एजेन्सी । अमेरिकी पप गायिका आरियाना ग्राण्डेले आफ्नो चर्चित ‘इटर्नल सनसाइन’ टुर सम्पन्न गर्दै सार्वजनिक जीवनबाट केही समय विश्राम लिने घोषणा गर्नुभएको छ । लण्डनमा आयोजित टुरको अन्तिम प्रस्तुतिका क्रममा उहाँ भावुक बन्नुभएको थियो ।
सन् २०१७ मा म्यानचेष्टरमा भएको आतंककारी हमलाका पीडितहरूको सम्झनामा विशेष बनेको उहाँको चर्चित गीत ‘वन लाष्ट टाइम’ प्रस्तुत गर्ने क्रममा ग्राण्डेका आँखा रसाएका थिए । दर्शकदीर्घानजिकै घुँडा टेकेर उहाँले दर्शकलाई सम्बोधन गर्दै भन्नुभयो, ‘लण्डन, मलाई यस गीतमा तपाईंहरूको साथ चाहिन्छ ।’
ग्राण्डेले आफ्नो स्वास्थ्य तथा शारीरिक बनावटलाई लिएर भइरहेका निरन्तर टीकाटिप्पणी र सार्वजनिक निगरानीका बीच गत महिना नै भविष्यका सार्वजनिक कार्यक्रमबाट टाढा रहने घोषणा गर्नुभएको थियो । यही निर्णयानुसार उहाँले लण्डनको बार्बिकनमा आगामी ग्रीष्मकालमा मञ्चन हुने नाटक ‘सन्डे इन द पार्क विथ जोर्ज’बाट समेत आफ्नो नाम फिर्ता लिनुभएको छ । उहाँसँगै काम गरिरहेका कलाकार जोनाथान बेलीले पनि उक्त नाटकबाट बाहिरिने निर्णय गर्नुभएको छ ।
टुरका क्रममा खुट्टामा चोट लागेपछि ग्राण्डेले आफ्नो चर्चित हाइ हिलको सट्टा गोडासम्म आउने बुट लगाएर प्रस्तुति दिनुभएो थियो । चोटका बाबजुद पनि उहाँ डान्सरहरूसँगै मञ्चमा सक्रिय देखिनुभयो । ‘नोवेयर, नोबडी’ गीत प्रस्तुत गर्ने क्रममा उहाँको स्वर केही लडखडाए पनि उहाँले तत्काल आफूलाई सम्हाल्दै प्रस्तुति निरन्तरता दिनुभयो ।
कार्यक्रमको अन्त्यतिर फ्यानहरूलाई धन्यवाद दिँदै ग्राण्डेले यो अनुभव आफ्नो जीवनकै सबैभन्दा सुन्दर र असाधारण अनुभवमध्ये एक भएको बताउनुभयो । उहाँले आफ्ना फ्यानहरूले टुरलाई विशेष बनाउन गरेको साथ र प्रयासप्रति आभार व्यक्त गर्नुभयो ।
ग्राण्डेको नयाँ सांगीतिक भिडियो ‘पेटल’ सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उहाँको तौल र शारीरिक बनावटलाई लिएर विभिन्न टिप्पणी भएका थिए । बढ्दो नकारात्मक टिप्पणी तथा निरन्तरको सार्वजनिक निगरानीका कारण उहाँले सार्वजनिक जीवनबाट केही समयपछि हट्ने निर्णय गरेको उहाँका प्रचारकले पुष्टि गर्नु भएको छ ।
यद्यपि, ग्रान्डेले भने आफ्नो निर्णय सामाजिक सञ्जालमा आएका प्रतिक्रियाका कारण मात्र नभएको स्पष्ट पार्नुभएको छ । यो निर्णय आफूले लामो समयदेखि योजना बनाएर र सोचविचारपछि लिएको उहाँको भनाइ छ । उहाँले सार्वजनिक जीवनमा पनि सीमाना आवश्यक हुने र मानिसलाई कहिलेकाहीँ विश्रामको आवश्यकता पर्ने बताउनुभएको छ ।
लण्डनको ओटु एरेनामा आयोजित दशवटा शोमा चीन, अष्ट्रेलिया तथा युरोपका विभिन्न मुलुकबाट करिब दुई लाख दर्शक सहभागी भएका थिए । टुरका क्रममा ग्रान्डेले आफ्नी सह-कलाकार सिन्थिया एरिभोसँग समेत मञ्च साझा गर्नुभएको थियो । ग्राण्डेको अन्तिम प्रस्तुतिपछि विभिन्न सञ्चारमाध्यमले उहाँको गायकी र मञ्चीय प्रस्तुतिको प्रशंसा गरेका छन् । लण्डनमा उपस्थित फ्यानहरूले पनि उहाँको विश्राम लिने निर्णयको सम्मान गर्दै उहाँलाई केही समय आराम र व्यक्तिगत जीवनमा ध्यान दिन आवश्यक रहेको प्रतिक्रिया दिएका छन् ।






भोटेकोशी बाढी : एक हजार
बाढी प्रभावित जिल्लाहरुमा राहत तिब्र,
क्यासिनोमा नेपाली प्रवेश गराई जुवा
पहिरोको जोखिम मोलेर बजारसम्म कृषि
बाढीपछि रसुवामा हैजाविरुद्ध २१ हजार
कृष्णभीरमा खोलिएको ‘ट्रयाक’ लाई फराकिलो