काठमाडौं । प्रकृतिको विपत्ति जति क्रूर हुन्छ, कहिलेकाहीँ मानिसको बाँच्ने इच्छाशक्ति र संघर्ष त्योभन्दा पनि शक्तिशाली सावित हुँदो रहेछ । भदौ १० गते रसुवाको भोटेकोशी र नुवाकोटको त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले सयौँ परिवारको उठिवास लगायो । धेरैले आफ्ना प्रियजन गुमाए भने धेरै अझै बेपत्ता छन् । विपत्तिको यो कहालीलाग्दो अवस्थामा बाढी आएको करिब दुई साता पुग्न लाग्दा केही यस्ता चामत्कारिक घटनाहरू बाहिर आएका छन्, जसले विपद्मा परेका अन्य नागरिकहरू पनि कतै जीवितै पो छन् कि भन्ने आशाको सञ्चार गराएको छ । बाढीको चपेटामा परेका संरचना र सुरुङहरूबाट दशौँ र एघारौँ दिनमा मानिसहरूको जीवितै उद्धार भएको घटनाले सबैलाई सुखद आश्चर्यमा पारेको छ ।
नुवाकोटको बेत्रावतीमा त्रिशूलीको विनाशकारी बाढीले घर बगाएपछि परिवारले पूर्णरूपमा माया मारिसकेकी एक महिलाको ११औँ दिनमा जीवितै उद्धार गरिएको छ । उद्धार हुनेमा विदुर नगरपालिका वडा नम्बर १० की ६४ वर्षीया चण्डिका श्रेष्ठ हुनुहुन्छ । उहाँलाई शनिबार सशस्त्र प्रहरी बलको टोलीले भग्नावशेषबाट बाहिर निकालेको हो । यो घटनाले विपत् व्यवस्थापन र उद्धार कार्यमा खटिएका सुरक्षाकर्मीहरूलाई समेत चकित पारेको छ ।
काजकिरिया भइरहेको चण्डिकाको ११औं दिनमा जीवितै उद्धार
बाढीले चण्डिका र उहाँका श्रीमान् आनन्द श्रेष्ठ घरभित्रै रहेको बेला साढे चार तल्लाको घरलाई नै जुरुक्कै उचालेर बगाएको थियो । बाढी आएको आठ दिनसम्म निरन्तर खोजी गर्दा पनि कुनै अत्तोपत्तो नलागेपछि उहाँको परिवारले पूर्णरूपमा आशा मारिसकेको थियो । बाढीले बगाएको घर त्रिशूलीको किनारमा पुगेर दलदलमा अड्किएको थियो । उहाँका ज्वाइँ लगायतका आफन्तले दुई–तीन दिनसम्म बेत्रावती र त्रिशूलीको किनारमा निकै खोजतलास गरेका थिए । तर, वरपर बेपत्ता भएका मानिसहरूको शव गन्हाउन थालेको र मास्कबिना त्यहाँ जानै नसकिने अवस्था सिर्जना भएपछि उनीहरू निराश भएर फर्किएका थिए ।
दलदल र भग्नावशेषका कारण उद्धार टोलीसमेत त्यहाँसम्म पुग्न सकेको थिएन । घरका सबै सदस्य र आफन्तहरूले अब चण्डिका यस संसारमा नभएको निष्कर्ष निकाल्दै कुशको शव बनाएर काजकिरिया र दाहसंस्कार गर्ने निधो गरेका थिए । त्यसपछि काठमाडौंको सानो भर्याङस्थित घरमा श्रेष्ठको मृत्यु संस्कार सुरु भइसकेको थियो । एकातिर परिवार काजकिरियामा बसेको थियो भने अर्कोतिर चण्डिका भने मृत्युलाई जितेर भग्नावशेषभित्र सास फेरिरहनु भएको थियो ।
उहाँका सम्धी रमेशमान श्रेष्ठका अनुसार, एउटा मनले पूर्णरूपमा हार माने पनि अर्को मनमा कतै माथिल्लो तल्लामा चाउचाउ वा पानी खाएर बसेकी पो छिन् कि भन्ने झिनो आशा बाँकी नै थियो । तर, वडा कार्यालयको प्रक्रिया र तत्कालीन परिस्थितिले गर्दा उनीहरूले दाहसंस्कारको काम अघि बढाएका थिए । ११औँ दिनमा जब चण्डिका जीवितै फेलापरेको खबर आयो, परिवारको खुसीको कुनै सीमा रहेन । छोरीको फोन र फेसबुकबाट खबर पाएलगत्तै रमेशमान अस्पताल पुग्नुभएको थियो ।
स्थानीय बासिन्दा नारायणलाल डंगोलका अनुसार बाढीले घर बगाएर करिब ५० मिटर पर पुर्याएको थियो । बगरमा मानिसहरूको आउजाउ भइरहेको र बाटो खन्ने काम पनि सुरु भएको बेला भग्नावशेषबाट मानिसको मधुरो आवाज सुनिएको थियो । आवाज सुनेलगत्तै विदुर नगरपालिका वडा नम्बर १० का वडा सदस्य मंगल तामाङ लगायतका स्थानीयले उद्धारका लागि प्रहरीलाई खबर गर्नुभएको थियो ।
नुवाकोटका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीका अनुसार आधा पुरिएको अवस्थामा रहेको घरभित्रबाट मानिसको आवाज आएको जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक सुमन विकको कमाण्डमा टोली खटिएको थियो । प्रहरीले सावधानीपूर्वक उत्खनन गर्दा उहाँलाई अर्धअचेत अवस्थामा जीवितै फेला पारेको हो । उद्धारपछि हेलिकप्टरमार्फत त्रिशूलीस्थित नेपाली सेनाको मैबल ब्यारेकमा प्रारम्भिक उपचार गरेर उहाँलाई अहिले काठमाडौंको छाउनीस्थित सैनिक अस्पतालमा ल्याइएको छ । उहाँका श्रीमान् आनन्द श्रेष्ठ भने अझै सम्पर्कविहीन हुनुहुन्छ । अस्पतालमा चिकित्सकहरूले ७२ घण्टासम्म बिरामीलाई भेट्न नदिने भनेपछि परिवारका सदस्यहरू बाहिरैबाट हेरेर पर्खिरहेका छन् ।
सुरुङभित्रबाट पनि सकुशल निकालियो तीन जना
चण्डिका श्रेष्ठको मात्र होइन, बाढी आएको १०औँ र ११औँ दिनमा जलविद्युत् आयोजनाका सुरुङभित्र फसेका अन्य तीन जनाको पनि सकुशल उद्धार भएको छ । शनिबार नै रसुवाको अपर त्रिशूली-१ को सुरुङबाट एक चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार चिनियाँ नागरिक लु हाइताओलाई सुरुङको २२५ मिटर भित्रबाट सुरक्षित रूपमा बाहिर निकालिएको हो ।
यसअघि शुक्रबार दशौँ दिनमा त्रिशूली ३ ‘ए’ को सुरुङबाट पनि दुई जनाको उद्धार गरिएको थियो । सुरुङभित्र फसेका सञ्जय साह र कविर महर्जनलाई जीवितै बाहिर निकालेपछि अन्य मजदुरहरू पनि जीवितै हुनसक्ने आशा पलाएको छ । भोटेकोशी बाढी प्रभावित क्षेत्रका धेरैजसो जलविद्युत् आयोजनाहरूमा निर्माणको काम भइरहेको थियो । आधाभन्दा बढी आयोजनाका सुरुङमा मजदुरहरू कार्यरत रहेको बेला बाढी पसेकाले अझै धेरै मानिसहरू सुरुङभित्रै फसेको अनुमान गरिएको छ ।
अझै बाँकी छ सासको आस
सुरुङको भौगोलिक जटिलता र भग्नावशेषका कारण धेरै स्थानमा उद्धारकर्ताहरू पुग्न सकेका छैनन् । सुरुङमा मात्र मानिसहरू फसिरहेको अनुमान गरिरहेका बेला चण्डिका श्रेष्ठको घरभित्रैबाट जीवित उद्धार भएपछि सुरक्षा निकायले आफ्नो खोजी अभियानको रणनीतिमा समेत परिवर्तन ल्याएको छ । अब बाढीले बगाएका घरका संरचनाभित्र पनि मानिसहरू फसेको हुनसक्ने तथ्य बाहिर आएकाले सोहीअनुरूप खोजी कार्य तीव्र पारिएको छ ।
बाढीका कारण रसुवागढीदेखि धादिङको गल्छीसम्मका सयौँ घरहरूमा क्षति पुगेको छ । धेरै बस्तीका घरहरू पुरिएका छन् भने कतिपय घरहरू बाढीले पल्टाएको अवस्थामा छन् । यस्ता घरहरूमा पनि मानिसहरू च्यापिएर जीवितै हुनसक्ने सम्भावना बढेको छ । गृहमन्त्री सुधन गुरुङले बाढी प्रभावित क्षेत्रहरूमा अहिले पनि खोज तथा उद्धारको कार्य निरन्तर भइरहेको र प्राविधिक तथा सुरक्षाकर्मीहरूले सुरुङभित्र फसेकाहरूको अवस्था पत्ता लगाउन अथक प्रयास गरिरहेको जानकारी दिनुभएको छ ।
दिन लम्बिँदै जाँदा बेपत्ता परिवारका सदस्यहरूको चिन्ता बढ्दै गए पनि पछिल्ला दुई दिनमा भएका यी चार जनाको उद्धारले विपद् व्यवस्थापनको पर्खाइमा रहेकाहरूलाई ठूलो आशाको सञ्चार गरेको छ । अझै पनि भग्नावशेष र अँध्यारा सुरुङहरूभित्र कसैको सास बाँकी नै छ कि भनेर सम्पूर्ण उद्धार संयन्त्रले आफ्नो क्षमताको अधिकतम् प्रयोग गरिरहेको छ ।







अपहरणमा परेको १२ दिनपछि १५
विपद् व्यवस्थापनको लागि संसदीय उच्चस्तरीय
मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय
जलवायु परिवर्तनको असर न्यूनीकरण तथा
एनपीएलमा अहिलेसम्मकै ठूलो ‘स्टार’ इन्ट्री,
विपद् व्यवस्थापनमा संसदीय उच्चस्तरीय समिति