क्यान्सर विश्वभर प्रमुख स्वास्थ्य चुनौतीका रूपमा रहेको रोग हो । आधुनिक चिकित्साले शल्यक्रिया, केमोथेरापी, रेडियोथेरापी, इम्युनोथेरापी तथा टार्गेटेड थेरापीलगायत प्रमाणमा आधारित विभिन्न उपचार विधिमार्फत् यसको व्यवस्थापन गर्दै आएको छ । यससँगै प्राचीन चिकित्सा प्रणाली आयुर्वेदले शरीरको समग्र स्वास्थ्य, आहार, जीवनशैली, पाचनशक्ति, मानसिक स्वास्थ्य तथा रोग प्रतिरोधात्मक क्षमतालाई केन्द्रमा राखेर बिरामीको हेरचाहमा जोड दिन्छ ।
आयुर्वेदका शास्त्रीय ग्रन्थमा आधुनिक अर्थमा क्यान्सरका सबै प्रकारलाई एउटै नामले वर्णन गरिएको छैन । तर, असामान्य ऊतक वृद्धिसँग केही हदसम्म तुलना गर्न सकिने अर्बुद र ग्रन्थीजस्ता अवधारणा पाइन्छन् । आयुर्वेदले रोगग्रस्त अंगलाई मात्र लक्षित गर्नुको सट्टा शरीरको समग्र सन्तुलन, पाचनशक्ति, पोषण, मानसिक स्वास्थ्य र जीवनशैली सुधारमा जोड दिन्छ ।
यही अवधारणालाई आधुनिक क्यान्सर उपचारसँग समन्वय गर्ने प्रयासलाई समन्वित ‘हिम्स’ दृष्टिकोणका रूपमा लिन सकिन्छ । यसमा पोषण, आयुर्वेदिक सहायक उपचार, योग, ध्यान, जीवनशैली परिवर्तन तथा आवश्यक अवस्थामा प्रमाणमा आधारित आधुनिक क्यान्सर उपचारलाई समग्र हेरचाहको हिस्सा बनाइन्छ ।
आयुर्वेदले क्यान्सरलाई कसरी हेर्छ ?
आयुर्वेदमा मानिसको स्वास्थ्य शरीरमा रहेका वात, पित्त र कफ अर्थात् त्रिदोष सन्तुलित अवस्थामा रहनुसँग सम्बन्धित हुन्छ भन्ने मान्यता छ । अस्वस्थकर खानपान, गलत जीवनशैली, मानसिक तनाव, प्रदूषण, धूम्रपान, मदिरा सेवन तथा पाचनशक्ति कमजोर हुँदा शरीरको यो सन्तुलन बिग्रन सक्छ । आयुर्वेदिक अवधारणाअनुसार यस्तो असन्तुलन लामो समयसम्म रहँदा शरीरमा समस्या बढ्दै जान सक्छ ।
यसलाई सरल रूपमा यसरी बुझ्न सकिन्छ : अस्वस्थकर खानपान तथा जीवनशैली- पाचनशक्ति कमजोर हुनु, शरीरमा अपचजन्य पदार्थ (आम) जम्मा हुनु- शरीरका मार्गहरूमा अवरोध हुनु, वात, पित्त र कफमा असन्तुलन आउनु- शरीरका तन्तु (धातु) मा असर पर्नु,- अन्ततः ग्रन्थी वा अर्बुदजस्ता अवस्था देखिनु । अर्थात् आयुर्वेदले स्वस्थ खानपान, उचित जीवनशैली, राम्रो पाचनशक्ति र शरीरको सन्तुलन कायम राख्नुलाई रोगबाट बच्ने आधारका रूपमा हेर्छ ।
यसले शरीरको ओजस अर्थात् शरीरको बल, जीवनशक्ति तथा प्रतिरक्षासँग सम्बन्धित तत्त्वलाई कमजोर बनाउन सक्ने आयुर्वेदिक अवधारणा छ । तर, यी आयुर्वेदिक अवधारणालाई आधुनिक क्यान्सरको प्रत्यक्ष वैज्ञानिक कारण वा उपचारका रूपमा बुझ्नुहुँदैन । आधुनिक क्यान्सर विज्ञानले यसलाई आनुवंशिक, जैविक, वातावरणीय तथा जीवनशैलीसँग सम्बन्धित विभिन्न कारकहरूको जटिल परिणामका रूपमा अध्ययन गर्दछ ।
समग्र स्वास्थ्यमा आयुर्वेदको जोड
आयुर्वेदिक व्यवस्थापनको उद्देश्य केवल ट्युमरमा केन्द्रित हुनु नभई बिरामीको समग्र स्वास्थ्यमा ध्यान दिनु हो । पाचनशक्ति सुधार, पोषण कायम राख्ने, शरीरको बल र प्रतिरक्षा प्रणालीलाई सहयोग गर्ने तथा शारीरिक र मानसिक स्वास्थ्य सुधारमा यसले जोड दिन्छ । क्यान्सर उपचारका क्रममा थकान, कमजोरी, भोक कम हुनु, तनाव, निद्रासम्बन्धी समस्या तथा पोषणको कमी देखिन सक्ने भएकाले समग्र हेरचाह महत्त्वपूर्ण हुन्छ ।
क्यान्सर व्यवस्थापनमा आहार
आयुर्वेदमा आहारलाई स्वास्थ्यको महत्त्वपूर्ण आधार मानिन्छ । बिरामीको अवस्था र उपचारअनुसार पपैया, स्याउ, अम्बा, अनार तथा सिट्रस वर्गका फलफूल उपयोग गर्न सकिन्छ । लौका, फर्सी, कुभिण्डो, करेला, गाजर तथा हरियो पात भएका तरकारी पनि उपयोगी विकल्प हुन सक्छन् । क्यान्सर उपचारका क्रममा मांसपेशीको संरक्षण र पुनःस्थापनाका लागि पर्याप्त प्रोटिन महत्त्वपूर्ण हुन्छ । बिरामीको अवस्था र पाचन क्षमताअनुसार मुगदाल, मसुरो तथा राम्ररी पकाइएका अन्य दाल तथा गेडागुडी प्रयोग गर्न सकिन्छ ।
अत्यधिक प्रशोधित खाद्य पदार्थ, धेरै चिनी, मैदाजन्य तथा धेरै तारेका खानेकुरा, धूम्रपान र मदिराबाट टाढा रहनु उपयुक्त हुन्छ । यद्यपि सबै क्यान्सर बिरामीका लागि एउटै आहार उपयुक्त हुँदैन । क्यान्सरको प्रकार, उपचार, तौल र पोषण अवस्थाअनुसार आहार योजना तय गर्नुपर्छ ।
आयुर्वेदिक औषधि र सावधानी
परम्परागत रूपमा प्रयोग गरिने गुडुची, अश्वगन्धा, आमलकी र हरिद्राजस्ता औषधीय वनस्पतिले शरीरको बल, पोषण, तनाव व्यवस्थापन वा समग्र स्वास्थ्यमा सहयोग गर्न सक्ने मान्यता छ । तर, सबै प्रकारका क्यान्सर निको पार्ने एउटै आयुर्वेदिक औषधि छैन । केमोथेरापी, रेडियोथेरापी, इम्युनोथेरापी वा अन्य उपचार लिइरहेका बिरामीले चिकित्सकीय सल्लाहबिना कुनै पनि आयुर्वेदिक औषधि प्रयोग गर्नुहुँदैन । केही जडीबुटी र औषधिबीच ‘जडीबुटी–औषधि अन्तरक्रिया’ हुन सक्ने भएकाले आयुर्वेद चिकित्सक र क्यान्सर विशेषज्ञबीच समन्वय आवश्यक हुन्छ ।
पञ्चकर्म, योग र जीवनशैली
पञ्चकर्म तथा अन्य आयुर्वेदिक उपचार बिरामीको शारीरिक अवस्था, पोषण, क्यान्सरको प्रकार र चलिरहेको उपचारको मूल्यांकनपछि मात्र प्रयोग गर्नुपर्छ । अभ्यंग, शिरोधारा, बस्ती तथा गण्डुष वामन, विरेचन, नश्यम र रक्तमोक्षन पञ्चकर्म चिकित्साजस्ता उपचार उपयुक्त अवस्थामा सहायक रूपमा प्रयोग गर्न सकिन्छ । यी उपचारको उद्देश्य आराम, केही लक्षणको व्यवस्थापन, तनाव कम गर्न सहयोग तथा जीवनको गुणस्तर सुधार गर्नु हो । यिनीहरू क्यान्सरको मुख्य उपचारको विकल्प होइनन् ।
त्यस्तै, चिकित्सकको स्वीकृति र बिरामीको क्षमताअनुसार हल्का योग तथा श्वासप्रश्वास अभ्यास गर्न सकिन्छ । ताडासन, बज्रासन, भुजंगासन, शवासन, अनुलोम-विलोम, भ्रामरी तथा डायाफ्रामेटिक ब्रीदिङजस्ता अभ्यास उपयुक्त अवस्थामा प्रयोग गर्न सकिन्छ । पर्याप्त निद्रा, नियमित भोजन, क्षमताअनुसार शारीरिक गतिविधि, धूम्रपान तथा मदिराबाट टाढा रहने बानी र मानसिक तनाव व्यवस्थापनले पनि समग्र स्वास्थ्यमा सहयोग गर्न सक्छ ।
के हो समन्वित ‘हिम्स’ दृष्टिकोण ?
समन्वित ‘हिम्स’ दृष्टिकोणले बिरामीको समग्र स्वास्थ्यलाई केन्द्रमा राख्दै विभिन्न सहायक पद्धतिलाई एकीकृत गर्ने अवधारणामा जोड दिन्छ । यसमा सन्तुलित पोषण, व्यक्तिअनुसार आयुर्वेदिक औषधि, उपयुक्त सहायक उपचार, योग तथा ध्यान, जीवनशैली परिवर्तन, मनोवैज्ञानिक तथा भावनात्मक सहयोग र आवश्यक अवस्थामा प्रमाणमा आधारित आधुनिक क्यान्सर उपचार समावेश गर्न सकिन्छ ।
यसको उद्देश्य क्यान्सरको एउटै वैकल्पिक उपचार प्रस्तुत गर्नु नभई बिरामीको शारीरिक, मानसिक, पोषणात्मक तथा भावनात्मक आवश्यकतालाई समग्र रूपमा सम्बोधन गर्नु हो । सबैभन्दा महत्त्वपूर्ण कुरा, क्यान्सरको प्रकार र अवस्थाअनुसार शल्यक्रिया, केमोथेरापी, रेडियोथेरापी, इम्युनोथेरापी वा टार्गेटेड थेरापी आवश्यक हुन सक्छ । यस्तो अवस्थामा प्रमाणमा आधारित आधुनिक ‘क्यान्सर विज्ञान’ उपचार रोक्नु वा त्यसको सट्टा आयुर्वेदिक उपचारमात्र प्रयोग गर्नु उचित हुँदैन ।
रोकथाममा जीवनशैलीको भूमिका
स्वस्थ र सन्तुलित भोजन, नियमित शारीरिक गतिविधि, पर्याप्त निद्रा, धूम्रपान तथा मदिराबाट टाढा रहने बानी, मानसिक तनावको व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परीक्षणले दीर्घकालीन रोगहरूको जोखिम कम गर्न सहयोग गर्न सक्छ । तर, क्यान्सर रोकथामलाई केवल आहार वा आयुर्वेदिक उपायमा सीमित गर्न हुँदैन । क्यान्सरका प्रकारअनुसार जोखिम कारक फरक हुने भएकाले आवश्यक स्वास्थ्य परीक्षण, स्क्रिनिङ तथा प्रमाणमा आधारित रोकथामका उपाय पनि उत्तिकै महत्त्वपूर्ण हुन्छन् ।
निष्कर्ष
आयुर्वेदले असामान्य उक्त ऊतक वृद्धिसँग मिल्दोजुल्दो अवस्थालाई अर्बुद, ग्रन्थी, दोष असन्तुलन, अग्निमन्द्यता, आम सञ्चय तथा ओजसको कमजोरीजस्ता अवधारणाबाट बुझ्ने प्रयास गरेको पाइन्छ । यसको मुख्य उद्देश्य शरीरको आन्तरिक सन्तुलन, पोषण, शारीरिक बल र जीवनको गुणस्तर सुधार गर्नु हो । त्यसका लागि आहार, जीवनशैली, आयुर्वेदिक औषधि, रसायन, योग तथा उपयुक्त सहायक उपचार प्रयोग गर्न सकिन्छ ।
जिम्मेवार चिकित्सकीय निगरानीमा आधुनिक क्यान्सर उपचारसँगै उपयुक्त आयुर्वेदिक तथा अन्य समन्वित सहायक पद्धति प्रयोग गर्दा पोषण कायम राख्न, उपचारसँग सम्बन्धित केही लक्षण व्यवस्थापन गर्न, शारीरिक तथा मानसिक स्वास्थ्यलाई सहयोग गर्न र जीवनको गुणस्तर सुधार गर्न योगदान पुग्न सक्छ । यस अर्थमा आधुनिक चिकित्सा र आयुर्वेदका उपयुक्त पक्षलाई वैज्ञानिक प्रमाण, चिकित्सकीय निगरानी र बिरामीको व्यक्तिगत अवस्थालाई आधार बनाएर सुरक्षित रूपमा समन्वय गर्ने दृष्टिकोण क्यान्सर बिरामीको समग्र हेरचाहका लागि उपयोगी हुन सक्छ ।
(डा. मण्डल र डा. आलम शुद्धिग्राम नेपालमा कार्यरत हुनुहुन्छ ।)







मुक्त हलियाको समस्या स्थायी समाधान
साउदी अरेबियालाई ५ विकेटले हराउँदै
बालेनलाई गगनको सुझाव : ‘महासभामा
बाढीले मनास्लु पदमार्ग अवरुद्ध, लार्केपास
नारायणगढ–मुग्लिन सडक सोमबारदेखि आंशिक बन्द,
भोटेकोशी बाढी महाविपत्ति हो, पीडितलाई