काठमाडौं । नेपालका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढी, पहिरो तथा प्राकृतिक विपत्तिबाट भएको मानवीय क्षति र ठूलो जनधनको विनाशप्रति नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) ले गहिरो दुःख व्यक्त गरेको छ । एनएसएसएफले विपत्तिमा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता नागरिकहरूको सकुशल उद्धारको कामना गरेको छ ।
प्राकृतिक विपत्तिबाट बालबालिका, विद्यार्थी, शिक्षक, अभिभावक तथा समग्र विद्यालय समुदाय प्रभावित भएकोप्रति महासंघले चिन्ता व्यक्त गरेको छ । विपत्तिले घर तथा भौतिक संरचनामा क्षति पुर्याउनुका साथै बालबालिकाको शिक्षा, सुरक्षा, मानसिक स्वास्थ्य र भविष्यमा समेत गम्भीर असर पार्न सक्ने भन्दै एनएसएसएफले प्रभावित बालबालिका तथा विद्यालय समुदायको तत्काल संरक्षण, सुरक्षित वातावरण, निरन्तर शिक्षा र मनोसामाजिक सहयोगलाई राहत तथा पुनःस्थापनाको प्राथमिकतामा राख्न सम्बन्धित पक्षसँग आग्रह गरेको छ ।
खेलकुदले जितका साथै कठिन समयमा एकअर्काको साथ दिन पनि सिकाउने उल्लेख गर्दै महासंघले एकता, मित्रता, अनुशासन, सहकार्य र मानवीय संवेदनालाई आफ्नो मूल मूल्यका रूपमा आत्मसात् गरेको जनाएको छ । राष्ट्रिय विपत्तिको यस घडीमा प्रभावित समुदायसँग दृढतापूर्वक उभिने प्रतिबद्धता पनि महासंघले व्यक्त गरेको छ ।
एनएसएसएफले आफ्नो क्षमता र उपलब्ध स्रोतअनुसार राहत, उद्धार, पुनःस्थापना तथा विद्यार्थीकेन्द्रित सहयोगका कार्यमा सहकार्य गर्ने जनाएको छ । महासंघले आफ्ना प्रदेश तथा जिल्ला संरचना, विद्यालय, खेलाडी, प्रशिक्षक, शिक्षक, अभिभावक तथा सम्पूर्ण विद्यालय खेलकुद समुदायलाई स्थानीय आवश्यकताअनुसार मानवीय सहयोगका कार्यमा सक्रिय हुन आह्वानसमेत गरेको छ ।
महासंघले अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ, एसियन विद्यालय खेलकुद महासंघ र नेपाल विद्यालय खेलकुद महासंघका तर्फबाट प्राकृतिक विपत्तिबाट प्रभावित सम्पूर्ण परिवार तथा विद्यालय समुदायप्रति गहिरो समवेदना, ऐक्यबद्धता र सहयोगको प्रतिबद्धता व्यक्त गरेको छ ।







विपद् उद्धारका लागि भक्तपुर प्रशासनले
न्याय परिषद्को निर्णय : तीन
आईसीयूभित्रै अन्तर्वार्ता प्रकरण संसदमा प्रवेशः
पुर्चौडीमा पहिरोले एक घर पूर्ण
पहिचान भइसकेका शव तत्काल परिवारलाई
सम्पत्ति शुद्धीकरण विभागका डिजीलाई पेस्तोल