काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य वर्षमान पुनले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित क्षेत्रमा फसेका तथा सम्पर्कविहीन नागरिकको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ।
प्रतिनिधिसभाको विशेष समयमा बोल्दै नेता पुनले विपद् व्यवस्थापनमा राजनीतिक दलहरूको सहकार्यलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीले तत्काल सर्वदलीय बैठक आयोजना गर्नुपर्ने बताउनुभयो।
उहाँले केन्द्र, प्रदेश र जिल्ला तथा स्थानीय तहमा सर्वदलीय संयन्त्र बनाउने राजनीतिक दलहरूबीच निर्णय भइसकेकाले प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएर त्यसलाई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभयो।
पूर्वअर्थमन्त्रीसमेत रहनुभएका पुनले विपद्पछिको तत्कालीन उद्धार तथा राहतसँगै दीर्घकालीन पुनःस्थापना र विपद् व्यवस्थापनका लागि स्पष्ट रणनीति आवश्यक रहेको बताउनुभयो।
बाढीका कारण जलविद्युत् आयोजना, सुरुङ तथा विद्युत्गृहमा फसेका नागरिकको सम्भव भएसम्म छिटो खोजी तथा उद्धार गर्न उहाँले सरकारसँग आग्रह गर्नुभयो। राहत वितरणलाई प्रभावकारी, पारदर्शी र न्यायोचित बनाउन पनि उहाँले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो।
पुनले राष्ट्रिय हिमालयन जलवायु तथा विपद् कोष स्थापना, पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने तथा हिमाली क्षेत्रको नियमित अनुगमन र अध्ययन गर्ने व्यवस्था गर्नसमेत माग गर्नुभयो।
बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले बाढी प्रभावित क्षेत्रमा अझै केही सुरुङमा मानिस फसेको हुनसक्ने भन्दै त्यस्ता सुरुङमा तत्काल उद्धार टोली पठाउन सरकारसँग आग्रह गर्नुभयो।
उहाँले उपलब्ध सबै साधनस्रोत परिचालन गर्दै उद्धार कार्यमा विज्ञहरूसँग आवश्यक परामर्श लिन सरकारलाई सुझाव दिनुभयो।
त्यस्तै, श्रम संस्कृति पार्टीकी सांसद अम्बिकादेवी सङ्ग्रौलाले बाढी तथा पहिरोजस्ता विपद्बाट भएको क्षतिलाई जलवायु न्यायको विषयसँग जोडेर अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुपर्ने बताउनुभयो।
उहाँले विपद्का समयमा राजनीतिक तथा सामाजिक एकता, सहयोग र ऐक्यबद्धताको आवश्यकता रहेको औँल्याउनुभयो।







उखु बेचेको छ महिना बित्दा
अमेरिकी सेनाद्वारा थप पाँच इरानी
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न
नेपालले अन्तर्राष्ट्रिय मञ्चमा सशक्त आवाज
रसुवा बाढीमा मृत्यु हुनेकाे संख्या
जेनजी आन्दोलनका सहिदको अनुहारसँग सालिक