काठमाडौं । स्रष्टा होमनाथ खनालको तेस्रो साहित्यिक कृति ‘हराएको साथी’ लोकार्पण गरिएको छ । मिलाप मासिक र साहित्यिक पत्रकार संघको संयुक्त आयोजनामा शुक्रबार काठमाडौंमा एक विशेष समारोहबीच महाकाव्यकार खेमनाथ दाहालसहित साहित्य, कला तथा संगीत क्षेत्रका व्यक्तित्वहरूले संयुक्त रूपमा कृति लोकार्पण गरेका हुन् ।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा कृतिमाथि समीक्षा गर्दै विश्व कीर्तिमानी संगीतकार तथा उपन्यासकार सन्तोष श्रेष्ठले ‘हराएको साथी’लाई रहस्यमय तथा प्रेरणादायी कृतिका रूपमा व्याख्या गर्नुभयो । उहाँले कृतिले पाठकलाई जीवनका विभिन्न पाटो र अनुभूतिसँग जोड्ने प्रयास गरेको बताउनुभयो ।
कृतिकार खनालले आफ्नो जीवनयात्रामा देखेका, भोगेका र अनुभूति गरेका विषयलाई कथाका रूपमा प्रस्तुत गरिएको बताउनुभयो । प्रमुख अतिथि दाहालले ‘हराएको साथी’ कुनै पात्र हराएको कथा मात्र नभई हराएका सम्बन्ध, स्मृति, सपना र सम्भावनाको खोजी गर्ने यात्राका रूपमा रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा स्रष्टा खनाललाई सम्मानसमेत गरिएको थियो । नेपाल बुद्धिजीवी परिषद्का केन्द्रीय उपाध्यक्ष गोपिकृष्ण न्यौपाने, वरिष्ठ मुटुरोग विशेषज्ञ डा. युवराज लिम्बू, कलाकार लय संग्रौला, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापालगायतले कृतिकारलाई शुभकामना दिनुभएको थियो ।
कार्यक्रमको सुरुवात रसुवा-नुवाकोटमा आएको बाढीका कारण ज्यान गुमाएका व्यक्तिहरूप्रति एक मिनेट मौनधारण गरी श्रद्धाञ्जलि अर्पण गर्दै गरिएको थियो ।
कार्यक्रमको सहजीकरण मिलाप मासिकका सम्पादक कृष्ण भुसालले गर्नुभएको थियो भने मिलापकी कार्यकारी सम्पादक गीता अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो ।
मिलाप पब्लिकेशनले प्रकाशन गरेको ‘हराएको साथी’का सम्पादक अमृतविरल हुनुहुन्छ भने डिजाइन तथा छपाइ मोवाइलकिताव प्रा.लि.ले गरेको छ । कृतिको मूल्य ३९९ रुपैयाँ रहेको छ । खनालका यसअघि ‘यात्रा जिन्दगीको’ र ‘शब्दसंगम’ प्रकाशित छन् ।







भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु
बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद
तीजको दिन घट्यो सुनचाँदीको मूल्य,
कृष्णभीर असोज १ देखि दुईतर्फी
प्रधानमन्त्री शाहसँग विपद् सङ्कटग्रस्त क्षेत्रका
बाढीपछि त्रिशूलीका सहायक खोलामा बालुवा