काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘ग्रीन आर्मी’ नामक समूहको गतिविधि, तालिम, परिचय तथा आर्थिक स्रोतबारे सरकारसँग स्पष्ट जानकारी माग्नुभएको छ।
शुक्रबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्ने क्रममा अध्यक्ष ओलीले उक्त समूहको उद्देश्य र परिचालनबारे प्रश्न उठाउनुभएको हो।
अध्यक्ष ओलीले ‘ग्रीन आर्मी’ले २०७२ सालको भूकम्प तथा कोभिड–१९ महामारीका समयमा राहत पुर्याएको दाबीको खण्डन गर्नुभयो। नेपाली सेनाको ‘चुस्ता’ जस्तै देखिने पोशाक, बुट तथा कतिपय व्यक्तिले दज्र्यानी चिह्नसमेत प्रयोग गरेकोप्रति आपत्ति जनाउँदै उहाँले त्यसको कानुनी आधार र खर्चको स्रोतबारे प्रश्न गर्नुभयो।
करिब ७० हजार जनशक्ति रहेको दाबी गरिएको उक्त समूहको पोशाक, बुट र परिचालन खर्चको स्रोत के हो भन्ने प्रश्न गर्दै उहाँले यति ठूलो संख्याको जनशक्ति लामो समयसम्म कसरी गोप्य रहन सक्यो भन्ने जिज्ञासा राख्नुभयो। उद्धारका नाममा एकाएक उक्त समूहको प्रदर्शन हुनुको प्रयोजनसमेत स्पष्ट हुनुपर्ने उहाँको भनाइ थियो।
आफू प्रधानमन्त्री भएको समयमा उक्त संस्था दर्ता भएको भन्ने चर्चाप्रति टिप्पणी गर्दै अध्यक्ष ओलीले संस्था दर्ता गर्ने काम प्रधानमन्त्रीको नभई सम्बन्धित प्रशासनिक निकायको भएको स्पष्ट पार्नुभयो।
उहाँले भन्नुभयो, ‘यो संस्था २०७२ सालमा थिएन, कोभिडको समयमा पनि थिएन । गत वर्ष रसुवामा बाढी आउँदा वा मुलुकमा अन्य राजनीतिक घटनाक्रम हुँदा पनि यो युनिफर्ममा कुनै जनशक्ति देखिएको थिएन । सेनाले एनसीसीका विद्यार्थीहरूलाई आवधिक तालिम दिने गर्छ, तर यो समूह कसरी र कुन प्रक्रियाबाट तालिम प्राप्त भयो ? यसको खर्च कसले व्यहोर्यो ? मेरो नाम किन जोडिएको छ ? यसमा केही शङ्कास्पद कुरा लुकेको देखिन्छ । दर्ता गर्न प्रधानमन्त्रीको आदेश चाहिँदैन, यसका लागि छुट्टै ऐन र कार्यालयहरू छन् ।’
अध्यक्ष ओलीले ‘ग्रीन आर्मी’को गतिविधिबारे रक्षा मन्त्रालय, गृह मन्त्रालय, नेपाली सेना र सशस्त्र प्रहरी बलले नेपाली जनतालाई स्पष्ट जानकारी दिनुपर्नेमा जोड दिनुभयो।
उहाँले राष्ट्रिय सुरक्षाको सुदृढ र विश्वसनीय संस्थाका रूपमा रहेको नेपाली सेना सधैँ निष्कलङ्कित र निर्विवाद रहनुपर्ने बताउनुभयो। नेपाली सेना राजनीतिक विवादमा मुछिन नहुने संस्थाका रूपमा स्थापित भएकाले त्यसको मर्यादा र सीमालाई कायम राख्नुपर्ने उहाँको भनाइ थियो।
विपद् व्यवस्थापनका सन्दर्भमा अध्यक्ष ओलीले सेनाको पछिल्लो सक्रियता र त्यसको प्रभावकारितामाथि समेत प्रश्न उठाउनुभयो। राहत र उद्धारका नाममा सेनाको उपस्थितिको प्रभावकारिता स्पष्ट हुनुपर्ने बताउँदै उहाँले अहिलेको मुख्य प्राथमिकता राहत, उद्धार र पुनःस्थापना हुनुपर्नेमा जोड दिनुभयो।
उहाँले भन्नुभयो, ‘नेपाली सेना राजनीतिक विवादमा मुसिनै नहुने संस्था हो, तर गत वर्षदेखि यसलाई विवादमा तान्ने काम भइरहेको छ । सेना नेपाली जनताको आशा र भरोसाको केन्द्र भएकाले यो संस्था सधैँ स्वच्छ र आफ्नो सीमाभित्र रहनु उचित हुन्छ । अहिलेको समय राहत र उद्धारमा केन्द्रित हुने बेला हो । यससँगै भत्किएका संरचनाको पुनर्निर्माण पनि आवश्यक छ । प्रदेश सरकारमार्फत विभिन्न स्थानमा तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्ने तथा अवरुद्ध सडक सञ्चालन गर्ने कार्य भइरहेको छ ।’
अध्यक्ष ओलीले राहत तथा उद्धारसँगै पुनर्निर्माणको कामलाई पनि समानान्तर रूपमा अघि बढाउनुपर्ने बताउनुभयो।
रसुवाका बाढी तथा पहिरो प्रभावितलाई सहयोग गर्ने उद्देश्यले आयोजित कार्यक्रममा अध्यक्ष ओलीले प्राप्त राहत सामग्री हस्तान्तरण गर्नुभएको थियो।







ब्याज मिनाहा गरी ऋण नविकरण
भदौ २४ को घटना नेपालको
बाजुरामा खोलाले बगाउँदा किशोर बेपत्ता
उखु बेचेको छ महिना बित्दा
अमेरिकी सेनाद्वारा थप पाँच इरानी
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न