बझाङ जिल्लाको दुर्गाथली गाउँपालिका र छबिसपाथिभेरा गाउँपालिकाबीचमा पर्ने थली नौबिसको बिर्सती मेला बझाङको प्रसिद्ध धार्मिक र ऐतिहासिक मेला हो । बिर्सती मेला स्थानीय भाषामा ‘थलीको जात’ वा ‘बिर्सती जात’ को नामले पनि परिचित छ । मेलाको नाम ‘बिर्सती’ कसरी राखियो भन्ने कुरा पनि महत्त्वपूर्ण छ । भदौ २० गतेबाट मेला सुरु हुने भएकाले यस मेलाको नाम बिर्सती राखिएको भनाइ छ । मेलामा २३ भदौसम्म पूजा, खेलकुद, सांस्कृतिक कार्यक्रम, देउडा प्रतियोगिता, चाभाइ खेल, भारी खेल, ढुस्का प्रदर्शन, ढाका जुधाउने प्रतिस्पर्धा र राँगा जुधाइजस्ता गतिविधिहरू गर्ने गरिन्छ ।
बिर्सती मेला महालिंग, दुर्गा देवी र पाठपाला देउताका आलिपालिका करिया भक्तजनहरूले परापूर्वकालदेखि नै मनाउँदै आएका छन् । महालिंगका पुत्र पाठपाला देउताले बाटो-बाटोमा गोरु गोठालासँग चौतारी चिन्दै, मठमन्दिर बनाउँदै गर्दा एउटी बुढीले के गरेको यो ?, त्यति शक्तिशाली भए जुम्लाको सिंजाका राजालाई चिन्न लगा भनेको र पाठपाला देउताले राजालाई चिन्न लगाई आफ्नो शरणमा ल्याएको भन्ने किंबदन्ती रहेको छ । यसरी आफ्नो शरणमा ल्याएको खुसियालीमा लेकगाउँ गाउँका लेकालले र बझाङ जिल्लालगायत अन्य जिल्लाका करियाहरूले प्रत्येक वर्षको भदौ १८ गते साँझ लेकगाउँको दैपाडमा पूजा-आराधना सुरु गरेपछि बिर्सती मेला प्रारम्भ भएको मानिन्छ । भदौ १९ गते निराहार (पानी नखाई), फलाहार (फलफूलसमेत नखाई) दिनभर व्रत बसी बाठपाला गणेश देवताको पूजा आराधना गर्ने र साँझपख चाभाइ खेल र फागहरू गाएर, भारीखेल लगाएर रातभर भजनकीर्तन गर्ने, ढाका बजाई देवता चलाउने र स्थानीय मानिसहरू मन्दिरभित्र भेला भएर देवताको स्तुति गर्दै भविष्यवाणी गर्ने परम्परा रहेको छ । हजारौं भक्तजन र दर्शनार्थी बझाङ र सुदूरपश्चिमका अन्य जिल्लाहरूबाट यहाँ पुग्ने गर्दछन् ।
भदौ २० गतेका दिन भक्तजनहरू फेरि लेकगाउँको दैपाड मन्दिरमा पूजा आराधना गर्न भेला हुन्छन् । यस दिन विभिन्न प्रकारका चढावा, जस्तै आलम बैसेक, नेजा, कैल, घोडा, त्रिशूल, ढाका आदिका चढावाहरू गरिन्छ । यसपछि भक्तजनहरू मन्दिरदेखि महालिंग मन्दिर च्यागोटसम्म पदयात्रा गर्दै ढाका बजाउँदै, चह-चह गर्दै यात्रा गर्छन् ।
दुवै गाउँपालिकाका दर्शालु भक्तजन सबैजना च्याकोट पुगिसकेपछि च्याकोटमा पनि महादेवका फागहरू गाउँदै, ढाका बजाउँदै, प्रतिस्पर्धा गर्दै फलफूलहरू बाँडेर खाने प्रचलन छ । यसरी भारिखेलको रमाइलोसँगै फेरि सबै भक्तजनको घुइँचो नै दैपाड मन्दिर फर्कने र बेलुकीपख दुर्गाथलीको मालिकमाण्डु मन्दिरमा जाने र त्यहाँ दुवै गाउँपालिकाका दर्शालु भक्तजनहरू जम्मा हुने र भारिखेल खेल्ने, चाभाइ खेल खेल्ने साथै बीच-बीचमा रमाइलोका लागि ढुस्काहरू खेल्ने र रमाइलो गर्ने प्रचलन छ ।
बिर्सती मेलाका बारेमा विभिन्न किंबदन्तीहरू रहेका छन् । परापूर्वकालको कथाअनुसार महादेव र पार्वती वन विहारमा रहेका बेला घुम्दै मधेसबाट थलिसेनमा आएको र त्यहाँको एक गरिब रोकाया जातकी महिलालाई खाना खुवाउन अनुरोध गरेको किंबदन्ती छ । रोकाया महिलाले आफू गरिब भएको र आतिथ्य सत्कार गर्न केही नभएको भनेर महादेवलाई बिन्ती गरेको र महादेवले उनको भण्डारमा विभिन्न अन्नलगायत गोठमा भएको थारो गाईलाई समेत दुहुनो बनाइदिएको कथा छ । त्यसपछि रोकाया महिलाले खाना बनाएर खुवाउने बेलामा महादेवले उनलाई आफूहरूले खाएको नहेर्नु भनेको किंबदन्ती रहेको छ । तर, महिलाले लुकेर महादेव दम्पतीले खाना खाएको हेरेको र त्यो कुरा थाहा पाएपछि महादेव पार्वती खाना नखाई त्यहाँबाट हिँडेको भन्ने छ । महादेव भागेपछि वृद्ध महिलाले च्व-च्व (पछुतो व्यक्त गर्ने शब्द) गर्दै उनीहरूको पछि दौडिएको किंबदन्ती छ ।
बाह्रदेउ बड्डिज्यावनका देवी-देवताहरू थली नौबिसमा रमाइलो गर्न, कौडा र चौभेडा खेल्न, जुवातास खेल्न र मन्दिर निर्माण गर्न आउने गरेको भनाइ छ । एक दिन महादेवलाई कुष्ठरोग लाग्दा दुर्गादेवीले सुर्मादेवीलाई लसुन प्याज कुट्न लगाएको तर सुर्मादेवीले छिःछिः गर्दै घिन मानी–मानी काम गरेको देखेर दुर्गादेवी रिसाउँदा सुर्मादेवी भागेर साइपाल हिमालको काख सुर्मा सरोवर गएको, त्यसपछि दुर्गादेवीले थली जिउलामा महादेवको उपचार गरेको भन्ने किंबदन्ती रहेको छ ।
यसरी देवीदुर्गा र सुर्मादेवी अलग हुँदा मन्दिर नजिकै रहेको ठूलो पाँगरको रुखको आधा भागसहित आधा जिउलो सुर्मादेवीले च्यातेर लिएको भन्ने भनाइ छ र सोही अनुरुप जस्तो दृश्य अहिले पनि देखिन्छ । सुर्मा सरोवरमा पनि थली नौबिसका बोहरा थरका मानिसहरू गएपछि मात्रै यो मेला प्रारम्भ हुने परम्परा रहेको छ । यो मेलाले थली नौबिसका बोहरा थरका मानिसहरूका लागि विशेष महत्त्व राख्दछ र यहाँका ऐतिहासिक स्थलहरू जस्तै बाठपाला मन्दिर, दैपाड मन्दिर, महालिंग मन्दिर र च्याकोट महादेव मन्दिरका साथै अन्य धार्मिक स्थलहरूको महत्त्व दर्शाउँछ ।
बिर्सती मेलामा महालिंग, दुर्गादेवी र पाठपाला देवताको पूजाआजाका साथै मेलामा चाभाइ खेल, भारिखेल, देउडा खेल, ढुस्का प्रदर्शन, राँगा जुधाइ आदि हुने गर्दछन् । देउडा खेलमा मुख्यतया दोपाइल्या, तेपाइल्या, छोर्याटा र छोर्याटी (केटा–केटी) देउडा खेलिन्छ । यहाँका स्थानीयहरूले देउडालाई ‘तिउडो’ भन्ने चलन रहेको छ । मेलाको अन्तिम दिन भदौ २१ गते बिहान राँगा जुधाउने प्रचलन छ र तत्पश्चात् बिर्सती मेला समाप्त भएको मानिन्छ ।
बिर्सती मेलामा खाली खुट्टा जानुपर्छ भने भनाइ छ । मन्दिर रहेको थली जिउलो (ठूलो खेती गर्ने जमिन) एकै दिन बीउ राख्ने र रोपाइँ गर्ने गरिन्छ साथै कात्तिक महिनामा पनि एकै पटक धान काट्ने प्रचलन अहिले पनि कायमै रहेको छ ।







लागुऔषध खैरो हेरोइनसहित मकवानपुरमा तीन
कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य
भोटेकोशी बाढी : एक हजार
बाढी प्रभावित जिल्लाहरुमा राहत तिब्र,
क्यासिनोमा नेपाली प्रवेश गराई जुवा
पहिरोको जोखिम मोलेर बजारसम्म कृषि