मधेस प्रदेशलाई शैक्षिक दृष्टिकोणले नेपालका सर्वाधिक पछाडि परेको प्रदेशको रूपमा चिनाएको छ । मधेस प्रदेशमा पनि सर्लाही र रौतहट जस्ता जिल्लाहरू कमजोर छन् । त्यसमा पनि सर्लाही र रौतहट सर्वाधिक पछाडि पर्नुको मुख्य कारण यहाँका समाज र स्थानीय जनता छन् । हालै सर्लाहीको बलरा नगरपालिकाको बलरास्थित माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई जसरी अमानवीय तरिकाले मरणासन हुनेगरी कुटपिट गरियो, त्यसले के पनि साबित गर्दछ भने मधेसका जनता मुर्ख तथा निरक्षर रहिरहनु आवश्यक छ । देशको राष्ट्रिय राजनीतिमाथि कठोर टिप्पणी गर्ने स्थानीय रास्वपा सांसद अमरेसकुमार सिंह यस विषयमा किन केही बोलेनन् ?
सर्लाहीबाहेकका अन्य जिल्लामा यस्तो घटना भएको भए शिक्षकहरू सडकमा आउने थिए, आन्दोलन गर्ने थिए, विद्यालय बन्द गर्ने थिए तर बलरा घटनापछि मुर्दा शान्ति देखियो । के उक्त विद्यालयका प्रधानाध्यापकको थर नै उनको अपराधको प्रमाण थियो त ? बलरा घटनामा त्यहाँका पढेलेखेका बुद्धिजीवी, अवकाश प्राप्त कर्मचारी राजनीतिकर्मी र राजनीतिक दलहरूको त भूमिका थियो नै, सोही विद्यालयका केही शिक्षकहरूको पनि थियो । यस घटनाले शिक्षकहरूको मनोबललाई कमजोर बनाउने छ । सार्लहीका शिक्षक संगठनहरूको विज्ञप्ति जारी गरेर आफ्नो कर्तव्यको निर्वाह भएको ठानिरहेका छन् ।
घटनाको भिडियोमा देखिएका युवाहरू र हातमा लठ्ठी लिएकी छात्रालाई पक्राउ गर्नु आवश्यक छ । आखिर छात्रालाई लठ्ठी कसले दियो ? यसको छानबिन हुनुपर्छ । एकजनाको गिरफ्तारीले पुग्दैन । सर्लाहीको बलरा एउटा शिक्षिकपालिका हो । नेपाल सरकारका सचिव र सहसचिव रहिसकेका व्यक्ति बस्ने गाउँ, सिडियोलगायत थुप्रै सरकारी तथा निजी क्षेत्रमा जनशक्ति स्थापना गर्ने स्थान, जहाँ शिक्षक स्वयं नै मेयर छन् ।
विद्यालयका प्रधानाध्यापकले एकजना छात्रलाई मानसिक यातना दिएको आरोप लगाइन्छ । विद्यालयकी छात्राको गल्ती के थियो, छात्राको गल्ती अनुसार तिनलाई सचेत गराउने, कठोर भाषामा सम्झाउने-बझुाउने कार्य गर्नु प्रधानअध्यापकको अपराध हुन सक्दैन । कथम कदाचित विद्यालयकी कुनै छात्राले विभिन्न कारणले आत्महत्या गर्ने अथवा विद्यालय पढ्नआएको अवस्थामा आफ्ना केटा साथीसँग कतै बाहिर जान्छिन् भन्ने त्यसको दोष पनि प्रधानअध्यापककै टाउकोमा जान्छ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म विद्यालय पढ्न आएका छात्र–छात्राहरूको सम्पूर्ण जिम्मेवारी विद्यालय प्रशासनकै हुन्छ ।
प्रधानअध्यापकले बच्चालाई सचेत गराएनन भने पनि दोषी शिक्षक नै मानिन्छन् । अब त विद्यार्थीलाई सचेत गराउनको निम्ति अनुशासनमा ल्याउने प्रयास गरे झन ठूलो अपराधी घोषित हुने डर छ । जब प्रधानअध्यापक, शिक्षक, नगरपालिकाका शिक्षा संयोजक र नगरपालिकाका प्रतिनिधिबीच बैठकमा सहमति कायम भइसकेको थियो अनि शिक्षकलाई कुटपिट गर्नुको औचित्य के थियो ? पक्कै पनि यो सुनियोजित षड्यन्त्रको परिणाम थियो । बहालवाला प्रधानअध्यापकलाई हटाएर नयाँ प्रधानअध्यापक ल्याउने षड्यन्त्रको यो उपज थियो ।
कतिपय स्थानीयहरूका अनुसार त्यस सामुदायिक विद्यालयकै वरिपरि चार पाँचवटा बोर्डिङ स्कुलहरू पनि सञ्चालनमा छन् । बोर्डिङ स्कुलमा विद्यार्थीको संख्या कम रहेको जबकि अहिले पनि सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकहरूको आकर्षण कायमै रहेका कारण पनि उक्त विद्यालयका प्रधानाध्यापकलाई नै धेरैले मुख्य बाधक मानिरहेका थिए । ८-९ कक्षाका छात्राको हातमा लठ्ठी हुनुको के अर्थ ? छात्र-छात्राहरूको भीडमा दुई-चारजना २०-३० वर्ष उमेर समूहका युवाहरू पनि मिसिएका थिए जो, पटक-पटक छात्राहरूलाई उचालिरहेका थिए र भनिरहेका थिए कि हेडमास्टरले त तिम्रा साथीसित दुर्व्यवहार गर्यो अब तिमीहरू के गर्छौ ? बलरा नगरपालिकाको कार्यालय पनि त्यहीँनिर छ, सिसिटिभी पनि हुनुपर्छ ।
घटनाको भिडियोमा देखिएका युवाहरू र हातमा लठ्ठी लिएकी छात्रालाई पक्राउ गर्नु आवश्यक छ । आखिर छात्रालाई लठ्ठी कसले दियो ? यसको छानबिन हुनुपर्छ । एकजनाको गिरफ्तारीले पुग्दैन । सर्लाहीको बलरा एउटा शिक्षिकपालिका हो । नेपाल सरकारका सचिव र सहसचिव रहिसकेका व्यक्ति बस्ने गाउँ, सिडियोलगायत थुप्रै सरकारी तथा निजी क्षेत्रमा जनशक्ति स्थापना गर्ने स्थान, जहाँ शिक्षक स्वयं नै मेयर छन्, त्यहाँका विद्यालयको प्रधानाध्यापकमाथि भएको सांघातिक हमला र दुर्व्यवहारप्रति अन्य शिक्षकहरू मुकदर्शक बनेर बस्नु, विद्यार्थीलाई सम्झाउने प्रयास नगर्नुले षड्यन्त्र नै हो भन्ने देखिन्छ । विद्यालय बाहिरबाट कसेको अप्रत्यक्ष सहयोगबिना यस्तो गर्नु सम्भव छैन ।
६ महिनाअघि सम्पन्न प्रतिनिधिसभा निर्वाचनको पूर्वाग्रह पनि एउटा कारण हुन सक्दछ । ६-७ महिनापछि हुने स्थानीय तहको निर्वाचनको सम्भावित प्रत्याशीहरूले पनि यस्तो घटना गराएका हुन सक्दछन् । विद्यालयका शिक्षकहरूबीच समन्वयको अभाव छ । आज यदि प्रधानअध्यापकमाथि यस्तो घटना भएको छ भने भोलि कुनै नयाँ हेटमास्टरसित यस्तै घटना नहोला भन्न सकिँदैन किनभने ‘बुढी मर्नु ठूलो कुरा होइन, काल पल्किनु ठूलो कुरा हो’ । भोलि अर्काले पनि आफ्नो पालो कुरेर बस्दा हुन्छ किनभने विद्यालयका छात्र-छात्राहरूले अब सिकिसके कि झुटो आरोप लगाएर पनि हेडमास्टरलाई अपमानित गर्न सकिन्छ, कुटपिट गर्न सकिन्छ । विभाजित मनस्थितिमा रहेको समाजको एउटा समूहले पक्कै पनि आफ्नो समूह र पक्षका विद्यार्थीको समर्थनमा आइपुग्ने नै छन् ।
पैसा लिएर शिक्षकको नियुक्त गर्ने, सरुवा गर्ने, हाजिरी गराउने, दरबन्दी कम–बेसी गर्ने काम मधेसमा हुन्छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्न गोली चलाइन्छ र अध्यक्ष पद कब्जा गरिन्छ । १०-१५ लाख रुपैयाँसम्म समितिको अध्यक्षको निर्वाचनमा खर्च हुन्छ । पैसा लिएर जब मतदान हुन्छ अनि समाजको शिक्षा अवस्था कसरी सुध्रिन सक्दछ ?
तसर्थ प्रधान अध्यापकदेखि लिएर कुनै पनि शिक्षकलाई कुट्न सहज छ । भोलि परीक्षामा कुनै विषयमा नम्बर कम आयो भने पनि शिक्षकलाई कुट्न सहज हुनेछ । यस गलत घटनाको दुष्परिणाम बलरा र सर्लाहीमात्रै होइन पूरै प्रदेशका छात्र, शिक्षक र अभिभावकले भोग्नुपर्नेछ । विद्यालय परिसरमै प्रधानाध्यापकमाथि भएको कुट्पिट केवल एउटा व्यक्तिमाथिको आक्रमण होइन, यो शिक्षा क्षेत्रको मर्यादा र राज्यको कानुनी शासनमाथिको गम्भीर चुनौती हो । राजनीतिक संरक्षण र पहुँचका आधारमा गलत कामलाई छुट दिने प्रवृत्ति अन्त्य हुनुपर्छ । दोषी विद्यार्थी होस् वा उक्साउने व्यक्ति निष्पक्ष छानबिन गरी कानुनअनुसार कारबाही गरिनुपर्छ । विद्यालयलाई अराजकताको थलो होइन, अनुशासन, ज्ञान र संस्कारको केन्द्र बनाउने जिम्मेवारी राज्य र समाज दुबैको हो ।
मधेस प्रदेशको साक्षरता दर करिब ६३ देखि ६४ प्रतिशत छ । मधेस प्रदेशका कुनै पनि जिल्ला पूर्णरूपमा साक्षर घोषित भइसकेका छैनन् । मधेस प्रदेश सरकारले पनि कूल बजेटको न्यून हिस्सा करिब ६ प्रतिशत मात्र शिक्षा क्षेत्रका लागि छुट्याउने गरेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार रौतहट महोत्तरी र सर्लाहीको साक्षरता दर औषत जिल्लाहरू भन्दा निकै खस्किएको देखाएको छ । सबैभन्दा कम रौतहट ५७, महोत्तरी ५९ र सर्लाहीको साक्षरता दर ६० प्रतिशत छ । अन्य जिल्लाहरूको अवस्था पनि सन्तोषजनक छैन । नेपालको समग्र साक्षरता दर ७६ प्रतिशत रहेकोमा मधेस प्रदेशको सबैभन्दा कम ६३ प्रतिशत मात्रै छ । शिक्षासमेतको इन्डिकेटर मानिने मानव सूचकांकमा पनि धेरै न्यून ०.५१९ प्रतिशत मात्र छ ।
कर्णालीभन्दा पनि कम साक्षरता दर मधेस प्रदेशको रहेको छ । शिक्षा समाजको दर्पण हो । यसले उक्त समाजको अवस्था दर्शाउँछ । कुनै पनि समाज आर्थिक, सामाजिक र राजनीतिक रूपले प्रगति गर्नमा पनि शिक्षाको भूमिका महत्त्वपूर्ण हुन्छ । कुनै समय शिक्षाको आधारभूमि मानिएको मधेस प्रदेश अहिले शिक्षाको मामिलामा मरुस्थल बन्न गएको छ । अहिले पनि मधेसका योग्य शिक्षकहरू पहाडका जिल्लाहरूमा आफ्नो सेवा दिइरहेका छन् ।
पैसा लिएर शिक्षकको नियुक्त गर्ने, सरुवा गर्ने, हाजिरी गराउने, दरबन्दी कम-बेसी गर्ने काम मधेसमा हुन्छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्न गोली चलाइन्छ र अध्यक्ष पद कब्जा गरिन्छ । १०-१५ लाख रुपैयाँसम्म समितिको अध्यक्षको निर्वाचनमा खर्च हुन्छ । पैसा लिएर जब मतदान हुन्छ अनि समाजको शिक्षा अवस्था कसरी सुध्रिन सक्दछ ? यहाँ राम्रो होइन, हाम्रो शिक्षक चाहिन्छ । सर्लाही-बलराको घटना भविष्यका लागि खतराको संकेत हो ।







हुप्सेकोटको घाँगी भीरमा निरन्तर धुँवाको
त्रिभुवनराजपथ भासिएपछि एकतर्फी यातायात सञ्चालन
नयाँ कोष थप्ने होइन, एकीकृत
बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक
मकवानपुरमा ट्राफिक कारबाही बढ्दा पनि
संक्रामक पशु रोगबाट प्रभावित किसानलाई