राजविराज । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट इन्जिनियर सञ्जय साहको सकुशल उद्धार भएको खबरले सप्तरीस्थित उहाँको परिवारमा खुसीको आँसु छाएको छ।
लामो समयसम्म उहाँको अवस्थाबारे कुनै निश्चित खबर नपाउँदा चिन्तामा रहनुभएका परिवारजनले उद्धारपछि सञ्जयको तस्बिर र भिडियो देख्दा ठूलो राहत महसुस गर्नुभएको छ।
सञ्जयका काकाकी छोरी सुधा साहले दाजुको उद्धार भएको तस्बिर देख्नेबित्तिकै आफूहरू खुसीले रोएको बताउनुभयो।
‘दाजुको फोटो देख्नेबित्तिकै हामी खुसीले रोयौँ। यति लामो समयसम्म चिन्तामा बसेका थियौँ। उहाँलाई सकुशल देख्दा विश्वास नै लागेन,’ उहाँले भन्नुभयो।
छोरा जीवितै उद्धार भएको खबर पाएपछि सञ्जयका बुवा रामफल साह पनि भावुक हुनुभएको छ। बिहान मोबाइलमा छोराको उद्धार भएको तस्बिर तथा भिडियो हेरेपछि परिवारमा आशाको उज्यालो फर्किएको उहाँले बताउनुभयो।
‘बिहान खबर आउँदा हामी घरमै थियौँ। मोबाइलमा फोटो–भिडियोहरू हेर्यौँ। भगवान्को कृपा भयो,’ रामफलले भन्नुभयो, ‘अब उसलाई कहिले देखूँ, कहिले भेटूँ भइरहेको छ। छातीमा आगोजस्तो बलिरहेको छ।’
छोराको अवस्थाबारे लामो समयसम्म कुनै निश्चित जानकारी नपाउँदा परिवारले असह्य पीडा भोग्नुपरेको उहाँले बताउनुभयो। छोराको चिन्ताका कारण सञ्जयकी आमासमेत बेहोसजस्तै अवस्थामा पुग्नुभएको रामफलले सुनाउनुभयो।
‘निकै पीडा भइरहेको थियो। उहाँकी आमा त बेहोसजस्तै अवस्थामा हुनुहुन्थ्यो,’ उहाँले भावुक हुँदै भन्नुभयो।
सञ्जयको सकुशल उद्धार भएको खबर सार्वजनिक भएपछि सप्तरीस्थित उहाँको गाउँमा समेत खुसी छाएको छ। परिवारजन अहिले उहाँको स्वास्थ्य अवस्था बुझ्न र चाँडै भेट्न आतुर हुनुहुन्छ।
लामो त्रास, अनिश्चितता र प्रतीक्षापछि आएको उद्धारको खबर साह परिवारका लागि ठूलो राहत बनेको छ। परिवारजनले सञ्जयको सकुशल उद्धारलाई भगवान्को कृपा र उद्धार टोलीको अथक प्रयासको परिणामका रूपमा लिनुभएको छ।







कति छ आज विदेशी मुद्राको
दग्नामका यामबहादुरको ५८ वर्षपछि पारिवारिक
चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर
भोटेकोशी बाढी : आठ जिल्लामा
एसिसी प्रिमियर कप : साउदीविरुद्ध
देशभर मनसुनी गतिविधि सक्रिय, यी