काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले एलपी ग्यासको मूल्य महँगो भएको भन्दै भइरहेको गुनासोप्रति टिप्पणी गर्दै अन्य उपभोग्य वस्तुको तुलनामा ग्यासको मूल्य अझै सस्तो रहेको दाबी गर्नुभएको छ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको ‘बाढीपहिरोपछिको आपूर्ति तथा मूल्य शृङ्खलामा परेको प्रभाव र देखिएका चुनौती’ विषयक अन्तरक्रियामा बोल्दै कार्यकारी निर्देशक साहले निगमले हाल प्रतिसिलिन्डर ४ सय रुपैयाँ घाटा व्यहोरेर एलपी ग्यासको कारोबार गरिरहेको जानकारी दिनुभयो।
व्यवसायीहरूले समेत ग्यास कारोबारमा घाटा भइरहेको गुनासो गरिरहेको उल्लेख गर्दै उहाँले उपभोक्ताले ग्यासको मूल्य महँगो भएको भन्ने गुनासोलाई पनि व्यावहारिक रूपमा हेर्नुपर्ने बताउनुभयो।
नेपालमा उत्पादन नहुने र पूर्ण रूपमा आयातमा निर्भर वस्तु भएकाले मूल्यभन्दा पनि आपूर्ति सहज बनाउन प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ।
मूल्यको तुलना गर्दै साहले बजारमा एक किलो मासुको मूल्य १ हजार ७ सयदेखि १ हजार ८ सय रुपैयाँसम्म पर्ने तर करिब २ हजार १ सय रुपैयाँ पर्ने एउटा ग्यास सिलिन्डरले एउटा परिवारलाई करिब दुई महिनासम्म पुग्ने बताउनुभयो।
“आज बजारमा एक किलो मासुलाई १७ देखि १८ सय रुपैयाँ पर्छ, जुन एक छाक वा एक दिनमै सकिन्छ। तर करिब २१ सय रुपैयाँ पर्ने एक सिलिन्डर ग्यासले एउटा परिवारलाई दुई महिनासम्म पुग्छ। यस विषयमा हामीले गम्भीर भएर सोच्ने कि नसोच्ने ? पैसा २१ सय रुपैयाँ हुनु ठूलो कुरा होइन, मुख्य कुरा उपभोक्तालाई प्राथमिकता दिएर उनीहरूको चुलो कसरी बाल्ने भन्ने हो। यो हामी सबैको साझा दायित्व हो।”
कार्यकारी निर्देशक साहले बाढीपहिरोका कारण मुलुकको आपूर्ति प्रणालीमा थप चुनौती सिर्जना भए पनि निगमले उपभोक्ताको हितलाई प्राथमिकतामा राख्दै एलपी ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन अधिकतम प्रयास गरिरहेको स्पष्ट पार्नुभयो।
मुख्य सडकमा आएको अवरोधका कारण ढुवानीमा समस्या देखिए पनि वैकल्पिक मार्ग तथा अन्य व्यवस्थामार्फत आपूर्ति निरन्तर राख्ने प्रयास भइरहेको निगमले जनाएको छ।







हरितालिका तीजमा पशुपतिनाथसहित शिवालयमा श्रद्धालुको
विद्यार्थी, शिक्षक तथा अभिभावको सुझावका
बर्दियामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको
नेपालभन्दा बाहिर गएर प्रतियोगिता जित्नु
विपद्को पीडाबीच आएको तीज, भक्तजन
चीनले इरानलाई सूचना दिएको खबर