नमागिएको सल्लाह :
विपत््का घटना नेपालमा मात्र होइन विश्वका सबै कुनामा भइरहेकै हुन्छन् । नेपाललाई कठिन भूगोल र गलत विकासनीति भएका कारण विपत््को सामना गर्नुपर्दा तंग्रिन कठिन भइरहेको छ । घटनाहरू अरू महिनामा पनि भइरहेका हुन्छन् तर लामो समयदेखि भदौ महिनामा प्राकृतिक विपत््देखि लिएर मानवसिर्जित विपत््का घटना भइरहेका छन् । भदौ महिना, नेपाली संस्कार संस्कृतिमा अपशकुन अथवा नराम्रो महिना त मानिँदैन तर लामो समयदेखि यस महिनामा घटित घटनाहरूले नेपाली समाजलाई अगाडि बढ्न बाधा गरिरहेको छ । मनसुनी लगातार वर्षाको कारण कमजोर भएको भूवनोट र वर्षायाम समाप्तिसँगै विष्फोट हुने जनअसन्तोषका कारण होला भदौ महिना समस्यापूर्ण महिनाको रूपमा देखा पर्दै आएको छ ।
१० गते बुधबारका दिनको सूर्योदयको केही घण्टाभित्रै भएको हिमाली सुनामीले नेपालको अर्थतन्त्रका दुई मेरुदण्ड जलस्रोत र पर्यटन क्षेत्रलाई नकारात्मक रूपमा प्रभावित गर्यो । नेपाल-चीन सीमाबाट करिब बीस किलोमिटर उत्तरपूर्वको विशाल हिमचट्टानको पहिरोको कारण केही समय थुनिएको लेन्दे खोलामा आएको विशाल ऊर्जासहितको हिउँका डल्ला र अन्य गेग्य्रानसहितको बाढी भोटेकोशी हुँदै त्रिशूलीमा मिसियो ।
भदौ महिना र विपत्
विसं १८९० भदौ १२ गते नेपाल र छिमेकी भारतका केही क्षेत्रलाई प्रभावित गर्नेगरी ७.९ माग्निच्युडको भूकम्प गएको थियो । त्यसमा ५०० भन्दा बढी मानिसको मृत्यु भएको थियो । विसं २०११ साल भदौमा राप्ती र लोथार खोलामा आएको भीषण बाढीले चितवनको ठूलो क्षेत्रमा डुबान भएको थियो । ठूलो धनजनको क्षति भएको थियो । २०४५ साल भदौ ५ गते उदयपुर जिल्ला केन्द्रबिन्दु भएर ६.९ म्याग्निच्युडको भूकम्प गएको थियो । ७०० भन्दा बढी मानिसको मृत्यु भएको थियो भने लगभग सात हजार मानिस घाइते भएका थिए । एकाबिहानै मानिसहरू सुतिरहेको समयमा भूकम्प गएका कारण यो घटना त्रासदीपूर्ण थियो । २०५५ भदौमा स्याङ्जा जिल्लामा विशाल पहिरो जाँदा गाउँ नै बगेर ५५ जनाभन्दा बढीको मृत्यु भएको थियो ।
२०६१ भदौ १६ गते इराकमा अपहरित १२ नेपालीलाई निर्ममतापूर्वक हत्या गरिएको भिडियो सार्वजनिक भएपछि काठमाडौंमा भड्किएको हिंसाका कारण रोजगार कम्पनी, एअरलाइन्स, मस्जिदहरू आक्रमणका सिकार बनेका थिए । साम्प्रदायिक सद्भाव बिग्रने परिस्थितिलाई सावधानीपूर्वक व्यवस्थापन गरिएको थियो । २०६५ भदौ १६ गते सप्तकोशी नदीले तटबन्ध भत्काएर वर्षौं पहिलेको पुरानो धारमा फर्किएको कारण ठूलो बस्ती विस्थापनमा परेको थियो । २०७२ भदौ ७ गते प्रदेश सीमांकनविरुद्ध कैलालीको टीकापुरमा भएको प्रदर्शन हिंसात्मक बनेपछि प्रहरी उपरीक्षकलगायत आठजना सुरक्षाकर्मी र नाबालकको समेत मृत्यु भएको थियो । २०७७ भदौ ३ देखि केरोना कहरको दोस्रो चरण आएको कारण काठमाडौं उपत्यकालगायत क्षेत्रमा निषेधाज्ञा जारी गरिएको कारण अर्थतन्त्र ठप्प भएको थियो ।
२०७८ भदौमा डेंगी महामारीको कारण ५४ हजार जनसंख्या प्रभावित बनेको थियो भने दर्जनौं संख्यामा मानिसहरूको मृत्यु भएको थियो । २०८२ भदौ २३ गते भएको प्रदर्शनमा हताहती भएको कारण २४ गते नेपाल सरकारको प्रमुख सचिवालय सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन, प्रहरी निकाय, भाटभटेनीलगायतका निकायमा बर्बर आक्रमण गरेर राष्ट्रिय धरोहरहरूलाई तहसनहस बनाइएको थियो । यस्तो अवस्थामा देश जोगाउनुपर्ने नेपाली सेनासमेत मूकदर्शक बनेको थियो । भाटभटेनी सुपर स्टोर आगजनी गरी खेलौंना चोरी गरेर लगिरहेको भिडियो सार्वजनिक हुँदा पनि ग्लानिबोध नगरी क्रान्तिकारी रूपमा प्रस्तुत हुने जेनजीहरूको हर्कतले नेपाली समाजलाई नै लज्जित बनाइरहेको थियो ।
२०८३ भदौ १०
यस दिनको सूर्योदयको केही घण्टाभित्रै भएको हिमाली सुनामीले नेपालको अर्थतन्त्रका दुई मेरुदण्ड जलस्रोत र पर्यटन क्षेत्रलाई नकारात्मक रूपमा प्रभावित गर्यो । नेपाल–चीन सीमाबाट करिब बीस किलोमिटर उत्तरपूर्वको विशाल हिमचट्टानको पहिरोको कारण केही समय थुनिएको लेन्दे खोलामा आएको विशाल ऊर्जासहितको हिउँका डल्ला र अन्य गेग्य्रानसहितको बाढी भोटेकोशी हुँदै त्रिशूलीमा मिसियो । थोरै पानी र धेरै ढुंगा, माटो, बालुवा, हिउँका डल्ला भएको लेदोको विशाल र कहालीलाग्दो धेरै उचाइबाट कम उचाइमा आएको र साँघुरो खोंचको बाटोबाट हिँडेको ज्यानमारा बाढीले तटीय बस्ती, सडक, पुल, जलविद्युत आयोजना, भन्सार संरचना, व्यावसायिक केन्द्रहरू बगायो । नेपालको व्यापारको बढी चल्ने नाकाका संरचना तहसनहस भएर उजाड बनायो ।
बेत्रावती-स्याफ्रुबेँशी-रसुवागढी जोड्ने सडक अधिकांश पूर्णरूपमा क्षतिग्रस्त भएको छ । पृथ्वी राजमार्गको लेदोले ढाकिएको क्षेत्रलाई सफा गरी सवारी चल्न थालेपछि गएका ठूला पहिरोका कारण राजधानी काठमाडौंको लाइफलाइनको रूपमा रहेको बाटो बन्द भएको छ । यसले गर्दा राजधानी उपत्यकालगायतको आपूर्ति शृंखला प्रभावित भएको छ । बजारमा इन्धनलगायत सामानको अभाव हुनथालेको छ । प्रारम्भिक जानकारी अनुसार रसुवा र नुवाकोटमा गरी १२ जलविद्युत आयोजना, चार दर्जन जति पुल क्षतिग्रस्त बनेका छन् । मर्मतसम्भार हुने अवस्था पनि कमजोर छ । भइहाले पनि धेरै खर्चिलो छ ।
मृत्यु र बेपत्ता हुनेको संख्या अहिले केही हजार देखिए तापनि यो संख्या ह्वात्तै बढ्ने सम्भावना छ । ग्रामीण क्षेत्रको सूचना संकलन गर्न बाँकी रहेको, स्थानीय जनप्रतिनिधि नै बेपत्ता भएको, तिनका परिवारका सदस्य बेपत्ता भएका कारण सम्हालिन कठिन भएको, परिवारका सदस्य बेपत्ता भएकाहरू सम्पर्कमा आइनसकेका कारण अहिलेको संख्या प्रारम्भिक भन्न सकिने आधारहरू पर्याप्त रहेका छन् । सर्वसाधारण जनतामा परेको आघातको वर्णन गर्न सकिने अवस्था छैन । काख रित्तएको छ, कोख रित्तिएको छ । परिवारका सबै सदस्य बाढीमा विलीन भएका छन् । कसैकसैको मात्र शव भेटिएको छ । धेरैको अवस्था अज्ञात छ । लास पाउनसक्ने अवस्था नै कम छ ।
बालबालिका टुहुरा भएका छन् । पढ्ने विद्यालय बाढीले बगाएको छ । घरवास भन्नु अस्थायी होल्डिङ सेन्टर हो । आज के गर्ने, भोलि कहाँ जाने अन्यौल छ । नेपालको टालटुले र सञ्जाले उद्धार राहतको कुरा बुझेका पीडितहरू मानसिक सन्तुलन गुमाउँनुपर्ने अवस्थामा छन् । सरकारले गरेका उद्धारका प्रयास उपलब्धिमूलक बन्न सकेका छैनन् । सामाजिक सञ्जाल हेर्दा सबै मिलेजस्तो देखिए तापनि वास्तविक पीडितहरूसम्म पीडा कम गर्ने राहत पुग्न सकेको छैन ।
कसरी भयो अनपेक्षित धनजनको क्षति ?
बाढीसँग सम्बन्धित विशेषज्ञका अनुसार हाम्रो पुस्ताले देख्दै आएको बाढी १०/१५ प्रतिशत बालुवालगायत गेग्य्रान र ८५/९० प्रतिशत पानी भएको बाढी हो । जसको स्वभाव तुलनात्मक रूपमा शान्त र बिस्तारै बढ्दैजाने हुन्छ । यसलाई भोग्न र व्यवस्थापन गर्न पनि सजिलो हुन्छ । यसलाई सामान्य बाढी भनिन्छ । अर्को हुन्छ–४०/४५ प्रतिशत बालुवा, गिट्टी र ५५/६० प्रतिशत पानी भएको बाढी यसले मध्यम प्रभाव पार्छ, पानीको मात्रा कम भएका कारण लेदो बगिरहेको हुन्छ, यसको शक्ति धेरै हुन्छ र यसले पहिलेको बाढीको भन्दा धेरै नोक्सानी गर्दछ । तेस्रो हुन्छ ७५/८० प्रतिशत बालुवा, ढुंगा, मुढा, रूख, भत्केका पुलपुलेसा र २०/२५ प्रतिशत पानी भएको बाढी ।
घरलगायतका संरचनासमेत बगाउँदै आँधी र सुनामीजसरी ठूलो गर्जन, उचाइ र आयतनसहित आउने उच्च गतिको डेब्री फ्लो । चीनको सिमानाबाट रसुवा क्षेत्रसम्म उच्च गतिको डेब्री फ्लोको रूपमा र नुवाकोटको तल्लो भागतिर मध्यम गतिको डेब्री फ्लोको रूपमा आएको भनिएको छ । धादिङ गल्छीतिर आएपछि पानीको मात्रा बढी डेब्रीहरू कम भएको अवस्था रहेको भनेर त्यसदिनको बाढीलाई तीन भागमा विश्लेषण गरिएको छ । पानीमा घुलनशीलता बढे तापनि ठूला कन्क्रिटका घर र पुलपुलेसाका ठूला अवशेषसमेत बगाएका कारण यो बाढी बढी क्षति गर्नसक्ने अवस्थाको थियो ।
बाढी–पढाइमा कमै पढिने कन्क्रिट मिश्रणको अवस्था यो विपलमा देखियो । सुरुमा हिमचट्टानमा पहिरो गई नदी क्षेत्रमा आउँदाको गतिको तीव्रताको कारण ४.४ म्याग्निच्युडको भूकम्पले पैदा गर्ने शक्ति उत्पन्न भएको बताइएको छ ।
राहत र उद्धारको विषयमा एउटा पक्षले अर्को पक्षलाई आलोचना गर्ने नेपाली परम्परा भए तापनि यसमा राहतको क्षमता खासै बढ्न सकेको छैन । यसपालि नेपाली सेनाको सक्रियता पहिलेभन्दा बढी देखिएको छ तर कर्मचारी वर्गको सक्रियता पहिलेको तुलनामा कमजोर छ । यसको कारण कर्मचारीप्रतिको अहिलेको सरकारको हेपाहा दृष्टिकोण र घट्दो उत्प्रेरणाको परिस्थितिमा रहेको निजामती सेवा हो ।
विशेषज्ञहरूले यसरी जहाँ जे पायो त्यसलाई लपेटेर र बोकेर तीव्र गतिमा आउँने बाढीलाई ट्रान्सपोर्ट जोन भन्ने गरेका छन् । यो विपत्मा धनजनको अकल्पनीय क्षति हुनमा केही कारण छन् । बाढीको अनौठौ स्वरूपका बारेको अनभिज्ञताको कारण धेरै क्षति भयो । सूचना १५/ २० मिनट अगाडि प्रवाह भयो । उक्त सूचनालाई सामान्य बाढी हो भन्ने बुझाइ भयो र सेल्फी खिच्ने र आएपछि भागौंला भन्ने मनोविज्ञानले पनि जनको क्षति बढी भयो । समयको अल्पताको कारण धन जोगाउँन सकिने अवस्था थिएन । माथिल्लो रसुवा क्षेत्रमा रहेका जनताले त यो १५/२० मिनटको समय पनि नपाएको कारण ऐया भन्ने अवस्था पनि नरहेको हुन सक्दछ ।
किन कमजोर बन्दैछ हिमाली क्षेत्र ?
यसको सामान्य जवाफ मौसमी परिवर्तन भन्न सकिन्छ । हिमाली क्षेत्रमा ०.२८ डिग्री सेल्सियसले तापक्रम बढिरहेको आँकडालाई आधार मान्दा हिमाल तातिरहेको छ भन्न सकिन्छ । विकसित देशहरूले भौतिक विकासको प्रतिस्पर्धाको कारण बढी कार्बन उत्सर्जन गरेकाले पृथ्वी तातो भयो । त्यो उष्णताको प्रभाव हिमाली क्षेत्र पनि पर्यो । दोस्रो कारण–जीवाश्म इन्धनको प्रयोग । खाना पकाउनेसमेत कामका लागि ग्यास, पेट्रोल, डिजेल, मट्टितेल आदिको प्रयोगका कारण हिमालय क्षेत्रमा उष्णता बढेको भन्नेछ । तेस्रो तर सानो कारण मानिसको पिसाब हिमाली क्षेत्रमा बिसर्जन गर्न पाउने कारणले हिमाल तातो भएको भन्ने अनुसन्धान प्रतिवेदन रहेको छ । मानिसको मल फिर्ता ल्याउनुपर्ने तर मूत्र त्यही बिसर्जन गर्न सकिने व्यवस्थालाई परिवर्तन गर्नुपर्ने भन्ने विज्ञहरूको सुझाब रहेको छ ।
राहत, उद्धार र बस्ती स्थानान्तरण
राहत र उद्धारको विषयमा एउटा पक्षले अर्को पक्षलाई आलोचना गर्ने नेपाली परम्परा भए तापनि यसमा राहतको क्षमता खासै बढ्न सकेको छैन । यसपालि नेपाली सेनाको सक्रियता पहिलेभन्दा बढी देखिएको छ तर कर्मचारी वर्गको सक्रियता पहिलेको तुलनामा कमजोर छ । यसको कारण कर्मचारीप्रतिको अहिलेको सरकारको हेपाहा दृष्टिकोण र घट्दो उत्प्रेरणाको परिस्थितिमा रहेको निजामती सेवा हो । पहिलेका मुख्य सचिवहरू मन्त्रिपरिषद् बैठकमा खुला राय सल्लाह राख्ने अवस्थामा थिए भने अहिले शुद्ध कारिन्दा । अहिलेको सरकारलाई राजनीतिक परिचालन, जनपरिचालन, राज्यसंयन्त्रको संस्थागत सबलीकरणको माध्यमबाट राज्य कठिन चुनौतीमा लड्नसक्छ भन्ने ज्ञान छैन अथवा त्यस ज्ञानमा अहंकारको ग्रहण लागेको छ ।
नेपालमा उदारीकरणको सुरुवात भएसँगै बाटोघाटोको तीव्र विकास भयो । बाटाहरू खोलालाई आधार बनाएर निर्माण गरिए । सुगमता र आयआर्जनका हिसाबले नदी क्षेत्रमा वस्तीहरू बसे तर सांसारिक र मौसमी परिस्थितिमा बदलाव आयो । अब, खोलाकिनारमा बस्ती बसाउँने विषयमा पुनर्विचार गर्नुपर्ने अवस्था बन्यो । बस्ती स्थानान्तरण र सघन बस्ती विकासको अनिवार्यता बढ्दै गएको छ । अन्यथा भदौरे प्रकोपले स्थायी रूपमा घरजम नगर्ला भन्न सकिँदैन ।
क्रमशः







प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै
उत्तरगयाका १६५ बाढीपीडित परिवारलाई पोखराबाट
आज ऋषिपञ्चमी : ऋषेश्वर मन्दिरमा
बाढीले क्षति पुर्याएका झोलुङ्गे पुल
प्रधानमन्त्री राहत कोषमा मौज्दात रु
कन्काइ पुल १४ वर्ष अलपत्र