काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण थुनिएको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा नौ दिनदेखि जारी उद्धारका क्रममा शुक्रबार उद्धारकर्मी र सुरुङभित्र फसेका व्यक्तिबीच संवाद भएको छ ।
उद्धार कार्यमा संलग्न टोलीका अनुसार सुरुङभित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि भएको छ । उद्धारकर्मीले सुरुङभित्र रहेका व्यक्तिहरूलाई ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भनेपछि भित्रबाट ‘हुन्छ’ भन्ने प्रतिक्रिया प्राप्त भएको जनाइएको छ ।
सुरुङभित्र फसेका व्यक्तिसँग प्रत्यक्ष संवाद हुनुलाई उद्धार कार्यका लागि महत्वपूर्ण तथा आशाजनक संकेतका रूपमा लिइएको छ । यससँगै सुरुङभित्र फसेका व्यक्तिहरू जीवितै रहेको आशा थप बलियो भएको छ ।
नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङभित्र प्रवेश गरी खोज तथा उद्धार कार्यलाई तीव्र बनाइरहेको छ । सुरुङभित्रको कठिन अवस्थाका बाबजुद उद्धारकर्मीहरूले फसेका व्यक्तिहरूसम्म पुग्ने प्रयासलाई निरन्तरता दिइरहेका छन् ।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा ऊर्जा विभाग प्रमुख श्रीराम न्यौपानेले पनि उद्धारमा खटिनुभएका नेपाली सेनाका टोलीबाट सुरुङभित्र मानिस बोलेको आवाज सुनिएको जानकारी प्राप्त भएको बताउनुभएको थियो ।
न्यौपाने बिहीबार साँझसम्म इन्जिनियरको भूमिकामा आयोजनास्थलमै रहेर खोज तथा उद्धार कार्यमा संलग्न हुनुभएको थियो । उहाँले उद्धार कार्यमा खटिनुभएका नेपाली सेना, सशस्त्र प्रहरी, प्राविधिक टोली तथा सम्पूर्ण उद्धारकर्मीप्रति सम्मान व्यक्त गर्दै सुरुङभित्र फसेकाहरूको सकुशल उद्धार हुने आशा व्यक्त गर्नुभएको छ ।
भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा ठूलो मात्रामा माटो, ढुंगा तथा अन्य सामग्री थुप्रिएपछि सुरुङभित्र रहेका व्यक्तिहरूको उद्धार चुनौतीपूर्ण बनेको छ । नौ दिनदेखि निरन्तर उद्धार प्रयास भइरहेको अवस्थामा शुक्रबार सुरुङभित्रबाट प्रतिक्रिया आउनुलाई उद्धार अभियानकै सबैभन्दा महत्वपूर्ण प्रगतिका रूपमा हेरिएको छ ।
उद्धार टोलीले सुरुङभित्र फसेकाहरूको अवस्थालाई प्राथमिकतामा राख्दै उनीहरूसम्म सुरक्षित रूपमा पुग्ने प्रयास गरिरहेको जनाएको छ ।







भोटेकोशी बाढी : एक हजार
बाढी प्रभावित जिल्लाहरुमा राहत तिब्र,
क्यासिनोमा नेपाली प्रवेश गराई जुवा
पहिरोको जोखिम मोलेर बजारसम्म कृषि
बाढीपछि रसुवामा हैजाविरुद्ध २१ हजार
कृष्णभीरमा खोलिएको ‘ट्रयाक’ लाई फराकिलो