पाल्पा । नेपालले अंग्रेज सेनालाई युद्धमा पराजित गरी विजय हासिल गरेको सम्झनामा पाल्पामा शनिवार २०७ औं विजय उत्सव स्वरुप भगवती रथयात्रा निकालिएको छ । नेपाली सेनाले भगवतीको रथलाई अपराह्न्न १२ः३० बजे सलामी दिएर तीन पटक मन्दिर परिक्रममा गराएपछि रथ निकालिएको हो ।
प्रत्येक वर्ष भगवती मन्दिर गुठी व्यवस्थापन समितिले जात्रा निकाल्दै आएको छ । भगवतीको रथको दुवैतिर तेर्साईएका दुई बलिया नोलहरुलाई काँधमा बोकी जयजयकारको गुञ्जन ध्वनी र बन्दुकको बडाइका साथ मूर्तिलाई रथमा राखेर नगर परिक्रमा गराइएको थियो । रथलाई जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले बलि चढाएपछि तानसेनको परिक्रममा गराइएको हो । रथलाई कुमाल समुदायका युवाले काँधमा बोकी नगर परिक्रमा गराएका हुन् ।
विगतका वर्षजस्तो बाजागाजा सहित सांस्कृतिक झाँकी निकालिएन । देश भोटेकोशी बाढीको पीडामा रहेका बेला संयमित र औपचारिक रूपमा रथ निकालिएको श्री ७ रणउजिरेश्वरी भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष अशोककुमार महर्जनले बताउनुभयो । देश नै शोकको अवस्थामा रहेकाले यस वर्ष जात्रामा अनावश्यक तामझाम नगरिएको उहाँको भनाई छ । अध्यक्ष महर्जनले भन्नुभयो “भोटेकोशीमा आएको विनाशकारी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएपछि देश शोकमा छ । यही अवस्थालाई ध्यानमा राख्दै हामीले विजयोत्सवलाई औपचारिकतामा सीमित गरेका हौं ।” उहाँका अनुसार विगतमा जस्तो पञ्चेबाजा, प्रसस्त ढिमेबाजा निकालिएन । नेपाली सेनाको बाजा भने प्रयोग गरिएको अध्यक्ष महर्जनले बताउनुभयो । रथलाई नगर परिक्रमा पछि मन्दिर परिसरमा पुर्याई विसर्जन गरिने समितिका अध्यक्ष महर्जनले बताउनुभयो । अहिले नगरका विभिन्न ठाउँहरुमा रथलाई घुमाइएको छ ।
पाल्पाका तैनाथवाला तत्कालिन कर्णेल उजिरसिंह थापाले वि. सं १८७१ देखी १८७२ सम्म अंग्रेजसंगको युद्धमा बुटवलको जितगढी क्षेत्रमा विजय हासिल गरेको सम्झनामा वि.स. १८७७ देखी कृष्ण जन्माष्टमीको भाद्र कृष्ण नवमीको दिन पाल्पामा निरन्तर रुपमा विजय उत्सव मनाउने परम्परा छ । कर्णेल थापालेअंग्रेजसंग बुटवल क्षेत्रको युद्धमा जानु अघि देवि भगवतीको पाउँ छोएर ‘युद्धमा विजयी भएमा मन्दिर बनाई सिन्दुरजात्रा गर्ने र भगवतिको महिमा चारैतर्फ फैलाउने छु’ भनी भाकल गरेका थिए । २ पटक सम्म बुटवल जितगढी क्षेत्रमा भएको युद्धमा अंग्रेज सेनामाथी विजयी भएपछि कर्णेल उजिरसिंह थापाले वि.स. १८७२ देखी ७६ सम्म ठुलो गजुरसहितको ३ तले मन्दिर निर्माण गरेका थिए । भगवतीको मन्दिर निर्माण कार्य पुरा भएपछि वि.स. १९७७ साल देखी विजय उत्सवको रुपमा प्रत्येक बर्ष भाद्र कृष्ण पक्षको नवमीको दिन भगवतिको रथजात्रा हुँदै आएको छ ।
अंग्रेजलाई युद्धमा हराएको विजय जात्राको रुपमा हुँदै आएको मन्दिरको नाम समेत रणउजिरेश्वरीबाट चर्चित छ । विजय उत्सवलाई भव्य रुपमा मनाउन लुम्बिनी प्रदेश सरकारले भगवती जात्राको दिन पाल्पा जिल्लामा सार्वजनिक विदा दिँदै आएको छ । जात्रा हेर्नको लागि तानसेनमा सयौंको संख्यामा जात्रालु जिल्ला र जिल्लाबाहिरबाट आएका थिए लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पामा मनाइने रणउजीरेश्वरी भगवती रथ जात्राले नेपालको वीरता र राष्ट्रिय गौरवको इतिहासलाई पुस्तौँदेखि जीवन्त राखेको बताउनुभयो । उहाँले भगवती जात्राले धार्मिक आस्था, सांस्कृतिक विविधता, सामाजिक सद्भाव र राष्ट्रिय एकताको भावना बलियो बनाउन महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गर्नुभयो । मौलिक सम्पदाको संरक्षण र प्रवर्द्धनमार्फत स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन सकिने उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले यस्ता सांस्कृतिक पर्वले रोजगारी सिर्जना र पर्यटन विकासमा समेत योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
रथयात्रामा मुख्यमन्त्री आचार्य सहित प्रदेश सभामुख तुलाराम घर्तीमगर, वन वातावरण तथा पर्यटनमन्त्री तुलसी प्रसाद चौधरी, प्रतिनिधीसभा सदस्य माधव थापा, प्रदेशका पूर्वस्वास्थ्यमन्त्री खेम बहादुर सारु र नेपाली सेना तथा सरकारका उच्च पदस्थ व्यक्तिहरुसँगैहजारौं भक्तजनहरुको सहभागीता रहेको थियो । जिल्लाका सरकारी कार्यालयहरु, संघसंस्था, समूहहरु सबै रथयात्रासँगै सदरमुकाम तानसेन परिक्रमा गरेका थिए ।







खर्क व्यवस्थापनमा नेपालले भुटानबाट सिक्नुपर्छ
सुनचाँदीको मूल्य घट्यो, आज प्रतिताेला
सर्लाहीमा भर्याङबाट लडेर महिलाको मृत्यु
भोटेकोशी बाढीपछि एक हजार ३९९
भक्तपुरमा पनि रात्रिकालीन सार्वजनिक यातायात
रसुवा बाढीपछि मकवानपुरका ६२ जना