काठमाडौं । गायिका रचना रिमालले अष्ट्रेलियामा तय भएका ‘तीज उत्सव-२०२६’अन्तर्गतका सम्पूर्ण सांगीतिक कार्यक्रम रद्द गर्नुभएको छ । नेपालमा हालै आएको विनाशकारी बाढीपहिरोबाट ठूलो जनधनको क्षति हुनुका साथै मानवीय संकट उत्पन्न भएपछि उहाँले राष्ट्रको दुःखको घडीमा उत्सव मनाउनुभन्दा देशप्रति ऐक्यबद्धता जनाउनु उचित ठानेर अष्ट्रेलियाका कार्यक्रम रद्द गर्ने निर्णय गर्नुभएको हो ।
एनआरएनए वुमेन्स फोरम नारी निकुञ्ज अष्ट्रेलियाको आयोजनामा अष्ट्रेलियाका विभिन्न शहरमा रिमालको सहभागितामा करिब दशवटा सांगीतिक कार्यक्रम आयोजना गरिएको थियो । ती कार्यक्रममा सहभागी हुन उहाँ केही समयअघि अष्ट्रेलिया पुग्नुभएको थियो । नेपालमा बाढीपहिरोको विपत् आएपछि रिमालले सुरुमा कार्यक्रम स्थगित गरिएको जानकारी गराउनुभएको थियो । तर, बुधबार उहाँले सबै कार्यक्रम नै रद्द गरिएको घोषणा गर्नुभएको हो । कार्यक्रम रद्द गरेपछि आफू स्वदेश फर्किन लागेको जानकारीसमेत उहाँले दिनुभएको छ ।
रिमालले राष्ट्र शोकमा रहेका बेला उत्सवमा रमाउन आफ्नो मनले नमानेको बताउनुभएको छ । उहाँले यो कुनै एउटा जिल्ला वा क्षेत्रको मात्र पीडा नभई सिंगो देशको पीडा भएको उल्लेख गर्नुभएको छ । ‘यो कुनै जिल्लाको पीडा होइन, सिंगो देशको पीडा हो,’ उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘फेरि भेट्नेछौं, फेरि गाउनेछौं, फेरि नाच्नेछौं । तर, अहिले होइन । अहिले हाम्रो देशलाई हाम्रो उत्सवभन्दा हाम्रो साथ चाहिएको छ । अहिले हाम्रो गीतभन्दा ठूलो उद्धारको आवाज छ । त्यसैले यसपटक हामीले उत्सव रद्द गरेका छौं ।’ कार्यक्रम रद्द गर्नुपरेकोमा रिमालले आफ्ना शुभेच्छुक, दर्शक, प्रायोजक, सहयोगी तथा स्वयंसेवकहरूसँग क्षमायाचना गर्नुभएको छ ।







विपद् प्रतिकार्यमा विपक्षी दलहरु सरकारसँगै
भोटेकोशी बाढीपछि सरकारको राहत-उद्धार कार्यबारे
न्यायाधीश रेग्मी र अख्तियार प्रमुख
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी
कानुनमन्त्रीलाई कारबाही गर्न राष्ट्रिय सभाका
ओमानलाई ८७ रनले हराउँदै नेपाल