काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–मलेखु सडकखण्डको कृष्णभीरमा सडक सञ्चालनका लागि शुक्रबारदेखि सुरु गरिएको भित्ता काट्ने तथा ट्रयाक खोल्ने काम अन्तिम चरणमा पुगेको छ।
नेपाल जियोटेक सोसाइटीका प्राविधिक, सडक विभागका प्रतिनिधि तथा विज्ञहरूको रोहवरमा निर्माण व्यवसायीहरूले सडक खन्ने काम अघि बढाएका हुन्। निर्माण व्यवसायीहरूले शनिबारसम्म ट्रयाक खोल्ने र सडक सञ्चालनमा ल्याउने तयारी गरेका छन्।
निर्माण व्यवसायी महासंघका उपाध्यक्ष शहदेव खड्काका अनुसार कृष्णभीरको मुग्लिङतर्फ करिब १५० मिटर ट्रयाक स्काभेटर गुड्न मिल्ने गरी खोलिसकिएको छ। मलेखुतर्फ पनि करिब १०० मिटर ट्रयाक खोलिएको र बाँकी ५० मिटर शनिबार खोल्ने तयारी भइरहेको उहाँले बताउनुभयो।
उहाँका अनुसार सडक निर्माणको काममा प्राविधिक, अपरेटर, इन्जिनियर तथा कर्मचारीहरू रातदिन खटिरहेका छन्। विपद्को अवस्थामा यात्रुलाई सहजता प्रदान गर्न अस्थायी भए पनि सुरक्षित र व्यवस्थित सडक सञ्चालनमा ल्याउने गरी काम भइरहेको उहाँले बताउनुभयो।
“हामी अहोरात्र खटेर काम गरिरहेका छौँ। कृष्णभीरमा मुग्लिङतर्फ १५० मिटर स्काभेटर गुड्न ट्रयाक खोलिसकेका छौँ। मलेखुतर्फ झन्डै १०० मिटर ट्रयाक खोलिसकेका छौँ। अब ५० मिटर जति मात्रै बाँकी छ,” खड्काले भन्नुभयो।
उहाँले सडक सञ्चालनमा आएपछि यात्रुलाई सहज हुने भए पनि हतारमा सडक खोल्दा पुनः अवरोध हुनसक्ने भएकाले सुरक्षित र व्यवस्थित रूपमा सडक सञ्चालनमा ल्याउनुपर्ने बताउनुभयो।
“आत्तिएर बनाउने तर दुई दिनमै बन्द हुने अवस्था हुनु हुँदैन। अस्थायी रूपमा भए पनि राम्रो बनाउने काममा हामी लागेका छौँ,” उहाँले भन्नुभयो।
खड्काले विपद्को समयमा राज्यलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै शनिबार साँझसम्म नागढुङ्गा–मुग्लिङ सडकखण्ड सञ्चालनमा ल्याउने लक्ष्यसहित काम भइरहेको जानकारी दिनुभयो।
गत भदौ १० गतेदेखि आएको त्रिशूली नदीको बाढीले कृष्णभीर, परेवाभीरलगायत विभिन्न स्थानमा सडक कटान गरी बगाएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको हो।
राजमार्ग अवरुद्ध हुँदा पश्चिम नेपालबाट काठमाडौं प्रवेश गर्ने तथा काठमाडौं हुँदै पश्चिमतर्फ जाने सवारीसाधन प्रभावित भएका छन्। सडक अवरोधका कारण खाद्यान्नलगायत अत्यावश्यक सामग्रीको ढुवानीसमेत प्रभावित भएको छ।
कृष्णभीरमा ट्रयाक खुलेपछि नागढुङ्गा–मुग्लिङ सडकखण्डमा आवागमन केही सहज हुने अपेक्षा गरिएको छ।







आज ऋषिपञ्चमी : ऋषेश्वर मन्दिरमा
बाढीले क्षति पुर्याएका झोलुङ्गे पुल
प्रधानमन्त्री राहत कोषमा मौज्दात रु
कन्काइ पुल १४ वर्ष अलपत्र
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
खर्क व्यवस्थापनमा नेपालले भुटानबाट सिक्नुपर्छ