काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रसुवा बाढीपछि सरकारले सञ्चालन गरेको खोज, उद्धार तथा राहत कार्य हालसम्म सन्तोषजनक रहेको निष्कर्ष निकालेको छ।
बिहीबार बसेको पार्टी सचिवालय बैठकले सरकारको नेतृत्वमा भइरहेका विपद् व्यवस्थापनसम्बन्धी कामको समीक्षा गर्दै खोज, उद्धार र राहतलाई अझ प्रभावकारी तथा द्रुत गतिमा अघि बढाउनुपर्नेमा जोड दिएको हो।
बैठकपछि प्रवक्ता जगदीश खरेलले सरकारका तर्फबाट हालसम्म भएका कामहरू सन्तोषजनक रहेको जानकारी दिनुभयो। बैठकमा पार्टीका उपमहासचिव तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद् व्यवस्थापनमा हालसम्म भएका प्रगति तथा सरकारका प्रयासबारे विस्तृत जानकारी गराउनुभएको थियो।
प्रवक्ता खरेलका अनुसार सरकारले हालसम्म आठ अर्ब रुपैयाँभन्दा बढी सहयोग संकलन गरेको छ। संकलित रकममध्ये एक अर्ब रुपैयाँभन्दा बढी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई र छ करोड रुपैयाँभन्दा बढी स्थानीय तहलाई उपलब्ध गराइसकिएको जानकारी बैठकमा दिइएको थियो।
“सरकारका तर्फबाट हालसम्म भएका कामहरू सन्तोषजनक छन्, यद्यपि यसलाई अझ बढी प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने आवश्यकतालाई बैठकले जोड दिएको छ,” प्रवक्ता खरेलले भन्नुभयो।
रास्वपाले राहत वितरण प्रक्रियालाई थप व्यवस्थित बनाउँदै प्रभावित क्षेत्रमा सरकारी उपस्थिति अझ सशक्त बनाउनुपर्नेमा जोड दिएको छ।
पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्राकृतिक विपद्पछिको खोज, उद्धार, राहत वितरण तथा दीर्घकालीन पुनःस्थापनाका काममा सरकारलाई पूर्ण सहयोग गर्ने पार्टीको निर्णय रहेको बताउनुभयो।
उहाँले राहत वितरणलाई प्रभावकारी र द्रुत बनाउन ७२ घण्टाको समयसीमाभित्र संकलित राहत सामग्री प्रभावितसमक्ष पुर्याउनुपर्ने पार्टीको निष्कर्ष रहेको जानकारी दिनुभयो।
“संकलन भएका राहत सामग्रीहरू ढिला नगरी कम्तीमा ७२ घण्टाभित्र पीडितसमक्ष पुर्याउनुपर्छ भन्ने हाम्रो निष्कर्ष हो,” उहाँले भन्नुभयो।
सरकारले राहत वितरणमा ‘एकद्वार प्रणाली’ अनिवार्य नगरेको सन्दर्भमा बुर्लाकोटीले सरकारी क्षमताले मात्रै सबै प्रभावित क्षेत्रमा पुग्न कठिन हुने भएकाले विभिन्न संघसंस्थाले प्रत्यक्ष रूपमा राहत वितरण गरिरहेको बताउनुभयो।
उहाँका अनुसार प्रत्यक्ष राहत वितरण गर्न सक्ने क्षमता भएका संघसंस्थाले प्रभावित क्षेत्रमा आफैं सामग्री पुर्याउन सक्नेछन् भने वितरणको क्षमता नभएका संस्थाले सरकारी संकलन केन्द्रमा सामग्री हस्तान्तरण गर्नुपर्नेछ। त्यसरी प्राप्त सामग्री सरकारले समुचित रूपमा वितरण गर्ने उहाँले बताउनुभयो।
सरकार र पार्टीबीचको समन्वयबारे जानकारी दिँदै प्रमुख सचेतक बुर्लाकोटीले प्रधानमन्त्रीका सल्लाहकारसमेत पार्टीको सचिवालयमा रहेकाले राहत, उद्धार तथा पुनःस्थापनाका विषयमा आवश्यक तयारी र समन्वय भइरहेको बताउनुभयो।
रास्वपाले विपद्को यस घडीमा राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर मानवीय सहायता तथा प्रभावित नागरिकको उद्धार र राहतमा केन्द्रित हुन सबै पक्षलाई आह्वानसमेत गरेको छ।







उखु बेचेको छ महिना बित्दा
अमेरिकी सेनाद्वारा थप पाँच इरानी
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न
नेपालले अन्तर्राष्ट्रिय मञ्चमा सशक्त आवाज
रसुवा बाढीमा मृत्यु हुनेकाे संख्या
जेनजी आन्दोलनका सहिदको अनुहारसँग सालिक