काठमाडौं । मलेसियामा जारी एसिसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हात पारेको छ । नेपाली बलरको उत्कृष्ट प्रदर्शन र ओपनर अर्जुन कुमालको संयमित ब्याटिङको मद्दतमा नेपालले बिहीबार आयोजक मलेसियालाई ६ विकेटले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ रोजेको घरेलु टोली मलेसिया नेपाली बलरसामु निरीह देखियो । मलेसिया ३२.३ ओभरमै सबै विकेट गुमाउँदै १०३ रनमा समेटियो । सामान्य लक्ष्य पछ्याएको नेपालले २१.४ ओभरमा चार विकेट गुमाएर १०६ रन बनाउँदै सहज रूपमा जित दर्ता गर्यो ।
नेपालको जितमा बलर करण केसी नायक बन्नुभयो । उहाँले मलेसियाको मध्यक्रम र तल्लोक्रमलाई धराशायी बनाउँदै एक्लैले चार विकेट लिनुभयो । करणले ७.३ ओभर बलिङ गर्दा दुई मेडन राख्दै केवल २३ रन खर्चिनुभयो । उहाँको घातक बलिङका कारण मलेसियाली ब्याट्सम्यानले लामो समय क्रिजमा टिकेर रन बनाउन सकेनन् ।
ललित राजवंशीले पनि प्रभावशाली बलिङ गर्दै दुई विकेट लिनुभयो । उहाँले ६ ओभरमा एक मेडनसहित १९ रनमात्र खर्चिनुभयो । कप्तान सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र हेमन्त धामीले एक-एक विकेट लिनुभयो ।
घरेलु मैदानमा ब्याटिङको फाइदा उठाउने अपेक्षा गरिएको मलेसियाली टोली नेपाली बलिङसामु सुरुदेखि नै दबाबमा परेको थियो । उसका केवल चार ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सके । मलेसियाका कप्तान सइद अजिजले सर्वाधिक ३० रन बनाउनुभयो । उहाँले ४९ बलको सामना गर्दै दुई छक्का र दुई चौका प्रहार गर्नुभयो । अकिल वाहिदले २४ रन जोड्नुभयो । त्यस्तै विरनदीप सिंहले १४ तथा मुहमद सहादतले १३ रन बनाउनुभयो । अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान गर्न नसक्दा मलेसिया १०३ रनमै सीमित भयो ।
सामान्य लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको नेपालले पनि सुरुवात भने राम्रो गर्न सकेन । ओपनर आसिफ शेख पहिलो बलमै आउट हुनुभयो । तेस्रो नम्बरमा आएका देव खनाल पनि दुई रनमै पेभेलियन फर्किनुभयो । तर, ओपनर अर्जुन कुमालले एक छेउबाट धैर्यपूर्वक ब्याटिङ गर्दै नेपाली इनिङ्स सम्हाल्नुभयो । उहाँ ६८ बलमा चार चौकासहित ४५ रन बनाएर अविजित रहनुभयो । अर्जुनको संयमित ब्याटिङले नेपाललाई लक्ष्यतर्फ सहज रूपमा अघि बढ्न मद्दत गर्यो ।
चौथो नम्बरमा आएका इशान पाण्डेले २९ बलमा एक छक्का र दुई चौकाको मद्दतले २० रन बनाउनुभयो । पूर्वकप्तान रोहित पौडेलले १६ बलमा १० रन जोड्नुभयो । उहाँ आउट भएपछि क्रिजमा आएका दीपेन्द्रसिंह ऐरीले ११ बलमा दुई चौकासहित अविजित १२ रन बनाएर नेपाललाई जितसम्म पुर्याउनुभयो । नेपालले अतिरिक्तबाट समेत १७ रन प्राप्त गरेको थियो ।
यससँगै नेपालले प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । यसअघि आफ्नो पहिलो खेलमा नेपालले बहराइनलाई सात विकेटले पराजित गरेको थियो । उक्त खेलमा बहराइन ३६.२ ओभरमा ८७ रनमै अलआउट भएको थियो भने नेपालले २१ ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।
समूह ‘ए’मा नेपालको चुनौती
प्रिमियर कपमा नेपाल समूह ‘ए’मा छ । नेपालसँगै यस समूहमा बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया रहेका छन् । समूह ‘बी’मा कुवेत, ओमान, कतार, सिंगापुर र संयुक्त अरब इमिरेट्स (युएई) छन् । समूह चरणका खेलपछि दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनलमा विजयी हुने दुई टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ भने पराजित टोलीले तेस्रो स्थानका लागि खेल्नेछन् ।
प्रिमियर कपको नतिजा नेपालको आगामी एसिया कप यात्राका लागि समेत महत्त्वपूर्ण छ । सेप्टेम्बर १२ सम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोली सन् २०२७ मा हुने एसिया कपका लागि छनोट हुनेछ । सन् २०२७ को जुन–जुलाईमा बंगलादेशमा आयोजना हुने एसिया कपमा स्थान बनाउन नेपालले प्रिमियर कपको उपाधि जित्नुपर्नेछ ।
अभ्यास खेलदेखि प्रतियोगितासम्म मलेसियामाथि दबदबा
प्रतियोगिता सुरु हुनुअघि पनि नेपालले मलेसियासँग दुईवटा अभ्यास खेल खेलेको थियो । ती दुवै खेलमा नेपाल विजयी भएको थियो । पहिलो अभ्यास खेलमा नेपालले डकवर्थ एण्ड लुइस नियमका आधारमा मलेसियालाई नौ विकेटले हराएको थियो । दोस्रो अभ्यास खेलमा नेपाल २७ रनले विजयी भएको थियो । प्रतियोगिताको मुख्य खेलमा समेत मलेसियालाई ६ विकेटले पराजित गरेपछि नेपालले मलेसियामाथि आफ्नो दबदबा थप बलियो बनाएको छ ।
अब नेपाली टोलीले समूह चरणको तेस्रो खेल सेप्टेम्बर ६ मा साउदी अरेबियासँग खेल्नेछ । त्यसपछि सेप्टेम्बर ८ मा हङकङसँग प्रतिस्पर्धा गर्नेछ । लगातार दुई जित निकालेको नेपालका लागि यी खेल समूहको शीर्ष स्थानमा पुग्ने र सेमिफाइनलमा स्थान सुरक्षित गर्ने दृष्टिले महत्त्वपूर्ण हुनेछन् । बलिङमा करण केसीसहितका खेलाडीको प्रभावशाली प्रदर्शन र ब्याटिङमा अर्जुन कुमालको संयमित योगदानले नेपाललाई लगातार दोस्रो जित दिलाएको छ । अब बाँकी खेलमा पनि यही लय कायम राख्दै नेपाल उपाधि जितेर एसिया कपमा स्थान बनाउने लक्ष्यमा अघि बढेको छ ।







सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन
चितवनमा फेला परेका ३६२ शवमध्ये
बाँकेमा १६ जनाको ‘डिएनए’ नमूना
भोटेकोशी-त्रिशूली बाढीपीडितप्रति उपत्यकावासीको ऐक्यबद्धता
आज साँझसम्म यातायात सञ्चालन गर्ने
देवीघाटमा एक्रो ब्रिज निर्माण तीव्र,