काठमाडौँ । भोटेकोशी बाढीपछि जारी खोज तथा उद्धार अभियानमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले जोखिम मोलेर काम गरिरहेको छ। पछिल्लो दुई दिनमा मात्रै सुरक्षाकर्मीको प्रयासमा चार जनाको जीवितै उद्धार गरिएको छ।
नेपाली सेनाको नेतृत्वमा शुक्रबार माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् केन्द्रको सुरुङमा फसेका दुई कर्मचारी र आज एक चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको हो। यसैगरी, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको प्रयासमा नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीकी ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई बाढीले पुरिएको घरबाट ११ दिनपछि जीवितै उद्धार गरिएको छ।
भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवा र नुवाकोटमा ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीले धादिङ र चितवनका सडक तथा पुलमा समेत क्षति पुर्याएपछि प्रभावित क्षेत्रमा जनजीवन अस्तव्यस्त बनेको छ।
बाढीका कारण जलविद्युत् आयोजनासहित विभिन्न क्षेत्रमा कार्यरत स्वदेशी तथा विदेशी नागरिक सम्पर्कविहीन भएका अवस्थामा नेपाली सेनाको नेतृत्वमा विशेष उद्धार टोली अहोरात्र खोज तथा उद्धारमा खटिएको छ।
११ घण्टाको निरन्तर प्रयासपछि दुई कर्मचारीको उद्धार
रसुवा बाढीपछि उद्धार टोलीको नेतृत्व गरिरहेका नेपाली सेनाका प्रमुख सेनानी गङ्गा बरालका अनुसार माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् केन्द्रको सुरुङमा फसेका दुई प्राविधिक कर्मचारीलाई करिब ११ घण्टाको निरन्तर प्रयासपछि शुक्रबार बिहान जीवितै उद्धार गरिएको हो।
उद्धार हुनेमा आयोजनामा कार्यरत प्राविधिक सञ्जय साह र कवीरजङ्ग महर्जन रहेका छन्। साहलाई बिहान करिब ९ः३५ बजे र महर्जनलाई १०ः०५ बजे उद्धार गरिएको थियो।
उद्धारमा नेपाली सेनाको ‘स्पेसल फोर्स’ विपद् व्यवस्थापन खोज तथा उद्धार टोली, प्राविधिक इन्जिनियर, नेपाल विद्युत् प्राधिकरणका प्राविधिक कर्मचारी, जलविद्युत् आयोजनाका विज्ञ तथा भौगर्भिक इन्जिनियरसहितको संयुक्त टोली परिचालित थियो।
प्रमुख सेनानी बरालका अनुसार बिहीबार साँझ करिब ६ बजेबाट उद्धार कार्य सुरु गरिएको थियो। निरन्तर ११ घण्टाको प्रयासपछि दुई कर्मचारीलाई जीवितै बाहिर निकाल्न टोली सफल भएको हो।
“दृढ इच्छाशक्ति र स्वच्छ भावनाका साथ काम गर्ने हो भने जस्तोसुकै विषम परिस्थितिमा पनि कठिनभन्दा कठिन काम गर्न हामी नेपाली सक्षम छौँ। अहिलेको अकल्पनीय रसुवा बाढीमा पनि खटिएर त्यो प्रमाणित गर्न सफल भएका छौँ,” उहाँले भन्नुभयो।
उद्धार कार्यलाई तीव्रता
नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले नेपाल सरकारको निर्देशनमा नेपाली सेनाको नेतृत्वमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सहयोग, सहकार्य तथा समन्वयमा खोज तथा उद्धार कार्य तीव्र गतिमा भइरहेको जानकारी दिनुभयो।
उहाँका अनुसार विशेष उद्धार टोली बाढी प्रभावित क्षेत्रमा दिनरात नभनी परिचालित छ।
“युद्धस्तरमा बाढी प्रभावित क्षेत्रमा खटिएको विशेष उद्धार टोलीले दिनरात नभनी काम गरेर मुलुकको फौजी संरचनासहित नेपाल र नेपालीको प्रतिष्ठा बढाउन सफल भएको छ,” उहाँले भन्नुभयो, “यसरी खटिने सुरक्षाकर्मीलाई हौसला प्रदान गर्न हामी सबैको कर्तव्य हो।”
खोज तथा उद्धारका क्रममा जङ्गी अड्डाबाट प्राप्त निर्देशन तथा जलविद्युत् आयोजनाका कर्मचारी र विज्ञबाट प्राप्त प्राविधिक सुझावलाई आत्मसात् गर्दै उद्धार टोलीलाई परिचालन गरिएको प्रमुख सेनानी बरालले बताउनुभयो।
बाढीमा फसेका तथा सम्पर्कविहीन नागरिकको जीवितै उद्धार हुने क्रम अझै बढ्ने र प्रभावित परिवारमा खुसी फर्कने अपेक्षा गरिएको छ।







खर्क व्यवस्थापनबाट जलवायु र बेरोजगारीको
अपहरणमा परेको १२ दिनपछि १५
विपद् व्यवस्थापनको लागि संसदीय उच्चस्तरीय
मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय
जलवायु परिवर्तनको असर न्यूनीकरण तथा
एनपीएलमा अहिलेसम्मकै ठूलो ‘स्टार’ इन्ट्री,