काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण थुनिएको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा नौ दिनदेखि जारी खोज तथा उद्धारका क्रममा शुक्रबार मानिसको आवाज सुनिएको जानकारी प्राप्त भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा ऊर्जा विभाग प्रमुख श्रीराम न्यौपानेले उद्धारमा खटिनुभएका नेपाली सेनाका सदस्यहरूबाट सुरुङभित्र मानिस बोलेको आवाज सुनिएको जानकारी आफूले प्राप्त गरेको बताउनुभएको छ ।
उहाँका अनुसार सुरुङभित्रबाट मानिसको आवाज सुनिनु खोज तथा उद्धारका लागि आशाजनक संकेत हो । आवाज सुनिएको जानकारी प्राप्त भएपछि नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङभित्र प्रवेश गरी खोज तथा उद्धार कार्यलाई थप तीव्र बनाइरहेको उहाँले बताउनुभएको छ ।
न्यौपानेले बिहीबार साँझसम्म इन्जिनियरको भूमिकामा आयोजनास्थलमै रहेर उद्धार तथा खोजी कार्यमा संलग्न हुनुभएको जानकारी दिनुभएको छ । उहाँले सुरुङभित्र फसेका व्यक्तिहरूको अवस्था यकिन गर्न प्राविधिक तथा सुरक्षा टोलीले निरन्तर प्रयास गरिरहेको बताउनुभएको छ ।
उहाँले अब सांसदको हैसियतमा हेलिकप्टर प्रयोग नगरी पैदल जनसंवाद गर्दै विदुर पुग्ने र त्यहाँबाट सवारीसाधनमार्फत काठमाडौं फर्कने तयारी गर्नुभएको बताउनुभएको छ ।
सुरुङभित्रबाट मानिसको आवाज सुनिएको जानकारीसँगै उद्धारमा खटिएका टोली र आफन्तमा आशा बढेको छ । यद्यपि सुरुङभित्र कति जना व्यक्ति जीवित अवस्थामा रहेको भन्ने विषयमा भने तत्काल यकिन भइसकेको छैन ।
न्यौपानेले खोज तथा उद्धारमा खटिनुभएका नेपाली सेना, सशस्त्र प्रहरी, प्राविधिक टोलीलगायत सम्पूर्ण उद्धारकर्मीप्रति सम्मान व्यक्त गर्नुभएको छ । उहाँले सुरुङभित्र फसेकाहरूको सकुशल उद्धारको सुखद खबर छिट्टै प्राप्त हुने आशा व्यक्त गर्नुभएको छ ।
भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा ठूलो मात्रामा माटो, ढुंगा तथा अन्य सामग्री थुप्रिएपछि सुरुङभित्र फसेकाहरूको खोजी तथा उद्धार चुनौतीपूर्ण बनेको छ । सुरक्षा निकाय र प्राविधिक टोलीले उपलब्ध प्रविधि तथा उपकरणको प्रयोग गर्दै लगातार उद्धार प्रयास गरिरहेका छन् ।







ब्याज मिनाहा गरी ऋण नविकरण
भदौ २४ को घटना नेपालको
बाजुरामा खोलाले बगाउँदा किशोर बेपत्ता
उखु बेचेको छ महिना बित्दा
अमेरिकी सेनाद्वारा थप पाँच इरानी
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न