काठमाडौं । गत भदौ १० गतेको प्रलयकारी बाढीले रसुवा, नुवाकोट र धादिङका तटीय बस्तीलाई बगरमा परिणत गरिदिएपछि नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बाढी प्रभावित क्षेत्रमा स्थलगत निरीक्षणका लागि पुग्नुभएको छ।
केही दिनअघिसम्म जहाँ बालबालिकाको हाँसो गुञ्जिन्थ्यो, बजारका सटरमा चहलपहल थियो र हरियाली खेतबारीमा किसानका सपना लहलहाउँथे, आज त्यहाँ फुस्रो लेदो, विशाल चट्टान र भत्किएका संरचनाका भग्नावशेष मात्रै देखिन्छन्।
भदौ १० गते राति उर्लिएको भोटेकोशीको विनाशकारी बाढीले सयौँ परिवारको घरबास मात्रै खोसेन, पुस्तौँदेखि पसिनाले सिँचिएको जीवन नै बगरमा बगाइदिएको छ। यही कहालीलाग्दो विनाशको अवस्था नियाल्न र पीडितको अवस्था बुझ्न अध्यक्ष ओली धर्मपत्नी राधिका शाक्यसहित नुवाकोट पुग्नुभएको हो।
नदी जब गाउँ पस्यो
भदौ १० गतेको रात सामान्य थिएन। माथिल्लो भेगबाट उर्लिएर आएको भोटेकोशीले आफ्नो प्राकृतिक मार्ग छाड्दै मानव बस्तीमा धावा बोलेको स्थानीय बताउँछन्।
“पानीको आवाज होइन, सिङ्गै पहाड खसेर घरमाथि खनिएझैँ लाग्थ्यो,” स्थानीय प्रत्यक्षदर्शीहरू घटना सम्झँदै बताउँछन्।
मिनेटभरमै तीन–चार तलासम्मका पक्की घर बाढीको लेदो र भीमकाय ढुङ्गाले पुरिए। धेरै स्थानीयले ज्यान जोगाउन रातको अन्धकारमा अग्ला डाँडातर्फ भाग्नुपरेको थियो।
घरभित्र रहेका जीवनभरको कमाइ, अन्नपात, लत्ताकपडा, महत्त्वपूर्ण कागजात तथा गोठका चौपायासमेत क्षणभरमै बाढीको भेलमा हराए।
बिहानीपख देखिएको दृश्य झनै हृदयविदारक थियो। खोला किनारका सुन्दर बस्तीहरू ढुङ्गा, माटो र लेदोको बगरमा परिणत भइसकेका थिए। सडक सञ्जाल छिन्नभिन्न थियो। बिजुलीका पोल ढलेका थिए भने खानेपानीका मुहान लेदोले पुरिएका थिए।
बाढीले बस्ती हुँदै बगेपछि सडकको ट्र्याकसमेत खोलामा विलीन भएको छ। हिलो र दलदलमा फसेका सवारी साधन, बाढीले बगाएर ल्याएका रूखका ठुटा र माटोमा आधा पुरिएका घरायसी सामानले त्यहाँ भएको विनाशको भयावह तस्वीर देखाउँछन्।
रगत–पसिना बगाएर इँटा–इँटा जोडेर बनाएको घरको भग्नावशेष अगाडि उभिएका वृद्धवृद्धाका आँखामा पीडा देखिन्छ। उनीहरूसँग भन्नका लागि शब्द छैनन्। तर उनीहरूको मनमा एउटै प्रश्न छ—अब कहाँ जाने ? फेरि शून्यबाट जिन्दगी कसरी सुरु गर्ने ?
भग्नावशेषको डिलमा ओली, पीडितका आँशुभरिएका गुनासा
यही मानवीय संकट र विस्थापनको अवस्थामा अध्यक्ष ओली विनाशको वास्तविक अवस्था बुझ्न नुवाकोटको विदुरस्थित तटीय बाढी प्रभावित क्षेत्रमा पुग्नुभएको हो।
पिताको बरखीका कारण सेतो टोपी र सेतो कुर्ता–सुरुवालमा देखिनुभएका ओली धर्मपत्नी राधिका शाक्यसहित बाढीले चिरिएको हिलो र ढुङ्गे बगरमा पैदल हिँड्दै प्रभावित क्षेत्रमा पुग्नुभएको थियो।
ओलीलाई देख्नासाथ स्थानीय बाढीपीडित महिला तथा पुरुष उहाँलाई घेर्न पुग्नुभएको थियो। स्थानीय महिलाहरूले हात जोड्दै आँखाभरि आँसु लिएर आफ्ना पीडा र गुनासा सुनाउनुभएको थियो।
बाढीले सर्वस्व गुमाएका पीडितको अवस्था नियाल्दै ओलीले उनीहरूका कुरा सुन्नुभएको थियो।
राहत र उद्धारमा स्वयंसेवक
प्रकृतिले विनाश मच्चाएको प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि विभिन्न समूहका स्वयंसेवक पनि परिचालित छन्।
एमाले निकट युवा स्वयंसेवकहरू सुन्तला रङको ज्याकेट लगाएर कोदालो, बेल्चा र बुटसहित हिलोको दलदलमा खटिएका छन्। उनीहरूले बाढीले पुरिएका घरबाट बचेखुचेका सामान निकाल्ने, अवरुद्ध बाटो खुलाउने तथा राहत सामग्री ओसार्ने काम गरिरहेका छन्।
‘जोखिमपूर्ण बगरमा फेरि बस्ती बसाउन हुँदैन’
स्थलगत निरीक्षणपछि सञ्चारकर्मी तथा स्थानीय अगुवासँग कुरा गर्दै अध्यक्ष ओलीले वर्तमान विपत्तिलाई सामान्य बाढीका रूपमा मात्रै लिन नहुने बताउनुभएको छ।
उहाँले यो जलवायु संकट र नदी अतिक्रमणको संयुक्त भयावह परिणाम भएको उल्लेख गर्दै जोखिमपूर्ण क्षेत्रमा पुनः बस्ती बसाउन नहुने धारणा राख्नुभएको छ।
“अब यी बस्तीहरूलाई फेरि यही जोखिमपूर्ण बगरमा फर्काउन सकिँदैन। भूगर्भविद्हरूको अध्ययनका आधारमा सुरक्षित स्थानमा एकीकृत बस्ती निर्माण गरिनुपर्छ,” उहाँले भन्नुभयो।
पीडितको माग : तत्काल आवासदेखि स्थायी पुनर्वाससम्म
बाढीपीडितहरूले सरकार तथा राजनीतिक दलसँग तत्काल सुरक्षित अस्थायी आवास र दीर्घकालीन पुनर्वासको माग गरेका छन्।
वर्षा अझै नरोकिएको र चिसो मौसम सुरु हुन लागेकाले त्रिपालमुनिको बसाइ थप कठिन बन्दै गएको उनीहरूको भनाइ छ। विशेषगरी बालबालिका र वृद्धवृद्धा प्रभावित हुन थालेकाले तत्काल सुरक्षित आवासको व्यवस्था गर्नुपर्ने माग पीडितहरूको छ।
पीडितहरूले स्थायी पुनर्वासका लागि युद्धस्तरमा राहत तथा पुनर्निर्माण प्याकेज घोषणा गर्नसमेत माग गरेका छन्।
अध्यक्ष ओलीले एमाले पार्टी र आफ्नो तर्फबाट संसद तथा सरकारमा बाढीपीडितको आवाजलाई प्राथमिकताका साथ उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। साथै, आवश्यक राहत सामग्रीको निरन्तर आपूर्ति सुनिश्चित गर्न पार्टीका तर्फबाट पहल गर्ने उहाँले बताउनुभएको छ।
















नयाँ कोष थप्ने होइन, एकीकृत
बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक
मकवानपुरमा ट्राफिक कारबाही बढ्दा पनि
संक्रामक पशु रोगबाट प्रभावित किसानलाई
त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईँ समर्थक
त्रिभुवन राजपथको सडक भासियो, एकतर्फी