काठमाडौं । संघीय राजधानी काठमाडौंलाई देशका अन्य भू-भागसँग जोड्ने ‘लाइफलाइन’ सडक अवरुद्ध भएको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित चर्चित कृष्णभीरमा पहिरो गएपछि सडक पूर्णरूपमा अवरुद्ध भएको हो । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले सडकको जग काटेपछि कृष्णभीरमा पहिरो गएको हो ।
एकातिर विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङमा गरेको बर्बादी, अनि अर्कोतिर कृष्णभीरको पहिरोले राजधानीमा अर्को चिन्ता थपिएको छ । मानिसहरू आफ्नो घर, परिवार र सम्पत्ति गुमाएको पीडामा रहेकै बेला देशकै राजधानीसँग जोड्ने मुख्य सडक बन्द हुँदा लाखौँको दैनिक जीवन र आपूर्ति प्रणाली प्रभावित भएको हो ।
पहिरोसँगै अब यात्रा कसरी गर्ने भन्ने मात्र होइन, काठमाडौंमा चुलो कसरी बल्ने, खाद्यान्न र इन्धनको आपूर्ति कसरी हुने भन्ने चिन्ता थपिएको छ । तीन दिनदेखि यातायात ठप्प हुँदा काठमाडौं, धादिङ हुँदै चितवन, तनहुँ, कास्की र पश्चिम नेपालतर्फ आवतजावत गर्ने हजारौँ यात्री र दैनिक उपभोग्य वस्तु बोकेका गाडीहरू बाटोमै अलपत्र परेका छन् । त्रिशूली नदीले सडकको तलबाटै जमिन काटिरहेको छ । नदीको बहाव परिवर्तन भएर सडकतर्फ केन्द्रित भएको प्राविधिकहरूको भनाइ छ । नदीले सडकको जग कमजोर बनाइरहेको छ ।
राजधानीको ‘लाइफलाइन’ नै प्रभावित
कृष्णभीरमा सडक बन्द हुनुको प्रत्यक्ष प्रभाव काठमाडौंमा परेको छ । सामान्य अवस्थामा करिब तीन घण्टामा पूरा हुने हेटौँडा-काठमाडौं यात्रा अहिले पाँच घण्टासम्म लाग्न थालेको छ । वैकल्पिक सडक साँघुरा छन् । सवारी चाप अत्यधिक छ । त्यसैले विभिन्न स्थानमा गाडी रोकेर समूहगत रूपमा सञ्चालन गर्नुपरेको छ । एम्बुलेन्सलगायत अत्यावश्यक सवारीलाई प्राथमिकता दिइएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारीसमेत रहेका प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले पृथ्वी राजमार्गको विकल्पमा अन्य वैकल्पिक मार्गको प्रयोग गरिएको बताउनुभयो ।
साना सवारीलाई भीमफेदी, कुलेखानी, सिस्नेरी र दक्षिणकालीका सडक प्रयोग गर्न लगाइएको छ । अन्य सवारीका लागि त्रिभुवन राजपथ, कान्ति लोकपथ लगायतका वैकल्पिक मार्ग प्रयोग भइरहेका छन् । तर, यी सडक पृथ्वी राजमार्गको विकल्पका रूपमा निर्माण भएका थिएनन् । ठूला सवारीसाधन र निरन्तर ढुवानीको चाप धान्ने क्षमता सीमित छ । चाप बढ्दै जाँदा जाम, ढिलाइ र अर्को दुर्घटना वा पहिरोको जोखिम पनि बढ्नसक्ने विज्ञहरू बताउँछन् ।
सडक अवरुद्ध भएपछि काठमाडौंमा आपूर्ति व्यवस्थापन अर्को चुनौती बनेको छ । ठूला मालवाहक सवारीसाधनलाई समेत आकार र मार्गअनुसार फरक-फरक सडक प्रयोग गर्न लगाइएको छ । कतिपय ठूला ट्रकलाई प्रतिबन्ध लगाइएको छ भने खाद्यान्न, पेट्रोलियम र अन्य अत्यावश्यक सामग्रीलाई प्राथमिकता दिइएको छ ।
पुरानो घाउ फेरि बल्झियो
कृष्णभीरको पहिरो नौलो समस्या भने होइन । २०५० को अन्त्यतिर पनि कृष्णभीरमा यस्तै पहिरो खसेको थियो । त्यही पहिरोपछि चलचित्र ‘इन्द्रेणी’मा ‘झर्यो झर्यो कृष्णभीर... कृष्णभीर कटेसी छैन मनमा कुनै पीर’ भन्ने लोकप्रिय गीत नै बनेको थियो । २०५६ र २०५७ सालमा पनि कृष्णभीरमा ठूलो पहिरो गएको थियो ।
कृष्णभीरको भौगोलिक जोखिम कम गर्न पछिल्ला वर्षहरूमा ठूलो रकम खर्च गरिएको थियो । नागढुंगा–मुग्लिन सडक आयोजनाअन्तर्गत कृष्णभीरमा पहिरो नियन्त्रण, भर्टिकल पाइलिङ र होरिजेन्टल एन्करिङ लगायतका काम गरिएको थियो । सडकलाई बलियो बनाउन माइक्रो पाइलिङ, प्रबलित कंक्रिट पर्खाल र जमिनभित्र सोल नेल प्रयोग गर्ने डिजाइन बनाइएको थियो । २०६० मा करिब २० वर्षको आयु तोकिएर पहिरो नियन्त्रणका संरचना बनाइएपछि केही राहत मिलेको थियो । तर, भोटेकोशीको विनाशकारी बाढी त्रिशूलीमा मिसिएसँगै बढेको पानीको बहावले नदी किनारबाटै सडकको जग भत्काइदिएको हो । ६४–६५ करोड खर्चिएर गरिएको माथिल्लो तहको ‘माइक्रो पाइलिङ’ र ‘सोल नेलिंग’जस्ता महँगा प्रविधिहरू पहिरोसँगै त्रिशूलीमा मिसिएका छन् ।
भूगर्भविद् र पुराना वैज्ञानिक अनुसन्धानका चेतावनीलाई राज्यले बेवास्ता गर्दा आज फेरि लाइफलाइन सडकमा ठूलो क्षति भएको विश्लेषण भइरहेको छ । त्यसबेला निर्माण गरिएका पर्खाल र अन्य संरचनाको आयु २० वर्ष निर्धारण गरिएको थियो । अहिले त्यही संरचनाको आयु सकिएपछि फेरि सडक ठप्प हुनेगरी पहिरो खसेको हो । २०७३ सालमा प्रकाशित एउटा शोधपत्रले कृष्णभीरको भौगर्भिक संवेदनशीलता र कमजोर चट्टानी संरचनाबारे विस्तृत अध्ययन गरेको थियो । यस क्षेत्रमा कमजोर र खिइएका चट्टान रहेको तथा पहिरोको जोखिम पुरानै रहेको अध्ययनले देखाएको थियो ।
सडक खुलाउन कम्तीमा दुई साता लाग्ने
सडक विभागले कृष्णभीरको अवरुद्ध सडक सञ्चालनमा ल्याउन कम्तीमा १० देखि १५ दिन लाग्नसक्ने जनाएको छ । प्राविधिक तथा भौगर्भिक विज्ञहरूको टोली घटनास्थलमा परिचालन गरिएको छ । सडकको तल्लो भाग नदीले काटेको र माथिल्लो भागमा समेत चिरा परेको प्रारम्भिक निष्कर्ष छ । तत्कालका लागि जोखिमयुक्त माटो र संरचना हटाएर सिंगल लेन डाइभर्सन निर्माण गर्ने सम्भावनाबारे पनि अध्ययन भइरहेको छ ।
सडक विभागका अधिकारीहरूले अब नदी करिडोरमा बन्ने राजमार्गलाई थप दिगो र विपत्–प्रतिरोधी बनाउनुपर्ने आवश्यकता औँल्याएका छन् । सडकको उचाइ बढाउने, वैकल्पिक लिंक विकास गर्ने, अग्ला पुल बनाउने र आवश्यक स्थानमा सुरुङ निर्माण जस्ता उपायबारे सोच्नुपर्ने उनीहरूको भनाइ छ । सुरुआती लागत बढे पनि दीर्घकालमा टिकाउ पूर्वाधारमा लगानी गर्नुपर्ने निष्कर्षमा विभाग पुगेको छ ।
लाइफलाइन सडक खुलाउन चाल्नुपर्ने सबै कदम चाल्छौँ : सहसचिव ढकाल
सडक विभागका सहसचिव चुणाराज ढकालले बाढीको ठूलो बहावका कारण सडकको तल्लो भाग कटान भएको र माथिल्लो भूभागमा समेत चिरा परेकाले पहिरो खसेको बताउनुभयो । राजमार्गलाई उच्च प्राथमिकतामा राखेर तत्काल सञ्चालन गर्नेगरी काम अघि बढाइने उहाँले जानकारी दिनुभयो । विज्ञहरूको टोलीबाट प्राविधिक राय लिएर सम्भव भएसम्म १० देखि १५ दिनमा राजमार्ग खुलाउने प्रयत्न गर्ने उहाँको भनाइ छ । ‘राजमार्ग खुलाउनलाई सडक विभागले हाइप्रायोरिटी दिएको छ । राजमार्ग खुलाउने र पारीबाट वैकल्पिक मार्गहरू पनि प्रयोग गर्ने गरी काम गर्छौं’, उहाँले भन्नुभयो, ‘यो नेपालकै लाइफलाइन भएकाले उच्च प्राथमिकता दिएर तत्काल गर्नुपर्ने सबै कदम चाल्छौँ ।’
संकटमा सर्वसाधारणको घरमा ग्यास पुर्याउन सबैले मिलेर काम गर्नुपर्छ : मन्त्री यादव
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले ग्यास ढुवानीमा आफैँ अग्रसर हुन होटल व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ । बाढीका कारण काठमाडौं उपत्यकामा ग्यास आपूर्ति असहज बनेपछि सरकारले सुरक्षा र सहजीकरणको पूर्ण ग्यारेण्टी गर्ने भन्दै क्षमता भएका ठूला होटलहरूलाई आफ्नै गाडीमार्फत ग्यास ल्याएर संकटमा सहयोग गर्न उहाँले अपिल गर्नुभएको हो । मन्त्रालयमा बिहीबार होटल व्यवसायीहरूसँग आयोजित छलफलमा बोल्दै मन्त्री यादवले पृथ्वी राजमार्गको कृष्णभीरलगायत स्थानमा सडक अवरुद्ध हुँदा ठूला ग्यास बुलेट आउन नसकेको बताउनुभयो । विषम परिस्थितिमा सर्वसाधारण उपभोक्ताको चुलो बल्न दिनु सरकारको पहिलो प्राथमिकता रहेको उहाँको भनाइ थियो ।
यता, होटल व्यवसायीले भने सरकारी नीतिप्रति आपत्ति जनाएका छन् । होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेशकुमार चुकेले निगमको निर्णयले समग्र पर्यटन तथा होटल क्षेत्रमा गम्भीर असर पार्ने बताउनुभयो । सरकारले एकातिर पर्यटनलाई आम्दानीको मुख्य स्रोत मानेर प्रवर्द्धन गर्ने नीति लिने र अर्कोतिर पर्यटकलाई खानासमेत नदिने खालको अव्यावहारिक नियम ल्याउनु विडम्बनापूर्ण भएको उहाँको भनाइ छ ।
काठमाडौंमा ग्यास आपूर्ति प्रभावित, व्यावसायीले आफैँ सिलिण्डर लगेर भर्नुपर्ने
पृथ्वी राजमार्ग बन्द भएको केही दिनमै काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको आपूर्ति प्रभावित हुन थालेको छ । इरान युद्धका कारण यसअघि नै प्रभावित खाना पकाउने ग्यासको आपूर्ति कृष्णभीर पहिरोसँगै थप समस्या भएको हो । ग्यास र पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन बाटोमै रोकिएका छन् । नेपाल आयल निगमले ग्यासको बिक्री वितरणमा घरायसी उपभोक्तालाई प्राथमिकता दिन आग्रह गरेको छ । ठूला होटल, रेस्टुरेन्ट तथा व्यावसायिक प्रयोजनका ग्यास उपभोक्तालाई भने सम्भव भएसम्म आफैँ उपत्यका बाहिरका बोटलिङ प्लान्ट पुगेर सिलिण्डर भरेर ल्याउन भनिएको छ । काठमाडौं उपत्यकामा दैनिक ३५ देखि ४० हजार ग्यास सिलिण्डर आवश्यक पर्छ । तर, सडक बन्द भएपछि ग्यास बुलेट काठमाडौं प्रवेश गर्न नसक्दा आपूर्ति व्यवस्थापन जटिल बनेको हो ।
अब उपत्यकाबाहिर भरिएका सिलिण्डर ट्रक वा अन्य साना सवारीमार्फत काठमाडौं ल्याउनुपर्ने अवस्था आएको छ । ग्यासको आपूर्ति सहज बनाउन हेटौँडा हुँदै भरिएको ग्यास सिलिण्डर ल्याउने तयारी गरिएको छ । सडक अवरुद्ध हुँदा एलपी ग्यास बोकेका बुलेट काठमाडौं उपत्यका प्रवेश गर्न नसक्ने भएपछि ग्यास आपूर्ति सहज बनाउन मन्त्रालयले नेपाल आयल निगम, एलपी ग्यास उद्योगी तथा व्यवसायी र सम्बन्धित निकायसँग निरन्तर समन्वय र सहजीकरण गर्ने बताएको छ ।







त्रिभुवनराजपथ भासिएपछि एकतर्फी यातायात सञ्चालन
नयाँ कोष थप्ने होइन, एकीकृत
बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक
मकवानपुरमा ट्राफिक कारबाही बढ्दा पनि
संक्रामक पशु रोगबाट प्रभावित किसानलाई
त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईँ समर्थक