेरी बास्सै’, ‘कालो बादल’, ‘अब जे होला होला’ ‘नाता’लगायतका सिरियल तथा ‘एसिड नट द सोलुसन’ ‘रहरै भो’ जस्ता सर्ट फिल्ममा अभिनय गर्ने अवसर पाए । अभिनय गर्दा पात्रलाई बुझ्ने र पात्रअनुसार आफूलाई परिवर्तन गर्ने चुनौती निकै रमाइलो लाग्छ ।
निर्देशक र कलाकारमध्ये आफूलाई कुन भूमिकामा बढी सहज पाउनुहुन्छ ?
दुवैको आफ्नै मजा छ । कलाकार हुँदा आफूले पाएको पात्रलाई जीवन्त बनाउने जिम्मेवारी हुन्छ । निर्देशक हुँदा पूरै कथालाई कसरी प्रस्तुत गर्ने भन्ने जिम्मेवारी हुन्छ । त्यसैले एउटा रोज्नुपर्यो भने गाह्रो हुन्छ । अहिले चाहिँ निर्देशनलाई अलि बढी प्राथमिकता दिइरहेको छु ।
स्क्रिप्ट राइटिङमा पनि तपाईंको सक्रियता छ । निर्देशकका लागि लेखक हुनु कति महत्त्वपूर्ण हुन्छ ?
मेरो विचारमा महत्त्वपूर्ण हुन्छ । निर्देशकले कथा र पात्रलाई गहिराइबाट बुझ्नुपर्छ । आफूले लेखेको कथा निर्देशन गर्दा त्यसको भाव, उद्देश्य र पात्रको मनोविज्ञानलाई अझ नजिकबाट प्रस्तुत गर्न सकिन्छ । तर, लेखक र निर्देशक फरक व्यक्ति भए पनि दुवैबीच राम्रो समन्वय भयो भने उत्कृष्ट काम बन्नसक्छ । मैले ‘एसिड नट द सोलुसन’ र ‘लै बरी लै’मा स्क्रिप्ट राइटिङ गरेको छु । मैले ‘छातिभित्र मुटु चल्छ’ म्युजिक भिडियो निर्माण गरेको छु । निर्माता भएर काम गर्दा बजेट, टिम, समय र प्राविधिक व्यवस्थापनका पक्षलाई नजिकबाट बुझ्ने अवसर मिल्छ । यसले निर्देशनको काममा धेरै सहयोग गर्छ ।
‘चम्पा’ निर्देशनको तयारीमा हुनुहुन्छ । कस्तो प्रोजेक्ट हो ?
‘चम्पा’ मेरो आगामी महत्त्वपूर्ण प्रोजेक्ट हो । आदरणीय महाकवी लक्ष्मीप्रसाद देवकोटाको एकमात्र उपन्यास ‘चम्पा’कृतिलाई लिएर निर्माण गर्ने तयारीमा रहका छौ । म हतारमा काम सुरु गर्नुभन्दा कथा, स्क्रिप्ट, पात्र र प्राविधिक पक्षलाई राम्रोसँग तयार गरेरमात्र अगाडि बढ्न चाहन्छु । महाकवीको कृतिलाई न्याय गर्दै, दर्शकलाई नयाँ स्वाद दिनसक्ने र आफूले पनि गर्व गर्नसक्ने फिल्म बनाउने मेरो प्रयास हुनेछ ।
नेपाली चलचित्र क्षेत्रमा अहिले सबैभन्दा ठूलो चुनौती के देख्नुहुन्छ ?
अहिले दर्शकसँग विकल्प धेरै छन् । नेपाली चलचित्रले दर्शकलाई हलसम्म ल्याउन कथा र प्रस्तुति दुवैमा बलियो हुनुपर्छ । प्रविधि परिवर्तन भइरहेको छ, डिजिटल प्लेटफर्मको प्रभाव बढिरहेको छ । हामीले दर्शकलाई कम आँक्नु हुँदैन । राम्रो कथा, राम्रो अभिनय र प्राविधिक रूपमा स्तरीय काम गर्नसके नेपाली चलचित्रको सम्भावना धेरै छ ।







देशभर मनसुनी गतिविधि सक्रिय, यी
पहिराले खस्दा रोल्पाको सहिदमार्ग अवरुद्ध
अविरल वर्षासँगै बाजुरामा पहिरो, साँफे–मार्तडी
कोरिडोर केन्द्रित कृषि उत्पादन कार्यक्रम
लेदुवा खोलाको पुल सात वर्षदेखि
चोरीको खसी खरिद–बिक्रीको आरोपमा चार