बागलुङ, १८ भदौ । बागलुङ जिल्ला डेङ्गु संक्रमणको ‘हटस्पट’ बनेको छ। देशका ७७ जिल्लामध्ये सबैभन्दा बढी डेङ्गु संक्रमित बागलुङमा भेटिएका छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागको महामारी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्यांकअनुसार बागलुङ देशमै सबैभन्दा बढी डेङ्गु संक्रमण देखिएको जिल्ला बनेको प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङका प्रमुख प्रविण शर्माले बताउनुभयो।
देशभरका ७५३ स्थानीय तहमध्ये पनि बागलुङ नगरपालिका डेङ्गु संक्रमणका आधारमा पहिलो स्थानमा रहेको उहाँले जानकारी दिनुभयो। साउनयता जिल्लाका विभिन्न पालिकामा गरी हालसम्म एक हजार ११ जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ।
जिल्लामा सबैभन्दा बढी बागलुङ नगरपालिकामा ६८४ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै, काठेखोला गाउँपालिकामा ७८, गलकोट नगरपालिकामा ६६, जैमिनी नगरपालिकामा ५३, ढोरपाटन नगरपालिकामा २८, निसीखोला गाउँपालिकामा १४, बडीगाड गाउँपालिकामा आठ, ताराखोला गाउँपालिकामा चार र तमानखोला गाउँपालिकामा चार जनामा डेङ्गु संक्रमण देखिएको छ।
धौलागिरि प्रादेशिक अस्पताल, बुर्तिबाङ अस्पताल, गलकोट नगर अस्पताल, कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्र र हुग्दिशिर स्वास्थ्य चौकीलगायत विभिन्न स्वास्थ्य संस्थाका प्रयोगशालामा गरिएको परीक्षणबाट संक्रमण पुष्टि भएको प्रमुख शर्माले बताउनुभयो।
डेङ्गु नियन्त्रणका लागि प्रदेश जनस्वास्थ्य कार्यालयले स्थानीय तहसँग समन्वय गरी ‘खोज र नष्ट गर’ अभियानलाई निरन्तर सञ्चालन गरिरहेको उहाँले जानकारी दिनुभयो। सामुदायिक विद्यालयमा डेङ्गुसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको तथा निजी विद्यालयमा पनि विद्यार्थी लक्षित सचेतना कार्यक्रम अघि बढाइएको उहाँले बताउनुभयो।
समुदायका नागरिक स्वयं सक्रिय भएर हरेक हप्ता ‘खोज र नष्ट गर’ अभियानमा सहभागी नभएसम्म डेङ्गु नियन्त्रण प्रभावकारी हुन नसक्ने प्रमुख शर्माको भनाइ छ।
वर्षायाम अझै जारी रहेकाले लामखुट्टेको प्रजनन बढ्न सक्ने र डेङ्गु संक्रमितको संख्या असोज–कात्तिकसम्म थप बढ्न सक्ने भन्दै उहाँले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभयो।
धौलागिरि प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. किरण तिवारीका अनुसार अस्पतालमा दैनिक ३० देखि ३५ जनासम्ममा डेङ्गु संक्रमण पुष्टि भइरहेको छ। हालसम्म संक्रमितमा कुनै जटिल समस्या नदेखिएको उहाँले बताउनुभयो।
उहाँका अनुसार सामान्य लक्षण भएका संक्रमितलाई औषधिसहित फलोअपमा राखिएको छ भने जटिल अवस्था भएका बिरामीलाई अस्पतालमै भर्ना गरेर उपचार भइरहेको छ।
डेङ्गु भाइरल रोग भएकाले ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको पछाडि दुख्ने, वाकवाकी लाग्नेलगायतका लक्षण देखिएमा परीक्षण गराई चिकित्सकको परामर्श लिन डा. तिवारीले आग्रह गर्नुभयो।
प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङले घर तथा आसपासमा पानी जम्न नदिने, पानी राख्ने भाँडा छोपेर राख्ने, लामखुट्टेले अण्डा पार्न सक्ने स्थानको खोजी गरी लार्भा नष्ट गर्ने र नियमित सरसफाइ गर्न आग्रह गरेको छ।
त्यस्तै, शरीर ढाकिने कपडा लगाउने तथा घरभित्र लामखुट्टे प्रवेश गर्न नदिने उपाय अपनाउन कार्यालयले सर्वसाधारणलाई अनुरोध गरेको छ।







भदौ २४ को घटना नेपालको
बाजुरामा खोलाले बगाउँदा किशोर बेपत्ता
उखु बेचेको छ महिना बित्दा
अमेरिकी सेनाद्वारा थप पाँच इरानी
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न
नेपालले अन्तर्राष्ट्रिय मञ्चमा सशक्त आवाज