किशोर साहित्य किशोर पाठकको रुचि र मनोविज्ञानलाई ध्यानमा राखेर लेखिएको हुनुपर्छ भन्ने मान्यता छ । किशोर साहित्यले किशोर पाठकको मानसिक र बौद्धिक विकासमा टेवा पुर्याउने हुँदा सोही अनुरूपको सकारात्मक शिक्षा र सन्देशसँगसँगै मनोरञ्जन प्रदान गर्ने किशोर साहित्यको आवश्यकता छ भन्ने यथार्थलाई मनन गरेर लेखक उद्धवप्रसाद प्याकुरेलले ‘नायक’ उपन्यास लेखेका छन् । विशेषगरी किशोर पाठकमा नेतृत्व क्षमताको विकास र विस्तारमा यो उपन्यास केन्द्रित रहेको देखिन्छ । यो उपन्यासलाई सम्पूर्ण किताबले प्रकाशन गरेको छ । म पनि नायक बन्न सक्छु भन्ने अभिप्रेरणाबाट परिचालित पात्रको मनोविज्ञानलाई कथानक बनाएर लेखिएको यस उपन्यासमा नेतृत्व गर्ने क्षमता भएको व्यक्ति नै वास्तविक नायक हो भन्ने सन्देश दिन खोजिएको महसुस हन्छ ।
वास्तविक जीवनमा नायकले प्राप्त गर्ने इज्जत, सम्मान, प्रेम र सामाजिक हैसियतबाट प्रभावित एउटा किशोरको मनोविज्ञानले सधैं नायकको परिकल्पना गरेको हुन्छ । नायक के हो, को हो र कसरी हुन्छ भन्ने प्रश्नको उत्तर खोज्ने क्रममा आफैंलाई नायकमा रूपान्तरण गर्न लालायित एउटा किशोर पात्रको मनोभावना, सोच र अवधारणा अनि सोही अनुरूपको आचरण र व्यवहारलाई उपन्यासमा अत्यन्तै सरल, शालीन र शिष्ट भाषाशैलीमा प्रस्तुत गरिएको छ । नायक को हो भनेर चिन्ने अभिलाषाबाट प्रेरित एउटा पात्र आभासको मनमा उठ्ने प्रश्नहरूले नायकको वास्तविक परिभाषा खोजेको छ ।
यो उपन्यासमा एउटा स्कुलको बालक्लबको अध्यक्ष चयन गर्ने सन्दर्भलाई कथानकको केन्द्रबिन्दु बनाइएको छ । कथानकको मूलपात्रको रूपमा आभासलाई उभ्याइएको छ भने उनीसँगसँगै अर्की पात्र आराधनालाई मूल पात्रसँगै जोडेर कथानक बुनिएको छ । कथानक भित्रअरू सहायक पात्रहरूमा विशेषगरी विराट र स्मितालाई महत्त्वपूर्ण भूमिकामा उभ्याइएका छन् ।
शीतलता दिने वरपिपल पो नायक हुन् कि ? जगतलाई एउटै गतिमा चलाउने सूर्य पो नायक हुन् कि ? सबैलाई चाहिने, सधैँलाई चाहिने पानी पो जीवन र जगतको नायक हो कि ? बाख्राको ठूलो पाठो, जसको पछिपछि अरू साना पाठाहरू लाग्छन्, त्यही ठूलो पाठो पो नायक हो कि ? नायक चिन्ने खोजीभित्र नेतृत्वको महत्त्व लुकेको छ । नेतृत्व गर्नसक्ने नै नायक हो भन्ने सत्य आभासको मनमा उठेका यी प्रश्नहरूमा निहित छन् ।
नेतृत्व गर्ने क्षमतामात्रै होइन, अरूको हित सोच्ने र हित गर्ने असल सोच र विचार भएको जुनसुकै पात्र नायक हो भन्ने आशय पनि यी प्रश्नहरूमा निहित छन् । त्यसैले हजारौँ विद्यार्थीको सुन्दर भविष्य निर्माण गर्ने विद्यालयका हेडसरलाई विद्यालयको नायकको रूपमा परिकल्पना गरिएको छ । असल नेतालाई जनताको नायकको रूपमा हेरिएको छ । अनि एउटा परिवारमा सम्पूर्ण जिम्मेवारी बोध गर्ने र त्यो जिम्मेवारी निर्वाह गर्ने अभिभावकलाई परिवारको नायकको रूपमा हेरिएको छ । नायकमा नेतृत्वको क्षमता हुनुपर्छ र अरूको हित गर्ने सोच, विचार र सोही अनुरूपको आचरण हुनुपर्छ भन्ने निष्कर्ष नै यी सबै सोच, अवधारणा र परिकल्पनाको एउटै निचोड हो ।
यो उपन्यासमा एउटा स्कुलको बालक्लबको अध्यक्ष चयन गर्ने सन्दर्भलाई कथानकको केन्द्रबिन्दु बनाइएको छ । कथानकको मूलपात्रको रूपमा आभासलाई उभ्याइएको छ भने उनीसँगसँगै अर्की पात्र आराधनालाई मूल पात्रसँगै जोडेर कथानक बुनिएको छ । कथानकभित्र अरू सहायक पात्रहरूमा विशेषगरी विराट र स्मितालाई महत्त्वपूर्ण भूमिकामा उभ्याइएका छन् । यद्यपि तिनको चरित्रलाई नकारात्मक रूपमा प्रस्तुत गरिएको छ । यस अर्थमा तिनलाई खलपात्र पनि भन्न सकिन्छ । तिनै खलपात्रको चरित्रले गर्दा कथानकमा द्वन्द्वको अवस्था राम्रैसँग सिर्जना भएको पाइन्छ ।
नाम र पदले मात्रै नायक भइने होइन । यस कुरालाई कथानकले प्रष्ट पारेको छ । बालक्लबका अध्यक्ष नै विद्यार्थीहरूको नायक हुने हो । बालक्लबको अध्यक्ष हुनका लागि चाहिने योग्यता, क्षमता अथवा गुणको वर्णनले नायक हुनका लागि त्यस्ता केही योग्यता, क्षमता र गुण आवश्यक हुन्छ भन्न खोजिएको छ । बालक्लबको अध्यक्ष अथवा विद्यार्थीहरूको नायक हुन चाहने पात्रले आफूलाई कसरी प्रस्तुत गर्छ र कस्तो योग्यता, क्षमता र गुणको प्रदर्शन गर्छ भन्ने कुराको आधारमा मूल्याङ्कन गर्दै बालक्लबको अध्यक्ष चयन गर्ने प्रक्रियाले वास्तविक नायकलाई पनि परिभाषित गरेको पाइन्छ ।
विद्यार्थीको साथी, शिक्षक र अभिभावकसँग गरिने व्यवहार, कक्षा कार्य, परियोजना कार्य, प्रयोगात्मक कार्यमा सहभागिता, अतिरिक्त क्रियाकलापमा सक्रियता र सहभागिता, अनुशासन, इमानदारी, सत्यता, लगनशीलता, सफा सुग्घर, बोलीमा नम्रता र निखारता, सहयोगी भावना, सकारात्मक सोच आदिलाई नै बालक्लबको अध्यक्ष बन्नका लागि आवश्यक योग्यता, क्षमता र गुणको रूपमा रहेको यथार्थलाई मनन गर्दै आभासले सोही अनुरूपको चरित्र, आचरण र व्यवहार प्रस्तुत गर्छन् । त्यसका लागि आराधनाले पनि निरन्तर साथ, सहयोग र प्रेरणा दिइरहन्छिन् । विराटले भने त्यसको उल्टो चरित्र, आचरण र व्यवहार प्रस्तुत गर्छन् । सोही आधारमा आन्तरिक मूल्याङ्कन गर्दै बालक्लबको अध्यक्ष छनोट समितिले आभासलाई नै अध्यक्ष छनोट गर्ने निर्णय गर्छ ।
उपन्यासको अन्त्यमा घटनाले अर्कै मोड लिन्छ । आभासले आफू एउटा पात्रकै रूपमा भूमिका निर्वाहमात्र गरेको तर वास्तविक निर्देशक अर्थात असल पात्रको भूमिका निर्वाह गर्न साथ, सहयोग र प्रेरणा दिने आराधना नै बालक्लबको अध्यक्ष हुन लायक छिन् र उनी नै वास्तविक नायक हुन् भन्ने आभासको विचार सुनेपछि हेडसरले आराधनालाई बालक्लबको अध्यक्ष चयन गर्ने निर्णय गर्छन् । कथानकको नयाँ मोड अत्यन्तै रोचक छ र सन्देशमूलक पनि छ । पुरुषसत्ताको परम्परावादी सोचलाई परिवर्तन गर्दै नारीवादी दृष्टिकोणलाई प्रश्रय दिने गरी नारीलाई नेतृत्व दिने नयाँ सोचले वैचारिक परिवर्तनको आभास पनि दिन्छ । अन्त्यमा, नायक हुन नेतृत्वक्षमता हुनुपर्छ र त्यो क्षमतामा सकारात्मक गुण हुनुपर्छ भन्ने सन्देश नै यो उपन्यासको अन्तिम निष्कर्ष हो ।
किशोरकिशोरीको मनमा कहिलेकाहिँ उत्पन्न हुने भावनात्मक उत्तेजनालाई आभास र आराधनाको मित्रवत् सम्बन्ध र त्यसले उनीहरूको मनमा उत्पन्न भएको अदृश्य आकर्षण र प्रेमिल भावनाको उद्वेलनको माध्यमबाट प्रस्तुत गरिएको छ । यद्यपि यस्तो प्रेमिल भावनालाई अत्यन्तै संयमित र मर्यादित ढङ्गले प्रस्तुत गरिएको छ ।
यस उपन्यासमा आभासको नायक बन्ने सपना हरेक मान्छेको किशोरावस्थामा उत्पन्न हुने स्वाभाविक सोच र एउटा महान सपना हो । यसमा सामाजिक व्यवहारको प्रभाव र प्रेरणाको पनि भूमिका हुन्छ । यसैगरी आराधनाको नेतृत्वप्रतिको दूरदर्शिता उनीभित्रको चेतनाको परिणाम हो । अर्का पात्र विराटभित्रको अहङ्कार पनि घरपरिवार र समाजको व्यवहारबाट किशोर मनोविज्ञानमा पारेको प्रभाव नै हो । त्यो अहङ्कारलाई साथी सम्बन्धले थप मलजल गरेको छ ।
किशोरकिशोरीको मनमा कहिलेकाहिँ उत्पन्न हुने भावनात्मक उत्तेजनालाई आभास र आराधनाको मित्रवत् सम्बन्ध र त्यसले उनीहरूको मनमा उत्पन्न भएको अदृश्य आकर्षण र प्रेमिल भावनाको उद्वेलनको माध्यमबाट प्रस्तुत गरिएको छ । यद्यपि यस्तो प्रेमिल भावनालाई अत्यन्तै संयमित र मर्यादित ढङ्गले प्रस्तुत गरिएको छ । स्कुल पढ्ने किशोरकिशोरीबीचको प्रतिस्पर्धात्मक भावना, इर्ष्या, अहम् र कहिलेकाहिँ जानीनजानी गरिने दुर्व्यवहारका घटनाहरूलाई अत्यन्तै स्वाभाविक रूपमा प्रस्तुत गरिएकाले उपन्यास साँच्चै यथार्थपरक देखिएको छ । साथै पात्रहरूको सन्तुलित चरित्रचित्रणका कारण यथार्थ र आदर्शको सन्तुलन पनि देखिएको छ ।
अकस्मात् कथानकलाई नयाँ मोड दिँदै आराधनालाई बालक्लबको अध्यक्ष चयन गर्नुलाई नारीवादी दृष्टिकोण र लैङ्गिक समानतालाई महत्व दिइएको अर्थमा बुझ्न सकिन्छ । यसैगरी आराधनाको नेतृत्वक्षमता र दूरदर्शी चेतनालाई महत्व दिएर नारीवादी दृष्टिकोणलाई प्रवर्द्धन गर्न खोजेको देखिन्छ । मित्रता र घतिष्ठता हुँदै प्रेमको अङ्कुरलाई हुर्कने अवसरलाई समेत उत्तिकै महत्व दिइएको यो उपन्यासमा नैतिकतासँगसँगै सामाजिक मूल्य र मान्यताको संरक्षण र संवर्द्धनमा पनि टेवा पुर्याउने उद्देश्य निहित छ । अत्यन्तै व्यावहारिक र यथार्थपरक कथानक बुनिएको र सरल भाषाशैली र सहज प्रवाहमा लेखिएको यो उपन्यास सन्देशमूलक, प्रेरणादायी र पठनीय छ ।







खर्क व्यवस्थापनबाट जलवायु र बेरोजगारीको
अपहरणमा परेको १२ दिनपछि १५
विपद् व्यवस्थापनको लागि संसदीय उच्चस्तरीय
मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय
जलवायु परिवर्तनको असर न्यूनीकरण तथा
एनपीएलमा अहिलेसम्मकै ठूलो ‘स्टार’ इन्ट्री,