रसुवा । यही भदौ १० गते आएको भोटेकोशी बाढीले रसुवामा ठूलो जनधन तथा भौतिक क्षति पुर्याएको छ। जिल्ला प्रशासन कार्यालयले बाढीबाट जिल्लामा भएको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार बाढीबाट २८ सरकारी तथा सार्वजनिक भवन, आठ सामुदायिक तथा तीन निजी विद्यालय, १४ बैंक तथा वित्तीय संस्था, एक पेट्रोल पम्प र करिब एक हजार ५०० निजी घरमा क्षति पुगेको छ।
बाढीले जिल्लाका ४१ किलोमिटर सडक, छवटा पक्की पुल, आठवटा बेलिब्रिज र १० वटा झोलुङ्गे पुलसमेत बगाएको छ।
त्यस्तै, भोटेकोशी, त्रिशूली र लाङ्टाङ खोलामा निर्माण भएका आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति पुगेको प्रशासनले जनाएको छ। बाढीबाट १११ मेगावाटको रसुवागढी, १२० मेगावाटको भोटेकोशी, २० मेगावाटको चिलिमे, २० मेगावाटको लाङ्टाङ खोला, २१६ मेगावाटको माथिल्लो त्रिशूली–१, पाँच मेगावाटको मैलुङ खोला, ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ र ३७.३ मेगावाटको त्रिशूली–३ ‘बी’ आयोजनामा क्षति पुगेको हो।
सुरुङमा फसेकाको खोज तथा उद्धार जारी
बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धार कार्य जारी छ। नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले उद्धार कार्य गरिरहेका छन्।
थप सहयोगका लागि दक्षिण कोरिया, भारत र चीनका विज्ञसमेत प्रभावित क्षेत्रमा परिचालित गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।
हालसम्म बाढीका कारण एक हजार ३६५ रसुवाली नागरिक, अन्य जिल्लाका एक हजार १६० नागरिक र २६४ पर्यटक सम्पर्कविहीन रहेको सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिनुभयो।
त्यस्तै, बैंक तथा वित्तीय संस्थाका २६ कर्मचारी, ७९ सरकारी कर्मचारी, १३ सशस्त्र प्रहरी, २८ नेपाल प्रहरी र २७ नेपाली सेना सम्पर्कविहीन रहेको उहाँले बताउनुभयो।
प्रभावित क्षेत्रमा खाद्यान्न आपूर्ति सहज बनाउन हेलिकप्टरमार्फत राहत सामग्री पुर्याउने काम भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।







उत्तरगयाका १६५ बाढीपीडित परिवारलाई पोखराबाट
आज ऋषिपञ्चमी : ऋषेश्वर मन्दिरमा
बाढीले क्षति पुर्याएका झोलुङ्गे पुल
प्रधानमन्त्री राहत कोषमा मौज्दात रु
कन्काइ पुल १४ वर्ष अलपत्र
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु