कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो खस्दा दुई कामदारको मृत्यु भएको छ।
पहिरोमा परी गम्भीर घाइते भएका धनकुटाको पाख्रीबास नगरपालिका–८ का २६ वर्षीय आयुष राई र खोटाङको केपिलासगढी गाउँपालिका–१ का २७ वर्षीय किसान राईको उपचारका क्रममा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार दुवै जनाको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
घटनामा इलाम घर भएका ३२ वर्षीय भक्तबहादुर मगर घाइते भएका छन्। उनको पनि मणिपाल शिक्षण अस्पतालमै उपचार भइरहेको छ। प्रहरीका अनुसार मगरको घुँडामा चोट लागेको छ।
प्रहरीका अनुसार आज बिहान करिब ११ बजे जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माणका लागि सडक खन्ने क्रममा माथिबाट अचानक पहिरो खसेको थियो।
पहिरोमा परेका कामदारलाई स्थानीयवासी र प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पताल पुर्याएका थिए।
सुपर सेती जलविद्युत् आयोजना माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन २४ मेगावाट क्षमताको जलविद्युत् आयोजना हो।







विपद् व्यवस्थापनको लागि संसदीय उच्चस्तरीय
मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय
जलवायु परिवर्तनको असर न्यूनीकरण तथा
एनपीएलमा अहिलेसम्मकै ठूलो ‘स्टार’ इन्ट्री,
विपद् व्यवस्थापनमा संसदीय उच्चस्तरीय समिति
विपद् उद्धारका लागि भक्तपुर प्रशासनले