काठमाडौं । जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुद (एसियाड) को तयारीका लागि नेपाली कराते टोली जापान प्रस्थान गरेको छ । टोलीलाई शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसहित राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पदाधिकारीले शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुभएको थियो ।
मन्त्री पोखरेलको विशेष पहलमा एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीले पहिलोपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘भिआइपी’ पहुँचको सुविधा पाएका छन् । अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिनिधित्व गर्ने राष्ट्रिय खेलाडीप्रतिको सम्मान र प्रोत्साहन स्वरूप भिआइपी कक्ष प्रयोगको व्यवस्था गरिएको मन्त्री पोखरेलले बताउनुभएको छ । उहाँले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिरहेका खेलाडीले आफ्नो सम्पूर्ण क्षमता र समर्पणका साथ प्रतिस्पर्धा गर्ने विश्वास व्यक्त गर्दै उनीहरूको मनोबल बढाउन यस्ता पहल महत्त्वपूर्ण हुने बताउनुभएको छ ।
एसियाडमा नेपालबाट सहभागी हुने २२ खेलमध्ये जापान पुग्ने कराते पहिलो टोली हो । नेपाली टोलीले टोकियोस्थित विश्व सितोरियो करातेको मुख्य डोजोमा सेप्टेम्बर ६ देखि १६ तारिखसम्म प्रशिक्षण गर्नेछ । प्रशिक्षण सम्पन्न भएपछि टोली सेप्टेम्बर १७ मा टोकियोबाट एसियाड आयोजना हुने नागोया प्रस्थान गर्नेछ । करातेका खेल सेप्टेम्बर २० देखि २३ तारिखसम्म सञ्चालन हुनेछन् ।
एसियाडका लागि पुरुषतर्फ ५५ केजीमुनि राकेश मानन्धर, ६० केजीमुनि मिनबहादुर तामाङ र ८४ केजीमाथि तेन्जिङ शेर्पाले प्रतिस्पर्धा गर्नुहुनेछ । महिलातर्फ ६८ केजीमाथि एरिका गुरुङ, ६८ केजीमुनि निरूपा दोङ तामाङ तथा एकल कातामा सानुमाया थिङले प्रतिस्पर्धा गर्नुहुनेछ ।
टिम कातामा सानुमाया थिङ, एलिसा रास्कोटी र मेघा लिम्बू सहभागी हुनुहुनेछ । टोलीका प्रशिक्षकमा कुशल श्रेष्ठ र मन्डेकाजी श्रेष्ठ रहनुभएको छ । टोलीलाई बिदाइ गर्न राखेपका उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्य-सचिव रामचरित्र मेहता, शिक्षा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्धि व्यञ्जनकार, सल्लाहकार राजु सिंहलगायत विमानस्थल पुग्नुभएको थियो ।







न्याय परिषद्को निर्णय : तीन
आईसीयूभित्रै अन्तर्वार्ता प्रकरण संसदमा प्रवेशः
पुर्चौडीमा पहिरोले एक घर पूर्ण
पहिचान भइसकेका शव तत्काल परिवारलाई
सम्पत्ति शुद्धीकरण विभागका डिजीलाई पेस्तोल
आइतबारको बिदा कटौती गर्न राप्रपा