भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको कारण के थियो भन्ने विषय वैज्ञानिकहरू अझै खोतल्दैछन् ।अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (आइसिमोड) र साझेदारहरूको प्रारम्भिक मूल्यांकनले हिउँ र चट्टानको हिमपहिरो बाढीको सम्भावित कारण हुन् । तर, थप प्रमाणहरूले चट्टानसहितको हिमपहिरोतर्फ संकेत गरेको आइसिमोडका विपत् जोखिम न्यूनीकरणका इन्टरभेन्सन म्यानेजर सास्वत सन्यालले बताउनुभयो । उहाँका अनुसार बाढीको विशिष्ट कारणलाई प्रत्यक्ष रूपमा जलवायु परिवर्तनसँग जोड्न नसकिए पनि बढ्दो तापक्रमले हिन्दकुश हिमालय क्षेत्रको भौतिक अवस्थालाई परिवर्तन गर्दै लगेको बढ्दो प्रमाणहरू छन् ।
आइसिमोडले सन् २०२३ मा जारी गरेको एक रिपोर्टले हिन्दकुश हिमालय क्षेत्रको हिमनदीहरूमा अपरिवर्तनीय परिवर्तन भइरहेको देखाएको थियो, जुन मुख्य रूपमा जलवायु परिवर्तनबाट प्रेरित छ । यसले उच्च उचाइमा बढ्दो तापक्रम, द्रुत गतिमा हिमनदी पग्लने क्रम, हिउँको आवरण घट्दै जानु र हिउँ पर्ने क्रम अनियमित हुँदै गएको कुरालाई पनि उजागर गरेको छ । सन्याल उपलब्ध प्रमाणहरूको विश्लेषण गर्ने विज्ञहरूमध्ये एक हुन् ।
आइसिमोडले नेपाल सरकार, राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा विश्वभरका वैज्ञानिक र अनुसन्धानकर्तासँग सहकार्य गर्दै विपत् क्षेत्रको ड्रोन फुटेज, तस्वीर र अन्य तथ्यांकहरूको विश्लेषण गरिरहेको छ । ‘डायलग अर्थ’ सँगको कुराकानीमा सन्यालले वैज्ञानिकहरूलाई के थाहा छ, के अनिश्चित छ र विनाशको कति भाग रोक्न सकिन्थ्यो भन्नेबारे जानकारी गराउनुभएको छ । प्रस्तुत छ सन्यालसँग डायलग अर्थकी शालिनी कुमारीले गरेको संवादको नेपाली भावानुवाद :-
यो हिउँ-चट्टान हिमपहिरो थियो भन्ने प्रारम्भिक मूल्यांकनको आधार के हो ?
हामीले पत्ता लगाएको कुरा के हो भने यो हिउँ–चट्टानको हिमपहिरो नभई चट्टान-हिउँको हिमपहिरो थियो । जसमा बरफभन्दा बढी चट्टान थियो । यो पनि एउटा प्रारम्भिक बुझाइ हो र यसलाई फिल्ड डेटाबाट प्रमाणीकरण गर्नुपर्छ । माथिबाट एउटा ठूलो चट्टान निस्केको थियो र हिमनदी खसेको थियो । यद्यपि यो अनुमानित हो र यसलाई पुष्टि गर्न हामीलाई डेटा आवश्यक छ ।
त्यहाँ धेरै परिकल्पनाहरू चलिरहेका छन् । युनाइटेड स्टेट्स जिओलोजिकल सर्भेले भूकम्पहरू रेकर्ड गरेको थियो, तर हामीले पत्ता लगायौं कि यो ठूलो पिण्डको चालका कारण भएको हुनसक्छ । नेपालको जल तथा मौसम विज्ञान विभागबाट अर्को सिस्मिक आएको रिपोर्टहरू पनि छन् । के भएको थियो भनेर बुझ्न हामी फ्याक्टरहरूको चेकलिट प्रयोग गरेर सबै कुरालाई नकार्न प्रयास गर्दैछौं । त्यो विश्लेषण जारी छ र यसका लागि समय लाग्छ । हामीले हालै बुझेको कुरा के हो भने यो ग्लासियल लेक आउटबर्स्ट फ्लड नभई चट्टान–हिउँको हिमपहिरो थियो ।
मानिसहरूले अघिल्लै दिन घटनाबारे एसएमएस अलर्टहरू प्राप्त गरेका थिए । तर, चेतावनीसँगै ठ्याक्कै के गर्ने भन्नेबारे मानिसहरूलाई थाहा थिएन । हामीलाई लाग्छ कि चेतावनी मानिसहरूसम्म पुगेपछि सबै काम पूरा भयो । तर, त्यो चेतावनीलाई प्रारम्भिक कार्यको रूपमा के गर्नुपर्छ भन्नेमा रूपान्तरण गर्नु धेरै महत्त्वपूर्ण हुन्छ ।
ग्लसियल लेक आउटबर्स्ट फ्लड भनेको के हो ?
यो पिण्ड २६ गतेमात्रै खस्किएको हो वा त्यसअघिका परिवर्तनहरूले पनि बेडरकलाई कमजोर बनाउन र त्यसपछि आएको अचानक बाढीमा योगदान पुर्यायो र बाटामा गेग्रानहरू जम्मा भए, त्यो हामीलाई थाहा छैन ।
गतवर्ष सोही नदीमा आएको बाढीले यसलाई बढावा दियो कि दिएन भन्ने पनि हामीलाई थाहा छैन । करिब १३ महिना अगाडि घटेको त्यो घटनाबाट दुवैतर्फ क्षति गरेको थियो । यसले यी बाढीहरूको प्रभावलाई बढाएको हुनसक्छ । यो अर्को परिकल्पना हो, जसबारे हामीले अनुसन्धान गर्नुपर्छ । सन् २०१५ को भूकम्पले पनि भूमिका खेलेको हुनसक्छ । अन्य कुन-कुन पक्ष र कारकहरूले यसलाई प्रभावित गरेका हुन सक्छन् भनेर बुझ्न हामी धेरै नै सावधानी अपनाइरहेका छन् ।
के तपाईं हिमालयमा अन्तर्निहित जोखिमको परिदृश्य परिवर्तन भइरहेको संकेत देख्नुहुन्छ ?
यो पूर्णरूपमा परिवर्तन भइरहेको छ । तर, यसलाई जलवायु परिवर्तनसँग जोड्न समय लाग्नेछ । कारण पत्ता लगाउने प्रक्रियामा समय लाग्छ । हामी धेरै कारकहरू हेर्दैछौं । तर, प्रवृत्ति के छ भने जलवायु परिवर्तनका कारण हिन्दकुश हिमालय क्षेत्रमा तापक्रम वृद्धि भइरहेको छ । हिन्दकुश हिमालय क्षेत्रमामा पानी, बरफ, समाज र इकोसिस्टमसम्बन्धी हाम्रो रिपोर्टमा भनेझैँ यो तापक्रम वृद्धिले हालैको समयमा यस्ता विपत्हरूको तीव्रता बढाएको छ ।
हामी धेरै जटिल विपत्हरू देखिरहेका छौं । हामीले बुझ्नुपर्ने एउटा कुरा के हो भने अधिकांश पूर्वाधार योजनाहरू विगतको जोखिम मूल्यांकनमा आधारित छन् । योजना बनाउँदा सरकारहरूले जोखिमबारे सोचेको थिएन भन्ने होइन । वातावरणीय र सामाजिक प्रभाव मूल्यांकनहरू, साथै केही हदसम्म जोखिम मूल्यांकन हुन्छन् । तर यस क्षेत्रमा जोखिम अति गतिशील छ । यो परिवर्तन भइरहेको छ र जोखिम-सूचित योजना तथा लगानी लागू गर्न हामीले विगतमा गरेका केही प्रयासहरू भन्दा यो धेरै तीव्र गतिमा अगाडि बढिरहेको छ ।
हामीले वास्तवमै ड्रइङ बोर्डमा फर्किएर हिन्दकुश हिमालय क्षेत्रमा हामीसँग भएका विभिन्न जोखिम र परिदृश्यहरूलाई नक्सांकन गर्नुपर्छ । विपत् जोखिम विज्ञानमा तीनवटा फरक परिदृश्य छन् । पहिलो क्यास्केडिङ इम्प्याक्ट हो, जब एउटा घटनाले धेरै घटना निम्त्याउँछ । दोस्रो कम्पाउण्ड हो, जहाँ छोटो समयावधिमै दुई फरक विपत्हरू घट्छन् । तेस्रो एम्प्लिफिकेसन हो । मलाई लाग्छ हिमपहिरोमात्र हुनसक्छ भनेर सोच्नुको सट्टा संसारले विशेषगरी हिन्दकुश हिमालय क्षेत्रले यी सम्भावनाहरूप्रति सचेत हुनुपर्छ ।
हामीले देखेका घटनाहरूका कारण हिन्दकुश हिमालय क्षेत्रमा धेरै अनुसन्धान भएको छ । तर, पर्माफ्रोष्ट पग्लनेजस्ता घटना पनि छन्, जसले यसलाई अत्यन्तै अस्थिर बनाउँदैछ र सबै कुरालाई जटिल बनाउँदैछ । हामीले ग्लेशियरहरूको निगरानी गर्नेलगायत विभिन्न ट्रिगरहरूलाई अझ ध्यानपूर्वक हेर्नुपर्छ ।
हिमालयको भू-भाग र सञ्चार अवस्थालाई विचार गर्दा निगरानी प्रणालीले यस्तो घटनाको लागि यथार्थपरक रूपमा कति चेतावनी दिनसक्छ ? के त्यो मात्राको चेतावनी तल्लो तटीय मानिसहरूलाई कार्य गर्न सक्षम बनाउन पर्याप्त हुनेछ ?
हामीले के देखेका छौं भने चेतावनी र कार्यबीच एउटा खाडल थियो । यो चेतावनी प्रणालीले काम नगरेर भएको होइन । बाढीका लागि चेतावनी प्रणालीले काम गरेको थियो र हामीसँग जानकारी छ कि मानिसहरूले २६ गते घटनाको बारेमा एसएमएस अलर्टहरू प्राप्त गरेका थिए । तर, चेतावनीसँग ठ्याक्कै के गर्ने वा सुरक्षित रूपमा कहाँ इभ्याकुएट हुने भन्नेबारे मानिसहरूलाई थाहा थिएन । धेरैजसो समय, हामीलाई लाग्छ कि चेतावनी मानिसहरूसम्म पुगेपछि सबै काम पूरा भयो । तर, त्यो चेतावनीलाई प्रारम्भिक कार्यको रूपमा के गर्नुपर्छ भन्नेमा रूपान्तरण गर्नु धेरै महत्त्वपूर्ण हुन्छ । यही नै त्यो खाडल हो ।
त्यहाँ धेरै तीर्थयात्रीहरू र त्यस क्षेत्रका नगएका मानिसहरू थिए । तिनीहरूमध्ये केहीले हिन्दी बुझेका हुनसक्छन्, तर ठ्याक्कै के भइरहेको छ भनेर बुझ्न समय लाग्छ । धेरै मानिसहरू पनि यस क्षेत्रका थिएनन् । पर्वतीय समुदायहरू आफ्ना पहाडलाई धेरै राम्रोसँग बुझ्छन् र उनीहरूसँग रैथाने ज्ञान हुन्छ, तर यी बस्तीमा धेरै मानिस पोर्टमा काम गर्ने वा पर्यटकहरू ड्राइभ गर्ने आप्रवासीहरू, साथै पर्यटक आफैं हुन् ।
उनीहरूका लागि जोखिमहरू राम्ररी बुझ्नु ठूलो कुरा हो । यी जटिल जोखिमहरूप्रति यस क्षेत्रमा सचेतना जगाउन हामीले धेरै गर्नुपर्छ । धेरै मानिसहरूले चेतावनी प्राप्त गरे तापनि, उनीहरूले घटनाको परिमाण बुझ्न सकेका नहुन सक्छन् । उनीहरूले यसलाई सामान्य बाढीमात्र सोचेर आफ्नो समय लिएका हुनसक्छन् । भविष्यमा, प्रारम्भिक चेतावनीहरूले घटनाको परिमाण वा प्रकार स्पष्ट पार्नुपर्छ, साथै कहाँ इभ्याकुएट हुने र के कदम चाल्ने भन्ने पनि खुलाउनुपर्छ ।
यस्ता घटनाको अनुगमन कसरी गर्न सकिन्छ ?
हिउँ-चट्टान वा चट्टान–हिउँको हिमपहिरोको निगरानी गर्न धेरै गाह्रो छ । हामीले जताततै निगरानी स्टेसनहरू राख्न सक्दैनौं । तर कुन ग्लेशियरहरू बढी अस्थिर छन् भनेर हामी पहिचान गर्न सक्छौं, तिनीहरूको नक्सा बनाउन सक्छौं र सम्भवतः क्यामेरा वा जियोफोनहरू प्रयोग गरेर तिनीहरूको निगरानी गर्न सक्छौं ।
यसका उदाहरणहरू युरोपमा छन्, जसमा ब्ल्याटन पनि समावेश छ, जहाँ अधिकारीहरूले यस प्रकारको परिमाणको घटना हुनुअघि मानिसहरूलाई इभ्याकुएट गर्न सक्षम भए । तर, हिन्दकुश हिमालय क्षेत्र धेरै फरक छ । यसको परिमाण धेरै सानो छ र धेरै ठाउँहरूमा बस्ती छ, जबकि यहाँ हामी धेरै दुर्गम, प्रायः मानवविहीन क्षेत्रहरूको कुरा गर्दैछौं, जहाँ सेन्सरहरू राख्न धेरै गाह्रो छ । सायद अगाडि बढ्दै जाँदा हामी पृथ्वी अवलोकन डेटा प्रयोग गर्न सक्छौं ।
डेटा साझेदारीको विषयमा के चीन र नेपालबीचको सूचना आदानप्रदानमा खाडलहरू थिए ?
विपत्ले सीमाहरू मान्दैन । देशहरू विशेषगरी एकअर्काको माथिल्लो र तल्लो तटीय क्षेत्रमा रहेकाहरूसँगै आउनुपर्छ र विपत् सूचना-साझेदारीको लागि क्षेत्रीय संयन्त्र स्थापना गर्नुपर्छ । स्पष्ट रूपमा भन्नुपर्दा, यस क्षेत्रका सरकारहरूबीच पहिले नै तदर्थरूपमा सूचना साझेदारी भइरहेको छ, तर त्यहाँ कुनै स्थायी क्षेत्रीय संयन्त्र वा मानक सञ्चालन प्रक्रिया छैन ।
यस क्षेत्रका सबै देशहरूका लागि डेटा धेरै संवेदनशील हुन्छ । सीमापार वास्तविक समयको सूचना साझेदारी हुन सकोस् भनेर उनीहरूको डेटा-साझेदारी प्रोटोकल बुझ्न र आवश्यक स्वीकृतिहरू प्राप्त गर्न हामीले सरकारहरूसँग नजिकबाट काम गर्नुपर्छ ।
प्रारम्भिक चेतावनीलाई अगाडि बढाउन हामीले एक क्षेत्रको रूपमा सँगै काम गर्नुपर्छ । यो अन्तिम माइलसम्म पुग्नुपर्छ, ताकि चेतावनी र कार्यबीचको खाडल सकेसम्म कम होस् ।
के यो विपत्ले हिन्दुकुश हिमालयको अन्यत्र जोखिम मूल्यांकन गर्ने तपाईंको तरिका परिवर्तन गरेको छ ?
हामी लामो समयदेखि यी जोखिमहरूबारे कुरा गर्दै आएका छौं, तर यो विपत्ले हामीलाई क्यास्केडिङ, कम्पाउण्ड र एम्प्लिफाइङ विपत्हरूप्रति अझ फराकिलो र धेरै खुला तरिकाले छलफल गर्ने अवसर दिएको छ । राष्ट्रिय सिमानाभित्र मात्रै जोखिमहरूबारे कुरा गर्ने समय अब छैन । हामीले अब बृहत्तर क्षेत्रीय सहयोगतर्फ अगाडि बढ्नुपर्छ ।
यस क्षेत्रमा धेरै प्रणाली छन् जसको बारेमा हामी चिन्तित हुनुपर्छ । हामी प्रत्येक नदी प्रणाली वा हिमनदीमा ध्यान केन्द्रित गर्न सक्दैनौं, त्यसैले हामीले विशेषगरी ती क्षेत्रहरूमा ध्यान केन्द्रित गर्नुपर्छ, जहाँ तल्लो तटमा बस्तीहरू वा जलविद्युतजस्ता लगानी छन् । हामी पहिले तल्लो तटमा जलविद्युत कहाँ छ भनेर नक्सांकन गर्न सक्छौं र त्यसपछि जोखिमहरूका लागि माथिल्लो तटमा हेर्न सक्छौं ।
नेपालमा जलविद्युत आयोजनाहरू तीव्र रूपमा बढिरहेका छन् । बाढी र अन्य पर्वतीय जोखिमहरूबाट बढ्दो जोखिमलाई ध्यानमा राख्दै यो विस्तार दिगो छ र यी आयोजनालाई सुरक्षित रूपमा विकास गर्न कस्ता चेक र ब्यालेन्स आवश्यक छन् ?
हामीले स्वीकार्य जोखिमको बारेमा सोच्नुपर्छ र यो तबमात्र हुन्छ जब हामी माथिल्लो तटको जोखिमहरूलाई राम्ररी बुझ्छौं । जब हामी यस क्षेत्रमा जलविद्युत डिजाइन गर्छौं, हामी वातावरणीय र सामाजिक प्रभाव मूल्यांकनहरू, साथै केही जोखिम मूल्यांकन गर्छौं । तर, हामीले विस्तृत बहु-जोखिम जोखिम मूल्यांकनका आधारमा जलविद्युत स्थापना गर्न आवश्यक छ ।
हामीलाई भविष्यमा यी लगानीहरू चाहिन्छ, तर हामीले उचित जोखिम बुझाइको आधारमा कहाँ लगानी गर्ने भनेर छनौट गर्नुपर्छ । त्यो मूल्यांकनले क्यास्केडिङ, कम्पाउण्ड र एम्प्लिफाइङ जोखिमहरूलाई विचार गर्नुपर्छ । त्यसपछि मात्र हामी जलविद्युत स्टेसनहरूमा हुने जोखिमलाई कम गर्ने बारे सोच्न सक्छौं ।
यस विपत्बाट भएको जनधनको क्षति र विनाशको कति भाग यथार्थपरक रूपमा रोक्न सकिन्थ्यो ?
सत्य भन्नुपर्दा यो धेरै गाह्रो थियो । ठीक तल्लो तटमा रहेका मानिसहरूसँग बाँच्ने लगभग कुनै चान्स थिएन । बाढीको छाल यति उच्च गतिमा आयो कि केही किलोमिटर टाढा रहेका बस्तीहरूका लागि यो असम्भव थियो । तर, अलि टाढा रहेका तल्लो तटीय बस्तीहरूमा चेतावनी र एक्सनबीच खाडल नभइदिएको भए धेरै ज्यान बचाउन सकिन्थ्यो । कहिलेकाहीँ विगतका विपत्हरूको हाम्रो स्मृतिहरू हामी अगाडि बढ्दै जाँदा कम हुँदै जान्छन् । यो हाम्रो जिम्मेवारी हो कि यसलाई हाम्रो स्मृतिबाट हराउन नदिऔं । ताकि हामी अर्को पटक अझ राम्रो योजना बनाउन सकौं ।
हामीलाई पर्याप्त लिड टाइम दिन कुन उपकरणहरू नवीन बनाउन सक्छौं भनेर पनि सोच्नुपर्छ । बस्ती केही किलोमिटर तल छ, उचाइ, ठाडो र साँघुरो उपत्यकाहरूलाई विचार गर्दा यो लगभग असम्भव छ । तर, कम्तीमा पनि केही तल्लो तटीय समुदायहरूका लागि हामीले एक क्षेत्रको रूपमा थप काम गर्नुपर्नेछ ।
नेपाली भावानुवाद : डिबी शर्मा/हिमालय टाइम्स
तस्वीर : जितेन्द्रराज बज्राचार्य/आइसिमोड






टिपरको ठक्करबाट एक जनाको मृत्यु
भोटेकोशी बाढीपछि नेपालको प्रश्न :
तीन दिनमै ८७ हजारभन्दा बढी
मुक्त हलियाको समस्या स्थायी समाधान
साउदी अरेबियालाई ५ विकेटले हराउँदै
बालेनलाई गगनको सुझाव : ‘महासभामा