काठमाडौँ । भदौ १० गते आएको भोटेकोशी बाढीबाट देशभर ७ हजार ५७० घर पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रारम्भिक अनुमान गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको ‘शीघ्र प्रारम्भिक क्षति तथा आवश्यकता आकलन’ प्रतिवेदनले यस्तो तथ्यांक देखाएको हो।
प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार क्षतिग्रस्त घरधुरीका आधारमा ३२ हजार ९३३ नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। सार्वजनिक गरिएको तथ्यांक प्रारम्भिक प्रतिवेदनमा आधारित रहेको र विस्तृत क्षति आकलन हुन बाँकी रहेको प्राधिकरणले जनाएको छ।
बाढीका कारण सरकारी तथा सार्वजनिक संरचनामा समेत ठूलो क्षति पुगेको छ। प्रतिवेदनअनुसार ४८ सरकारी संरचनामा क्षति पुगेको छ। तीमध्ये ३५ वटा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने १३ वटामा आंशिक क्षति पुगेको छ।
शिक्षा क्षेत्रका १८ विद्यालयमा क्षति पुगेको छ। तीमध्ये ११ वटा पूर्ण र सात वटा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। स्वास्थ्य क्षेत्रका सात संस्थामा क्षति पुगेकोमा चार वटा पूर्ण र तीन वटा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्।
भौतिक पूर्वाधारतर्फ ५५ किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। यस्तै, ३७ वटा मोटरेबल पुल र ६८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको प्रवक्ता महतले जानकारी दिनुभयो।
७ हजार ६८६ मेट्रिक टन खाद्यान्न उत्पादनमा ह्रास आउने अनुमान
कृषि क्षेत्रमा पनि बाढीले ठूलो क्षति पु¥याएको छ। प्रारम्भिक अनुमानअनुसार १ हजार ८०६ हेक्टर कृषियोग्य जमिनमा क्षति पुगेको छ। यसबाट ७ हजार ६८६ मेट्रिक टन खाद्यान्न उत्पादनमा ह्रास आउने अनुमान गरिएको छ।
प्रभावित पाँचवटै जिल्लामा पशुपालन तथा कुखुरापालन व्यवसायमा समेत ठूलो असर परेको प्राधिकरणले जनाएको छ।
ऊर्जा क्षेत्रमा पनि बाढीको गम्भीर प्रभाव परेको छ। बाढीका कारण ७८३ मेगावाट विद्युत् उत्पादन प्रभावित भएको प्रारम्भिक आकलन गरिएको छ। यसअन्तर्गत १३ वटा जलविद्युत् आयोजना, एउटा सोलार प्लान्ट तथा दुई वटा प्रसारण लाइनमा क्षति पुगेको छ।
त्यस्तै, बाढी प्रभावित क्षेत्रमा रहेका १७ वटा बैंकका शाखामा समेत क्षति पुगेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले सार्वजनिक गरेको यो तथ्यांक प्रारम्भिक आकलनमा आधारित रहेकाले विस्तृत क्षति तथा आवश्यकता आकलनपछि क्षतिको वास्तविक अवस्था थप स्पष्ट हुने जनाएको छ।







कति छ आज विदेशी मुद्राको
दग्नामका यामबहादुरको ५८ वर्षपछि पारिवारिक
चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर
भोटेकोशी बाढी : आठ जिल्लामा
एसिसी प्रिमियर कप : साउदीविरुद्ध
देशभर मनसुनी गतिविधि सक्रिय, यी