‘जून-तारा’ खिमानन्द आचार्यद्वारा लिखित बालकविता सङ्ग्रह हो । श्रीमती सरस्वती आचार्य प्रकाशक रहेको यो पुस्तक डिएमआई आकारमा रहेको छ । २०८२ सालमा पहिलो संस्करणका रूपमा प्रकाशित यस पुस्तकको सर्वाधिकार कवि आचार्यमै सुरक्षित छ । प्रदीप अधिकारीको ले-आउट र शैलेश आचार्यको आवरण यस पुस्तकमा रहेको छ । पुस्तकको छपाइ राम्रो छ, अशुद्धिहरू कमै मात्र भेटिन्छन् । यस पुस्तकमा भूमिका खण्डमा आठ र पाठ्यखण्डमा १०० गरी जम्मा १०८ पृष्ठ छन् । पुस्तकमा हलुका पहेँलो कागजको प्रयोग भएको छ । पुस्तकको मूल्य व्यक्तिगत रूपमा २०० र संस्थागत रूपमा ४०० रुपैयाँ तथा विदेशमा २० अमेरिकी डलर राखिएको छ ।
आवरणमा पुस्तकको शीर्षक अनुसार आकाश र त्यहाँका जून र ताराहरू देखाइएको छ । बालबालिकाहरूले ती जून–तारालाई देखाइरहेको र हेरिरहेको चित्र यहाँ देख्न सकिन्छ । माथि पुस्तकको शीर्षक ठूला अक्षरमा ‘जून–तारा’ भनेर राखिएको, कोष्ठभित्र ‘बालकविता सङ्ग्रह’ भनिएको छ । तल लेखकको नाम, पृष्ठावरणमा फोटोसहित परिचय दिएको छ । जसनुसार उहाँ लुम्बिनी अञ्चलको डिभर्ना अर्घाखाँचीमा जन्मिनुभएको र २०४३ सालमा ‘धर्तीका माकुरा’ शीर्षकको कविता सङ्ग्रह प्रकाशित भएको उल्लेख छ ।
बालकहरूको मनोभावना प्रौढ व्यक्तिको भन्दा भिन्न हुन्छ । तिनका सोचाइ, चाहना, आकांक्षा आदिलाई समेटेर साहित्य सिर्जना गर्नुपर्ने भएको हुँदा प्रौढ साहित्य सिर्जना गर्नभन्दा बालसाहित्य सिर्जना गर्न कठिन हुन्छ । बालकका लागि सरल शब्द, अभिधा अर्थ, सोझो भाव समावेश गर्नुपर्ने हुन्छ । त्यस अर्थमा बालसाहित्य सिर्जना गर्ने मान्छेले सन्तुलित भाषाको प्रयोग गर्नुपर्ने हुन्छ । आचार्यका कविताहरूमा बालकोचित भाषा प्रयोग भएको पाइन्छ ।
उहाँका पूर्वप्रकाशित कृतिहरू उल्लेख भएका छन् । जसअनुसार मनका तरङ्गहरू (गीतसङ्ग्रह), पश्चाताप (लघुकथा सङ्ग्रह), पागल साथी (कथा सङ्ग्रह) र आस्थाका प्रतिबिम्बहरू (कवितासङ्ग्रह) एकै वर्ष २०७८ सालमा प्रकाशित भएका छन् । २०७८ सालमा चारवटा कृति प्रकाशित भएपछि उहाँका हाल २०८१ सालमा आएर एकैपटक सातवटा कृतिहरू प्रकाशित भएको उल्लेख छ । एकासी सालमा अञ्जन (उपन्यास), छोराबुहारी (उपन्यास) जुन–तारा (बालकविता सङ्ग्रह), स्वदेशदेखि परदेहसम्म (उपन्यास), देश दुःखेको बेला (कविता सङ्ग्रह), अस्पतालको शैøयाबाट (कथा सङ्ग्रह) र आँखीझ्यालबाट चियाउँदा (लघुकथा सङ्ग्रह) प्रकाशित भएका छन् । उहाँका सम्पादनमा अनेक डायस्पोरा कविता सङ्ग्रह, अनेसास नारी संसार मासिक पनि प्रकाशित भएका छन् भने हिमालय टाइम्स, गोरखापत्र, मधुपर्क, मुना, समाचारपत्र आदि पत्रपत्रिकाहरूमा फुट्कर रचना पनि प्रकाशित हुँदै आएको उल्लेख छ ।
उहाँले आफ्ना पिता विद्युराम आचार्य र माता ठगेश्वर आचार्यमा समर्पित गर्नुभएको छ । भूमिकाखण्डमा आफ्नो, आफ्नी श्रीमती सरस्वती आचार्य, जेठो छोरा कैलाश र कान्छो छोरा सुलभको फोटो राख्नुभएको छ । विष्णु प्रभातको ‘भूमिका’ र कविको ‘मेरो भन्नु’ उल्लेखपछि विषय सूची छ । मनासस भर्जिनिया अमेरिकामा बस्दै आउनुभएका आचार्यले पुस्तकमा ७२ वटा बालकविताहरू समावेश गर्नुभएको छ ।
पुस्तकमा समावेश भएका उहाँका कवितामध्ये ५३ वटा कविताको शीर्षक एक शब्दमा, १६ वटा कविताको शीर्षक दुई शब्दमा र तीनवटा कविताको शीर्षक तीन शब्दमा राख्नुभएको पाइन्छ । कविता छोटाछोटा छन् । यीमध्ये अधिकांश कविताको फैलावट एक पृष्ठको मात्र छ । ४८ वटा कविता एक पृष्ठको फैलावटमा छन् भने २३ वटा कविता दुई पृष्ठको फैलावटमा छन् । यो बालकविताको लेखनको परम्परा अनुसारको लेखन हो किनभने बालकहरूका लागि लेखिने कविता उनीहरूको मनोभावना अनुसार छोटाछोटा हुनुपर्छ । आचार्यका अधिकांश कविता यसरी नै लेखिएका छन् भने अन्तिमको ‘टुहुरीको कविता’ अलिक लामो छ । यो कविता ६ पृष्ठको फैलावटमा छ ।
महाकवि लक्ष्मीप्रसाद देवकोटादेखि माधव घिमिरेसम्मले बालकवितामा लेख्ने गरेका विषय प्रायः त्यसपछिका कविताले तिनै विषयलाई दोहोर्याएर लेख्ने गरेको पाइन्छ किनभने बालकका लागि दृष्टान्त बनाएर लेखिने विषय तिनै हुन् । आचार्यका यस कविता सङ्ग्रहमा भएका कविताका विषयलाई हेर्ने हो भने प्राणीसम्बन्धी, चाडपर्व र रीतिस्थिति सम्बन्धी, ऋतुसम्बन्धी, लत्तावृक्षसम्बन्धी, नाता–सम्बन्ध सम्बन्धी, ग्रह र तारापिण्डसम्बन्धी, शरीरका अङ्गसम्बन्धी, यन्त्रसम्बन्धी, प्रकृतिका विविधरूपसम्बन्धी कविता समावेश भएका छन् ।
प्राणीहरूमा उहाँले पुतली, भमरा, गाई, घोडा, बाघ, गौंथली, बिरालो, चरी, पक्षी आदिलाई समेट्नुभएको छ भने ऋतुमा वसन्त ऋतु, लतावृक्षहरूमा फूल, कोपिला, मुना, नातामा आमा, भाइ, बहिनी, तारा पिण्डहरूमा जून, तारा, सूर्य छन् भने शरीरका अङ्गहरूमा आँखा, हात, आदिलाई पनि विषय बनाएको पाइन्छ । यसैगरी यन्त्रमा विमान अनि धराधाम, शरीरका अङ्गहरूमा हात, आँखा आदिलाई कविताले विषय बनाएको छ । यस कविता सङ्ग्रहमा राष्ट्र र राष्ट्रियता, मायाममता, चाडपर्व, रीतिस्थिति, संस्कार-संस्कृति, स्थानीयता, लतावृक्ष, नातासम्बन्ध, नदीनाला, चराचुरुङ्गी, जीवजीवात्मा आदि समेटिएका छन् । यसरी बालकविता सङ्ग्रहमा उहाँले विविध विषयलाई छनोट गरी बालमनोभावना अनुसारका कविताहरू लेख्नुभएको छ । छोटामा तीन श्लोकदेखि लामो कवितामा २३ श्लोकसम्म उहाँले लेख्नुभएको छ ।
बालकहरूको मनोभावना प्रौढ व्यक्तिको भन्दा भिन्न हुन्छ । तिनका सोचाइ, चाहना, आकांक्षा आदिलाई समेटेर साहित्य सिर्जना गर्नुपर्ने भएको हुँदा प्रौढ साहित्य सिर्जना गर्नभन्दा बालसाहित्य सिर्जना गर्न कठिन हुन्छ । बालकका लागि सरल शब्द, अभिधा अर्थ, सोझो भाव समावेश गर्नुपर्ने हुन्छ । विभिन्न ध्वनि, रस, अलङ्कार आदि बालकले बुझ्न र ठम्याउन सक्दैन । त्यस अर्थमा बालसाहित्य सिर्जना गर्ने मान्छेले सन्तुलित भाषाको प्रयोग गर्नुपर्ने हुन्छ । आचार्यका कविताहरूमा बालकोचित भाषा प्रयोग भएको पाइन्छ । यथार्थमा यो सङ्ग्रह नेपाली बालसाहित्यको एउटा नवीनतम् प्राप्ति हो । यस सङ्ग्रहका लागि आचार्यलाई बधाई र कृतिको सफलताको कामना । साथै एक दर्जन पुस्तकहरू नेपाली भाषालाई प्रदान गरिसक्नुभएका आचार्यका अन्य पुस्तक पनि आइरहून् उहाँलाई शुभकामना ।







विपद् व्यवस्थापनको लागि संसदीय उच्चस्तरीय
मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय
जलवायु परिवर्तनको असर न्यूनीकरण तथा
एनपीएलमा अहिलेसम्मकै ठूलो ‘स्टार’ इन्ट्री,
विपद् व्यवस्थापनमा संसदीय उच्चस्तरीय समिति
विपद् उद्धारका लागि भक्तपुर प्रशासनले