काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको एक साता बितिसक्दा पनि प्रभावित परिवार तथा समुदायको अवस्था पीडादायी र चुनौतीपूर्ण रहेको भन्दै बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) ले बेपत्ता व्यक्तिको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । सिजपका अध्यक्ष तिलोत्तम पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमार्फत् बाढी प्रभावित सबै क्षेत्रमा आवश्यक राहत तथा मानवीय सहायता समान रूपमा पुर्याउन सरकारी तथा सुरक्षा निकाय, स्थानीय तह, नागरिक समाज र मानवीय संस्थाहरूलाई अपिल गरिएको हो ।
सिजपले विपद्को चपेटामा परेका बालबालिकाको सुरक्षा, स्वास्थ्य, पोषण, संरक्षण र शिक्षालाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ । परिवारबाट छुट्टिएका वा अभिभावक गुमाएका बालबालिकाको तत्काल पहिचान गरी सुरक्षित संरक्षण, परिवारसँग पुनर्मिलन तथा आवश्यक स्वास्थ्य र मनोसामाजिक सहयोगको व्यवस्था गर्नसमेत सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ ।
विपद्का बेला बालबालिका बेचबिखन तथा ओसारपसारको जोखिममा पर्न सक्ने भन्दै सिजपले उनीहरूको विशेष निगरानी र संरक्षण आवश्यक रहेको जनाएको छ । बाढीबाट प्रभावित बालबालिकामा देखिन सक्ने डर, तनाव, चिन्ता तथा मानसिक आघातलाई सम्बोधन गर्न बालमैत्री मनोसामाजिक परामर्शलाई राहत तथा पुनर्स्थापनाको अभिन्न अंग बनाउनुपर्ने उसको माग छ ।
त्यसैगरी, विपद्का बेला पीडित तथा प्रभावित व्यक्तिको गोपनीयता, मर्यादा र सम्मानको अधिकार संरक्षण गर्न पनि सिजपले आग्रह गरेको छ । अनुमति र आवश्यक संवेदनशीलताबिना पीडित बालबालिका तथा परिवारका तस्वीर, भिडियो वा संवेदनशील अवस्थाका सामग्री सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक गर्दा उनीहरूमा थप मानसिक तनाव सिर्जना हुन सक्ने भन्दै यस्तो सामग्रीको जिम्मेवार प्रयोग गर्न आग्रह गरिएको छ ।
बेपत्ता तथा बेवारिसे शवबाट फैलन सक्ने दुर्गन्ध तथा सम्भावित महामारीबाट जोगिन र बालबालिकालाई त्यस्ता स्थानमा जाँदा पर्न सक्ने मानसिक असरप्रति पनि सम्बन्धित सबै सचेत हुनुपर्ने सिजपको भनाइ छ । सिजपले बालबालिका तथा विपद् प्रभावित व्यक्तिको पहिचान, तस्वीर र व्यक्तिगत विवरण सार्वजनिक गर्दा विशेष संवेदनशीलता अपनाउन सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सबै सरोकारवालालाई आग्रह गरेको छ । त्यस्तै, राष्ट्रिय मानव अधिकार आयोगलाई बालबालिकाको अवस्थालाई विशेष ध्यानमा राख्दै प्रभावकारी अनुगमन गर्न तथा सरकारलाई आवश्यक सिफारिस र मार्गदर्शन गर्न सिजपले अनुरोध गरेको छ ।
विपद्सम्बन्धी सूचना तथा राहतको अवस्थाबारे आधिकारिक र विश्वसनीय स्रोतबाट प्राप्त सूचनालाई मात्र प्राथमिकता दिन, अपुष्ट सूचना तथा अफवाह फैलिन नदिन र प्रभावित समुदायको संवेदनशीलतालाई सम्मान गर्नसमेत सिजपले सबैमा आग्रह गरेको छ ।






टिपरको ठक्करबाट एक जनाको मृत्यु
भोटेकोशी बाढीपछि नेपालको प्रश्न :
तीन दिनमै ८७ हजारभन्दा बढी
मुक्त हलियाको समस्या स्थायी समाधान
साउदी अरेबियालाई ५ विकेटले हराउँदै
बालेनलाई गगनको सुझाव : ‘महासभामा