धादिङ । त्रिशुली नदीले सतहबाटै जमिन कटान गरेपछि धादिङको कृष्णभीरमा खसेको पहिरोले पृथ्वी राजमार्गको मुग्लिन-नौबिसे खण्ड तीन दिनदेखि अवरुद्ध छ । कृष्णभीरमा खसेको पहिरोले काठमाडौं, धादिङ हुँदै चितवन, तनहुँ, कास्की, पश्चिम नेपालका अन्य जिल्ला जाने र आउने सवारी साधन प्रभावित भएका छन् ।
कृष्णभीरको पहिरो नयाँ भने होइन । २०५५/५६ सालतिर यो सडकमा पटकपटक पहिरो खसेर दुःख पाउनुपर्ने अवस्था थियो । २०५० को दशकको अन्तिमतिर कृष्णभीरमा पहिरो खसेर आवतजावत गर्नेले करिब दुई सातासम्म सास्ती खपेका थिए ।
२०६० सालमा पहिरो नियन्त्रणको काम भयो । त्यतिबेला निर्मित पहिरो नियन्त्रण पर्खाल र संरचनाको आयु २० वर्ष निर्धारण गरिएको थियो । आयु सकिएपछि कृष्णभीरमा आवागमन पूरै ठप्प हुने गरेर पहिरो खसेको छ । पहिरो खसेकै ठाउँबाट फेरि सडक तत्काल बन्ने सम्भावना देखिँदैन ।
कुनैबेला पृथ्वीराजमार्ग आवतजावत गर्नेलाई गन्तव्यसम्म पुगिँदैन कि भन्ने चिन्ता नै थियो । कृष्णभीरमा खसिरहने पहिरो यसैको कारण थियो । कतिसम्म भने त्यो समय कृष्णभीरको पहिरोलाई आधार बनाएर गीतसम्म बनेका थिए ।
दिलीप रायमाझी र झरना थापा अभिनित चलचित्र ‘इन्द्रेणी’मा ‘झर्यो, झर्यो, झर्यो कृष्णभीर...कृष्णभीर कटेसी छैन कुनै पिर’ भनेर तत्कालीन अवस्थालाई दर्शाइएको थियो । २०६० मा प्रदर्शन भएको यो चलचित्रका लागि शम्भुजीत बास्कोटा र रमाना श्रेष्ठले गाएको गीत युट्युबमा भेटिन्छ ।
कृष्णभीरकै पहिरोलाई केन्द्रमा राखेर ‘कृष्णभीरको पहिरोले माया आउने बाटो छेकियो’ बोलको अर्को गीत पनि बनेको छ । कृष्ण देवकोटा, दुर्गा रायमाझी र सर्मिला गुरुङले यो गीत गाएका थिए । गायिका बीमाकुमारी दुरा र गायक मिलन लामाको स्वरमा ‘कृष्णभीरमा जाम’ बोलको गीत पनि छ ।
यसरी कुनैबेला निकै चर्चा कमाएको कृष्णभीरमा फेरि समस्या बल्झिएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै कृष्णभीरको सडक मर्मत गरेर भदौ महिनाभित्रै सञ्चालनमा ल्याइने दाबी गरेका छन् । तर, यहाँको भौगोलिक बनावट र अवस्थितिले कृष्णभीरको समस्या दर्घिकालीन हिसाबले गर्नुपर्ने देखिन्छ । कतिपय प्राविधिले कृष्णभीरलाई छोडेर अर्को रूट बनाएर प्रयोग गर्नुपर्ने सुझाव पनि दिइरहेका छन् ।







बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र
सुनसान छन् सौराहाका होटल, पर्यटक
ब्याज मिनाहा गरी ऋण नविकरण
भदौ २४ को घटना नेपालको
बाजुरामा खोलाले बगाउँदा किशोर बेपत्ता
उखु बेचेको छ महिना बित्दा