काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले भदौ १० मा रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण नुवाकोट जिल्लाका विभिन्न ठाउँमा भएका अकल्पनीय मानवीय एवं भौतिक क्षतिको स्थलगत अवलोकन एवं निरीक्षण गरेको छ । महासंघ अध्यक्ष निकोलस पाण्डे नेतृत्वको प्रतिनिधिमण्डलले निर्माण व्यवसायी संघ नुवाकोटका प्रतिनिधिहरूसँगै देवीघाट, ढुंगे, गेर्खुटार, शुभघाटलगायतका क्षेत्रमा बाढीका कारण भएको व्यापक क्षतिबारेमा जानकारी लिएको छ ।
स्थलगत निरीक्षणपछि तत्काल ढुंगेको बुद्ध मन्दिरको तल्लो भागबाट त्रिशूली बजार जोड्ने गरी दुर्ई सय ५० मिटर लामो झोलुंगे पुल निर्माण गर्दा नुवाकोटसहित छिमेकी जिल्लाका ५० हजारभन्दा बढी स्थानीय लाभान्वित हुने देखिएपछि महासंघले पूर्वाधार मन्त्रालयसँगको समन्वयमा उक्त पुल निर्माणलाई उच्च प्राथमिकतामा राखेको छ ।
मन्त्रालयका प्राविधिक विज्ञहरूसँगको परामर्शमा पुल निर्माण कार्य अघि बढाइने महासंघका अध्यक्ष निकोलस पाण्डेले जानकारी दिनुभएको छ । पुल निर्माणपछि नुवाकोट जिल्ला अस्पतालसहित किसपांग र मेघाङ गाउँपालिका तथा विदुर नगरपालिका वडा नम्बर ७, ८, ९ र ३ का केही भूभागसँग विच्छेद भएको सम्पर्क पुनर्स्थापना भई हजारौं लाभान्वित हुने स्थानीयको भनाइ छ ।
महासंघ अध्यक्ष पाण्डे नेतृत्वको प्रतिनिधिमण्डललाई विदुर नगरपालिकाका प्रमुख, जिल्लास्थित नेपाली सेनाका उच्च पदस्थ अधिकारी र सडक डिभिजन कार्यालयका प्रमुखले बाढीका कारण नुवाकोटमा भएको क्षति र अबको निकासबारे अवगत गराएका थिए । प्रतिनिधिमण्डलमा अध्यक्ष पाण्डेसँगै महासंघका वरिष्ठ उपाध्यक्ष रामजी पन्त ‘मुकेश’, उपाध्यक्ष बालकृष्ण थापा, कार्यसमिति सदस्य देवराज पाण्डे र विशेष आमन्त्रित सदस्य ओपेन्द्रकुमार खड्का हुनुहुन्थ्यो ।







बाढीले क्षति पुर्याएका झोलुङ्गे पुल
प्रधानमन्त्री राहत कोषमा मौज्दात रु
कन्काइ पुल १४ वर्ष अलपत्र
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
खर्क व्यवस्थापनमा नेपालले भुटानबाट सिक्नुपर्छ
सुनचाँदीको मूल्य घट्यो, आज प्रतिताेला