काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले भोटेकोशी बाढीलगायत जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिको क्षतिपूर्ति विकसित राष्ट्रबाट पाउनुपर्ने बताउनुभएको छ।
एमाले विशेष सङ्गठन कमिटीले पार्टी कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले जलवायु परिवर्तनमा महत्वपूर्ण भूमिका रहेका औद्योगिक राष्ट्रका कारण हिमाली मुलुक नेपालले ठूलो क्षति व्यहोर्नुपरेको भन्दै विश्व समुदायबाट क्षतिपूर्ति पाउनुपर्नेमा जोड दिनुभयो।
उहाँले विकसित राष्ट्रहरूले ठूला उद्योग तथा आणविक भट्टीबाट ठूलो मात्रामा कार्बन उत्सर्जन गर्दा वातावरणमा परिवर्तन आएको र त्यसको प्रत्यक्ष असर नेपालजस्ता विकासशील मुलुकले भोग्नुपरेको बताउनुभयो।
“विकसित देशहरूले ठूलाठूला उद्योग र आणविक भट्टीबाट कार्बन उत्सर्जन बढी गर्दा वातावरण परिवर्तन भइरहेको छ र त्यसको मार नेपालजस्ता विकासशील देशहरूमा परेको छ,” पोखरेलले भन्नुभयो, “त्यसबाट हिमाली मुलुक नेपाल प्रभावित भई बर्सेनि ठूलो धनजनको नोक्सान बेहोर्नुपरेको छ।”
उहाँले जलवायु परिवर्तनबाट सिर्जित विपद्का कारण नेपालले निरन्तर ठूलो मानवीय तथा भौतिक क्षति व्यहोर्नुपरेको भन्दै यसको जिम्मेवारी विकसित राष्ट्रहरूले लिनुपर्ने धारणा राख्नुभयो।
महासचिव पोखरेलले भोटेकोशी बाढीपछि एमालेका नेता तथा विभिन्न जनसङ्गठनका प्रतिनिधि प्रभावित क्षेत्रमा पुगेर उद्धार तथा राहत वितरणलाई प्राथमिकतामा राख्दै अहोरात्र खटिएको बताउनुभयो।
उहाँले विपद्को समयमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबै पक्ष मिलेर काम गर्नुपर्नेमा समेत जोड दिनुभयो।







कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच
कहाँ–कहाँ अवरुद्ध छन् राजमार्ग ?
कपालमा चाया परेर हैरान हुनुहुन्छ
आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा
भोटेकोशी बाढी : चिन्तित छन्