घनेन्द्र ओझा नेपाली साहित्यमा विशेषगरी कविता, गजल, मुक्तकफर कथामा सक्रिय हुनुहुन्छ । समालोचनामा पनि क्रियाशील उहाँका विभिन्न विधा र सिद्धान्त/समालोचनाका दर्जनजति कृतिहरू प्रकाशित छन् । ओझाका हालसम्म ‘आफ्नै चिहानमा टेकेर,’ २०६२, ‘बल्झेर याद तिम्रो’, २०६२, ‘बाटो अझै छ बाँकी’, २०६५ (राधा कणेलसँग संयुक्त) गजलसंग्रहहरू तथा ‘दुल्हा राजा आउनुभो’, २०६९ बालगजलकृति प्रकाशित छन् । उहाँका ‘एउटा अर्को संग्रामको घोषणा’, २०६५ र ‘असमान पहाडहरू’, २०७८ कविताकृति पनि प्रकाशित छन् । ‘नेपाली गजलः विगत र वर्तमान’, २०६४ (संयुक्त), ‘गजल कसरी लेख्ने ?’, २०६६ (संयुक्त), ‘नेपाली गजलः सिद्धान्त र विवेचना’, २०६७ र ‘गजलज्ञान’, २०७१ जस्ता गजलका सैद्धान्तिक/समालोचनात्मक पुस्तकहरूसमेत लेखिसक्नुभएका ओझाले नेपाली गजललाई परिष्कार गर्ने र छिरलिएको नेपाली गजललाई सैद्धान्तिक मार्गमा ल्याउने प्रयत्न विगत दुई दशकदेखि गर्दै आउनुभएको छ । उहाँले ‘बहरमाला’, २०६३, ‘गजलमाला’, २०६६ संयुक्त छन्द/बहरबद्ध गजलकृतिहरू, १९ वटा भाषाको ‘राष्ट्रिय भाषाका गजलहरू’, २०६९, समस्यापूर्ति संयुक्त गजलकृति ‘छातीभरि दुख्छ देश’, २०७२, ‘गजल बहस’, २०७१, गजलप्रधान पत्रिका ‘अनाम’ तथा ‘अनाममण्डली’ स्मारिकाको सम्पादनसमेत गर्नुभएको छ । ओझाको शास्त्रीय बहरमा मात्र लेखिएका गजलहरूको एल्बम ‘शुभेच्छा’ बजारमा छ । नेपाली गजलमा पहिलो छन्द/बहरबद्ध गजलकृति ‘बल्झेर याद तिम्रो’, २०६२ प्रकाशन, नेपाली गजलमा पहिलो छन्द/बहरबद्ध संयुक्त गजलकृति ‘बहरमाला’, २०६३ र दोस्रो छन्द/बहरबद्ध संयुक्त गजलकृति ‘गजलमाला’, २०६६ सम्पादन तथा नेपाली गजलमा पहिलो बहरबद्ध गजल एल्बम ‘शुभेच्छा’ प्रकाशन गर्नुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले हालै ‘राष्ट्रिय गजल दिवस’का रूपमा मनाउने निर्णय गरेको छ । राज्यका आधिकारिक निकायहरूले अब गजललाई सम्मान र पहिचान गर्न थालेको बताउनुहुने घनेन्द्र ओझासँग हिमालय टाइम्स दैनिकका लागि कृष्ण भुसालले गर्नुभएको गजल संवादको संक्षिप्त अंशः-
मोतीराम भट्टले रोपेको गजलको बिरुवा आज राष्ट्रिय गजल दिवससम्म आइपुगेको छ । त्यो बिरुवा कहाँसम्म हुर्कियो, कहाँ-कहाँ हाँगा भाँचिए ?
मोतीरामले उर्दू, हिन्दी गजलपरम्परा र गजलको खास शास्त्रीयतासहित नेपाली साहित्यमा गजललाई भित्र्याएका थिए । मोतीरामले गजलका अति आवश्यक (आधारभूत) तत्त्वहरू काफिया, शिल्प र लय (बहर)लाई गजलसँगै भित्र्याएका थिए । र, आफ्नो समूह मोतीमण्डलीमा सोहीअनुसार अभ्यास गराएका थिए । यही समयमा त्यसबेलाका विख्यात कविहरू कविशिरोमणि लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटा र नाट्यसम्राट बालकृष्ण समले पनि केही गजल मोतीरामकै परम्परामा रहेर लेखेका पाइन्छ ! यी तीनैजनाका गजल खोजेर विश्व कीर्तिमानी संगीतकार एवं गायक सन्तोष श्रेष्ठले आफ्नै संगीतमा गाउनुभएको छ ।
उपेन्द्रबहादुर जिगरसम्म आइपुग्दा अर्थात् २००० सालतिर जिगरको ‘एक सय एक गजल’ प्रकाशन हुँदासम्म गजलको शास्त्रीयता तोडिएको पाइन्छ । जिगरले आफ्नो पुस्तकको भूमिकामै गजल बहरमा लेखिने विधा भएको तर आफूले बहरको पालना गर्न नसकेको उल्लेख गरेका छन् । हो, यिनै उपेन्द्रबहादुर जिगरबाट गजलको शास्त्रीयतामा तोडफोड सुरु भएको हो ।
यसपछि करिब ३५ वर्ष जेपाली साहित्यमा गजलले फष्टाउन पाएन । विक्रमको २०३० को दशकमा मुक्तक माहोलकै लहरमा ज्ञानुवाकर पौड्यालले ६ पंक्तिको रचना ‘रूपरेखा’मा गजल नाममा प्रकाशन गरेपछि हो नेपाली साहित्यमा ‘गजल’ शब्दको पुनर्जागरण भएको । त्यसयता विभिन्न प्रयोग र परम्पराबाट नेपाली गजल अघि बढेको छ ।
ज्ञानुवाकरले जिगरको भन्दा बढी गजलको शास्त्रीय परम्परा भत्काउनुभयो । जिगरले कम्तीमा पुस्तकको भूमिकामा गजल बहरमै लेखिने तर आफूले बहरमा लेख्न नसकेको उल्लेख गरेर नयाँ लेखकलाई गजलको शास्त्रीयताबारे सजग गराएका छन् र उनले कम्तीमा आक्षरिक लय अंगालेका छन् ।
ज्ञानुवाकर पौड्यालले लयको कुनै परवाह गर्नुभएन र लयका बारे अनुज पुस्तालाई सजग पनि गराउनुभएन लामो समय । यसकारण पछिल्लो पुस्ता, जसले ज्ञानुवाकरलाई गुरु वा आदर्श मान्यो, त्यो सिंगो पुस्ता नै गजलको शास्त्रीयताबाट टाढा रह्यो । तर, पछिल्लो समय भने ज्ञानुवाकर पौड्याल स्वयं जिगरले भनेझैँ तथ्य स्वीकारेर नयाँ पुस्तालाई गजलको शास्त्रीयता बुझेर लेख्न सम्झाइरहनुभएको छ, जुन गजलका लागि राम्रो पक्ष हो ।
सँगसँगै २०५० सालयता डा.घनश्याम ‘परिश्रमी’, प्राडा.सनतकुमार बस्तीहरू गजलको शास्त्रीयताको वकालत गर्दै उपस्थित हुनुभयो । उहाँहरू स्वयं संस्कृत, नेपाली भाषाका विद्वान्मात्र हुनुहुन्न, हिन्दी भाषाका जानकारसमेत हुनुहुन्छ । उहाँहरूले समेत गजलको गलत शास्त्रीयताको अभ्यास गर्नुभयो र गलत नै सिकाउनुभयो अनुजहरूलाई । यसले आजसम्म गजलमा मात्र नभएर मानक नेपाली भाषा र वर्णविन्यासमा समेत नोक्सानी पुगेको छ ।
यसबीच विक्रमको २०६० को दशकको सुरुमै काठमाडौंमा ‘गजल परिष्कार अभियान’ लिएर अनाममण्डली जन्मियो । गजलको संस्थागत विकासको सुरुवात यसपछि भयो । यसले गजलको शास्त्रीयता खोज्ने, बहस गर्ने र गजलसम्बद्ध कार्यक्रम, प्रशिक्षण, प्रकाशन गर्ने काम गरेको देखिन्छ । यद्यपि, अनाममण्डली पनि गजलको विशुद्ध शास्त्रीयतामा चुकेको र बहकिएको अवस्था छ । साँच्चै भन्दा, ज्ञानुवाकरले पुनर्जागरण गरेको नेपाली गजलमा पुनरुत्थानको काम अनाममण्डलीको सक्रियतापछि भएको दखिन्छ ।
तपाईंको भनाइमा गजललाई गजल बनाउने न्यूनतम आधार काफिया, बहर र शिल्प अर्थात् उक्तिवैचिर्त्य हुन् । यी तीनमध्ये एउटामात्रै छुट्यो भने गजलको आत्मा कहाँ हराउँछ ?
राम्रो सवाल । वास्तवमा गजलमा धेरै कुराहरूको उपयुक्त संयोजन आवश्यक छ । तिनमा पनि काफिया, बहर अर्थात् शास्त्रीय लय र शिल्प अर्थात् उक्तिवैचिर्त्य आधारभूत आवश्यकता हुन् । यसका अतिरिक्त सुकोमलता, मधुरता, शालीनता, हार्दिकता जस्ता कुरा पनि गजलमा अपेक्षित छन् । उल्लेखित तीन तत्त्व काफिया, बहर र शिल्पको अभावमा भने रचना गजल बन्नै सक्दैन । काफिया अर्थात् अनुप्रास गजलको प्राण मानिन्छ । यसको अभावमा रचना मुटुबिनाको मानिसको आकृति जस्तो बन्छ भने बहर गजलको श्वास हो, जसले गजललाई चलायमान, मधुर र श्रवणयोग्य बनाउँछ । यसरी नै शिल्प गजलको व्यक्तित्व हो, जसले गजलश्रोता वा पाठकलाई झट्का दिएर ‘वाह !’ उत्पन्न गराउँछ । यसर्थ, यी तीनवटै तत्त्वको प्रभावकारी र उपयुक्त संयोजन नभई गजल बन्दैन । तब, के बन्छ त यी तत्त्व नभए ? भन्दा-बहर र शिल्प नभए नज्म (गीत) वा अगजल (एन्टी गजल, जुन हिन्दीमा प्रचलित छ) बन्नसक्छ । काफिया नभए गीत वा कविता बन्नसक्छ ।
‘गजल बहरमा लेख्नुपर्छ’ भन्नु र ‘गजल बहरमा मात्र लेखिँदो रहेछ’ भन्नुबीच ठूलो वैचारिक दूरी छ । तपाईंको यो भनाइले नेपाली गजलमा दशकौंदेखि चलिरहेको बहसको जग नै हल्लाइदिएको देखिन्छ । तपाईंले वास्तवमा के सच्याउन खोजिरहनुभएको हो–गजल लेख्ने अभ्यास कि गजललाई बुझ्ने हाम्रो दृष्टि ?
गजल गेय विधा हो । साजबाज र आधुनिक संगीतको विकास नहुँदा तरन्नुम वा लयमा वाचन गर्ने परम्परा थियो, जुन गायनसँग नजिक हुन्छ । यसर्थ, गजललाई लेख्दै लयबद्ध लेखियो भने त्यो गाउन वा सुललित तवरले वाचन गर्न सहज हुन्छ । त्यो लयको एकरूपता नै बहर हो । लघु र गुरु अथवा ह्रस्व र दीर्घको समानताबाट उत्पन्न लय नै बहर हो । संगीत निर्माणका क्रममा पनि ह्रस्व-दीर्घको एकरूपता अर्थपूर्ण हुने हुन्छ । सहज कम्पोज हुने अवस्था रहन्छ ।
यसरी नै गजलमा अनिवार्य मानिने अनुप्रास वा काफियाको एकरूपताका लागि पनि बहर जरुरी देखिन्छ । बहरका निश्चित अक्षरमा निश्चित मात्रा निश्चित स्थानमा हुने हुँदा काफियाका अक्षरमा पनि समान मात्रा हुन्छ र वाचन वा गायनमा सहजता हुन्छ । गजल बहरमा लेख्नुपर्छ भन्नू वा गजल बहरमा मात्र लेखिँदो रहेछ भन्नु उस्तै हो आशयमा तर ‘लेख्नुपर्छ’ भन्ने सुन्दा दबाबमूलक जस्तो लाग्नसक्छ र ‘लेखिँदो रहेछ’ सुन्दा अलिक नरम जस्तो लाग्नेमात्र हो । यसो भनेर मैले तपाईंले भन्नुभएका दुवै कुरा होऊन् भन्ने चाहेको- गजल लेख्ने अभ्यास र गजललाई बुझ्ने हाम्रो दृष्टिमा सुधार र परिष्कार ।
कतै बहरको आग्रहले सिर्जनाको स्वतन्त्रता बाँध्छ भन्ने डर छ, कतै बहरविहीन गजलले गजलको शास्त्रीय पहिचान मेटाउँछ भन्ने चिन्ता । तपाईंका आँखामा यी दुई ध्रुवबीचको वास्तविक सत्य कहाँ उभिएको छ ?
हालसम्मको मूल सवाल र विवाद वा बहस यसमै घुमेको छ । यी दुवै सवाल नै बहस र विवादका केन्द्र हुन् । हरेक विधाका आफ्नै संरचना र विशेषता छन् र नै ती विधाका भिन्न पहिचान बनेका हुन् । गजलको पनि आफ्नै पहिचान, संरचना छ । त्यही भिन्न र विशिष्ट संरचनामा बहर पनि एक हो । यसकारण बहर नै नभए त्यो रचना गजल बन्दैन । जुन तत्त्व नभई कुनै रचना गजल बन्दैन भने त्यसलाई बेवास्ता गरेर ‘मैले गजल लेखेँ’ वा ‘मेरो रचना गजल हो’ भनेर ढिपी गर्नु, विवाद वा लडाइँ गर्नु गजलको शास्त्रीय मान्यताका आधारमा (मेरो भनाइमा होइन किनभने म सिद्धान्तका आधारमा मात्र भनिरहेको छु) अर्थ रहँदैन किनभने त्यो रचना गजल होइन । मानिसको सिकाइ कहिल्यै सकिँदैन । परिष्कार र सुधार जहिले पनि गर्न सकिन्छ, गर्नुपर्छ ।
तपाईं र संगीतकार सन्तोष श्रेष्ठले आगामी दशकलाई ‘नेपाली गजल गायनको स्वर्ण दशक’ बनाउने परिकल्पना गर्नुभएको छ र कार्य पनि गरिरहनुभएको छ । एउटा दशकलाई स्वर्णिम बनाउने सपना त सुन्दर छ, तर सपनालाई इतिहासमा परिणत कसरी गर्नसकिएला ?
हो, विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठले र मैले नेपाली शास्त्रीय गजल गायनमा ल्याउन एउटा अभियानकै आवश्यकता महसुस गरेर ‘नेपाली गजल गायन स्वर्ण दशक, विसं २०८०-२०९०’ अभियान घोषणा गरेका हौं । सुरुमा यो अभियानलाई लिएर केही तीता-मीठा टिप्पणी सुनिए पनि अहिले अभियान तेस्रो वर्षमा प्रवेश गरिरहँदा देशभर प्रत्यक्ष गजल गायनका धेरै कार्यक्रम भइसकेका छन् ।
यही अभियानअन्तर्गत सन्तोष श्रेष्ठकै संगीत र स्वरमा राधा कणेल र घनेन्द्र ओझाका शब्दमा ‘नसोधी’, दार्जिलिङका संगीतकार जीवनप्रकाश प्रधानको संगीतमा रिदम रेकर्डिङ्स दार्जिलिङबाट राधा कँणेल, रश्मि असफल र घनेन्द्र ओझाका शब्दमा भारतबाट पहिलो नेपाली गजल एल्बम ‘मतला’ बजारमा आइसकेका छन् । अभियानअन्तर्गत नै देशका अन्य सातवटै प्रदेशमा प्रत्यक्ष गजल गायन हुँदैछन् । यी उदाहरणका रूपमा प्रस्तुत गरेको मात्र हुँ, यो अभियान तीव्र र व्यापक हुँदै छ भनेर । तर, यतिले मात्र अभियान तपाईंले भन्नुभएझैँ ‘ऐतिहासिक’ भइहाल्दैन ।
यसका लागि सबैको साथ, सहयोग, सहभागिता जरुरी छ । सँगसँगै, गजल गायन नेपालमा शिशु अवस्थामा रहेकाले यसको गुणस्तर, गायनका विभिन्न शैलीबारे सिक्ने, सिकाउने, अध्ययन र अभ्यास गर्ने काम पनि महत्त्वपूर्ण छन् । यद्यपि, हामी यस अभियानलाई सफल बनाउन दत्तचित्त छौं ! अभियानमा गजलको विकास, विस्तार र परिष्कारका लागि सक्रिय संस्थाहरू अनाममण्डली, नेपाल गजल प्रतिष्ठान, अन्तर्राष्ट्रिय नेपाली गजल मञ्च, गोल्डेन क्रियसन आदिको पनि सक्रिय साथ र सहयोग छ । अन्य संस्थाको ऐक्यबद्धता छ ।
राष्ट्रिय गजल दिवस घोषणा भएको क्षणलाई तपाईंले नेपाली गजलको संस्थागत सम्मानका रूपमा लिनुभएको छ । अब मोतीरामको नाममा दिवस मनाउनुमात्र पर्याप्त होला ?
नेपाली गजलले झण्डै डेढ सय वर्षको यात्रा तय गरिसक्दा पनि राज्यस्तरबाट सम्मान र साहित्यिक हैसियत प्राप्त गर्न संघर्ष गरिरहनुपरेको छ । करिब डेढ दशकअघि मात्र गजललाई त्रिभुवन विश्वविद्यालयका पाठ्यक्रममा समावेश गरेर गजललाई प्राज्ञिक हैसियत प्रदान गरिएको छ । यद्यपि, त्यसमा अझ प्रस्ट हुन र पाठ्यक्रम सुधार गर्न आवश्यक छ । विभिन्न विश्वविद्यालयले विद्यावारिधिका शोध गजलमा गराउन थालेका/गराइरहेका छन् । यो खुशीको कुरा हो । तर, भाषा, साहित्यको उन्नयनका लागि स्थापित नेपाल प्रज्ञाप्रतिष्ठान भने लामो समय गजलप्रति उदासीन रह्यो । नेपाल प्रज्ञाप्रतिष्ठानबाट २०७६ माघमा बृहत् राष्ट्रिय गजल महोत्सव भयो, जुन ऐतिहासिक थियो । उक्त महोत्सवले नेपाली गजलका लागि ऐतिहासिक घोषणासमेत गरेको छ । त्यसपछि सामान्य वाचन गरेर झारा टार्ने काम भएकामा यसपटक हालै गठित नयाँ प्राज्ञ परिषद्ले पहिलो बैठकमै आदिगजलकार मोतीराम भट्टको जन्मदिन कुशे औंसीलाई ‘राष्ट्रिय गजल दिवस’का रूपमा मनाउने निर्णय गरेको छ । यसले राज्यका आधिकारिक निकायहरूले अब गजललाई सम्मान र पहिचान गर्न थालेका छन् भन्ने पुष्टि भएको छ ।
यसअघि प्रज्ञाप्रतिष्ठानले मोतीजयन्ती अर्थात् ‘राष्ट्रिय गजल दिवस’का अवसरमा २६ भदौमा आयोजना गर्ने भनिएको गजलसम्बन्धी विशेष कार्यक्रमको मिति भने सारेको छ । अब उक्त कार्यक्रम १६ असोजमा आयोजना गरिने प्रतिष्ठानले जनाएको छ । भोटेकोशीमा १० भदौमा आएको अकल्पनीय बाढीका कारण देश शोकमा रहेको र विपत्को अवस्था रहेकाले कार्यक्रमको मिति सारिएको प्रतिष्ठानले जनाएको छ ।
यसलाई ‘मपाइँत्व’ भनिँदैन भने, यसका लागि नयाँ प्राज्ञज्यूहरूसँग सामाजिक सञ्जालमार्फत र व्यक्तिगत रूपमा पनि मैले नै प्रस्ताव गरेको थिएँ राष्ट्रिय गजल दिवसका लागि । यस निर्णयका लागि कुलपति, उपकुलपति, काव्य विभाग प्रमुख दीपक सापकोटा, प्राज्ञ परिषद् सदस्यहरू नवीन अभिलाषी, रूपा झा, प्राज्ञसभा सदस्यहरू श्रेष्ठप्रिया पत्थर, दीपक समीप, छन्दमणि त्रिपाठीलगायतको विशेष भूमिका छ । उहाँहरूप्रति हार्दिक आभार ।
अब सैद्धान्तिक/प्राज्ञिक बहस र अनुसन्धान पनि सँगसँगै अभियानकै रूपमा अघि बढाउनुपर्छ । यसका लागि पनि हाम्रा प्राज्ञिक निकायहरू त्रिभुवन विश्वविद्यालय, नेपाल प्रज्ञाप्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानको भूमिका महत्त्वपूर्ण हुन्छ । गैरराज्य तहबाट गजलसम्बद्ध संस्था र अभियन्ताहरूको पहल त भइरहेकै छ ।







जलवायु परिवर्तनको असर न्यूनीकरण तथा
एनपीएलमा अहिलेसम्मकै ठूलो ‘स्टार’ इन्ट्री,
विपद् व्यवस्थापनमा संसदीय उच्चस्तरीय समिति
विपद् उद्धारका लागि भक्तपुर प्रशासनले
न्याय परिषद्को निर्णय : तीन
आईसीयूभित्रै अन्तर्वार्ता प्रकरण संसदमा प्रवेशः