‘अग्निर्देवता.....’अर्थात् अग्नि देवता हुन् र सर्वत्र पूज्य छन् । नित्य रहने र कहिल्यै नष्ट नहुने पृथ्वी, जल, तेज, वायु र आकाशमध्येका तेज तत्त्व अग्नि हुन् । अग्नि हाम्रो जीवनका आधार हुन् । अर्थात् तापविना हाम्रो अस्तित्व सम्भव हुँदैन । हाम्रो शरीरमा अनेक प्रकारका अग्नि विद्यमान छन् । यसैले त वैदिक सभ्यताको आरम्भसँगै अग्निका बारेमा विशद् विवेचना भएको पाइन्छ । ऋग्वेदको पहिलो मन्त्र ‘अग्निमीलेपुरोहितम्...’अग्निबाट आरम्भ भएको छ । धर्मकी वसु नाम गरेकी पत्नीबाट सर्वप्रथम अग्नि उत्पन्न भएका हुन् । अग्निकी पत्नी स्वाहा हुन् । अग्नि सबै देवताका मुख पनि हुन् । यज्ञमा देवतको नाम लिएर दिएको आहुति अग्निद्वारा तत् देवतासमक्ष पुग्दछ (गीता) ।
ऋग्वेदमा अग्नि सबैभन्दा प्रमुख देवतामध्ये एक हुन् भनी बताइएको छ । इन्द्रसँगै अग्निको स्तुति अत्यन्त व्यापक रूपमा पाइन्छ । अग्नि गृहपति, पुरोहित, होता, ऋत्विज्, हव्यवाहन, दूत, देवयाजक, पावक, कवि, जातवेदस आदि अनेक नाम र विशेषणले सम्बोधित छन् । ऋग्वेदको पहिलो ऋचामै अग्निलाई ‘पुरोहितम्’, ‘ऋत्विजम्’ र ‘होतारम्’ भनिएको छ ।
अग्निको रङ रातो वा रातो पहेलो मिश्रित हुन्छ । अग्निका सात जिह्वा-काली, कराली, मनीजवा, सुलोहिता, धूम्रवर्ण, स्फुलिंगिनी र विश्वरुचि हुन् । अग्निदेवकी पत्नी स्वाहाबाट पावक (दाक्षिणाग्नि), पवमान (गार्हस्पत्य) र शुचि (आवाहनीय) तीन पुत्र भए (श्रीमद्भागवत, ४।१।६०) । अग्नि आग्नेय कोणका अधिपति हुन् । अग्निदेवको बीजमन्त्र ‘र’ तथा मुख्य मन्त्र ‘रं वह्निचैतन्याय नमः’ हो । अग्निका अंगका बारेमा पनि शास्त्रमा वर्णन पाइन्छ । काठ वा समिधा अग्निका कान हुन् । धुवाँ-नाक, मन्द बलेको भाग-आँखा, खरानी–शिर, कुश विधिपूर्वक राखिएको स्थान-केश, राम्रोसँग बलेको अग्निको भाग-जिह्वा हो-
‘यत्र काष्ठं तु तच्छोत्रं यत्र धूमस्तु नासिका ।। यत्राल्पज्वलनं नेत्रं यत्र भस्मसु तच्छिरः ।
यत्र सम्यक्स्थिता दर्भास्तत्र केशाः प्रकीर्तिताः ।।
यत्र प्रज्वलितो वह्निः सा जिह्वा तस्य वै रमे ।
अग्नेः शिरसि होमश्चेत् पापं केशे दरिद्रता ।।’ (प्रश्नसंहिता, ५१।८५–८७)
हाम्रा जीवन पद्धतिमा पनि अग्निहोत्रीको विशेष महिमा रहेको छ । नित्य अग्निमा हवन गरेपछि मात्र अन्य कार्यमा प्रवृत्त हुने हाम्रो परम्परा हो । यसैले अग्निको विशेष महिमा रहेको पाइन्छ । अग्निलाई यज्ञका पुरोहित, ऋत्विज्, होता तथा रत्न प्रदान गर्ने देवताका रूपमा सम्बोधन गरिएको छ । यसरी अग्नि केवल भौतिक आगोमात्र नभई देवता र मानवबीचको सम्बन्ध स्थापित गर्ने माध्यम, यज्ञका केन्द्र, पवित्रताका प्रतीक तथा जीवनशक्तिका द्योतक देवता हुन् ।
ऋग्वेदमा अग्नि सबैभन्दा प्रमुख देवतामध्ये एक हुन् भनी बताइएको छ । इन्द्रसँगै अग्निको स्तुति अत्यन्त व्यापक रूपमा पाइन्छ । अग्नि गृहपति, पुरोहित, होता, ऋत्विज्, हव्यवाहन, दूत, देवयाजक, पावक, कवि, जातवेदस आदि अनेक नाम र विशेषणले सम्बोधित छन् । ऋग्वेदको पहिलो ऋचामै अग्निलाई ‘पुरोहितम्’, ‘ऋत्विजम्’ र ‘होतारम्’ भनिएको छ । यसको आशय के हो भने यज्ञमा अग्निको भूमिका केवल आहुति जलाउने माध्यमको मात्र होइन, अग्नि स्वयं यज्ञीय कर्मका पुरोहित तथा देवतासम्म हवि पुर्याउने शक्ति हुन् ।
सायणाचार्यले पनि ‘पुरोहित’ शब्दको व्याख्या गर्दै अग्निलाई यज्ञको अग्रभागमा स्थापित गरिने तथा गृहकर्मको निरीक्षण गर्ने पुरोहितका रूपमा व्याख्या गरेका छन् । यज्ञमा देवताहरूलाई हवि अर्पण गरिन्छ र त्यस हविलाई देवतासम्म पुर्याउने प्रमुख शक्ति अग्नि मानिन्छन् । यसैले अग्निको एउटा अत्यन्त महत्त्वपूर्ण नाम ‘हव्यवाहन’ (हवि वहन गर्ने) हो । यस दृष्टिले अग्नि दुई लोकका सेतु पनि हुन् । भूर्लोक वासीले अर्पण गरेका कुरा स्वर्गलोकमा पितृलोकमा पुर्याउने अग्नि नै हेनु ।
अग्निको अर्को महत्त्वपूर्ण रूप गृहस्थ जीवनसँग सम्बन्धित गृहपतिको हो । वैदिक परम्परामा अग्नि घरको अत्यन्त आवश्यक अंग हो । भोजन पकाउने भौतिक अग्निदेखि लिएर धार्मिक संस्कारमा प्रयोग हुने पवित्र अग्निसम्म यसअन्तर्गत पर्दछन् । ऋग्वैदिक चिन्तनमा प्रत्येक गृहमा अग्निको उपस्थिति शुभ र रक्षक मानिन्छ । अग्नि परिवारको समृद्धि, निरन्तरता र धार्मिक जीवनका केन्द्र हुन् । गर्भाधानदेखि नामकरण, व्रतबन्ध, विवाह हुँदै अन्त्येष्टिसम्मका संस्कारमा अग्निको उपस्थिति अनिवार्य रहन्छ । यसैगरी विभिन्न यज्ञ यागादि, गृहप्रवेश, वास्तु, पुराणआदि यज्ञकर्ममा पनि अग्निदेवको पूजाका साथै अग्निको उपस्थिति पनि अनिवार्य रहन्छ ।
त्यस्तै अग्निलाई विभिन्न स्थानमा प्रकट हुने देवताका रूपमा पनि वर्णन गरिन्छ। अग्नि काष्ठमा सुप्त अवस्थामा हुन्छन्, अरणि–मन्थनबाट प्रकट हुन्छन् । यसरी अदृश्य रूपमा निहित शक्ति उपयुक्त प्रयत्नबाट प्रकट हुने अवधारणा अग्निसम्बन्धी वैदिक प्रतीकका रूपमा लिइन्छ । यसैले विशेष यज्ञमा अरणिमन्थन गरिन्छ । जो काठमा रहेको सुप्त अग्निको जागृति हो । अग्नि प्रकाश पनि हो । सूर्यमा भएको अग्निले नै प्रकाश दिएको कुरा आजको विज्ञानले पनि बताएको पाइन्छ । अन्धकारलाई हटाएर प्रकाश उत्पन्न गर्ने भएकाले अग्नि ज्ञान, जागरण र चेतनासँग पनि प्रतीकात्मक रूपमा सम्बन्धित रहेको पाइन्छ ।
वैदिक धर्मदर्शनमा ऋत विश्वव्यापी व्यवस्था, सत्य तथा प्राकृतिक-नैतिक नियमको अवधारणा हो । अग्नि यस ऋतसँग पनि सम्बन्धित छन् । ऋग्वेदमा अग्निलाई ‘ऋतस्य गोपा’ अर्थात् ऋतका रक्षकका रूपमा सम्बोधन गरिएको छ । यसबाट अग्निको भूमिका धार्मिक अनुष्ठानमा मात्र सीमित नभएको स्पष्ट हुन्छ । यज्ञ सही विधिले सम्पन्न हुनु, आहुति उचित रूपमा अर्पण हुनु र देव-मानव सम्बन्ध कायम रहनु वैदिक दृष्टिमा ऋतको संरक्षणसँग सम्बन्धित विषय हुन् ।
ऋग्वैदिककालदेखि प्रारम्भ भएको अग्निको महत्त्व उत्तरवर्ती वैदिक, ब्राह्मण, श्रौत, गृह्य तथा स्मार्त परम्परामा निरन्तर विकसित भएको छ । यज्ञीय अग्निका विभिन्न रूप, गार्हपत्य, आहवनीय र दक्षिणाग्नि आदिको व्यवस्थापछि विकसित वैदिक श्रौतपरम्परामा अत्यन्त महत्त्वपूर्ण पाइन्छ । गृह्यसूत्रीय संस्कारमा पनि अग्नि केन्द्रमा रहेका छन् । विवाहमा अग्निप्रदक्षिणा, अग्निसाक्षी, लाजाहोम, गृहप्रवेश तथा अन्य संस्कारहरू यसै परम्पराको निरन्तरता हुन् ।
अग्निको अर्को प्रमुख गुण पावकत्व अर्थात् शुद्ध पार्ने शक्ति हो । अग्निले पदार्थलाई जलाउँछन्, अशुद्ध वस्तुलाई नष्ट गर्छन् र नयाँ अवस्थाको निर्माण गर्छन् । यही प्राकृतिक गुण धार्मिक प्रतीकमा पाप, दोष र अशुद्धताको निवारणसँग जोडिएको छ । अधिकांश धातुलाई शुद्धीकरणका निम्ति अग्निको नै उपयोग गरिन्छ । सुनको परीक्ष पनि अग्निमा नै हुन्छ । यसैगरी अग्निपरीक्ष भन्ने उक्ति नै प्रचलित पाइन्छ । अग्निसाक्षी राखेर विवाह, व्रतबन्ध आदि संस्कारका कार्य सम्पादन गर्ने व्यवस्था पनि हाम्रा वैदिक पद्धतिमा रहेका छन् । अग्निहोत्र, दर्श–पूर्णमास, श्रौतयज्ञ तथा विभिन्न संस्कारमा अग्निको प्रयोग अनिवार्य रहन्छ ।
अग्नि स्वर्य देवताका साथै अन्य देवताहरूलाई यज्ञस्थलमा ल्याउने शक्ति पनि हुन् । ऋग्वेदमा अग्निले देवताहरूलाई यज्ञस्थलमा ल्याउने कुरा बताइएको छ । यसरी अग्नि देवताहरूका दूत तथा देवताहरूलाई आमन्त्रण गर्ने शक्ति हुन् । यज्ञमा अग्नि प्रज्वलित गर्नु भनेको देवताहरूको उपस्थितिका लागि धार्मिक वातावरण तयार गर्नु हो । अग्निले इन्द्र, मरुत् आदि देवताहरूलाई यज्ञमा ल्याउने कुराको वर्णन वेदमा पाइन्छ । अग्नि स्वयं देवता हुनुका साथै ऋषिसमान ज्ञानयुक्त र देवकार्य सम्पन्न गर्ने शक्ति रहेको पाइन्छ ।
अग्नि स्वयं पृथ्वीमा देखिन्छन् तर ज्वाला आकाशतर्फ उठ्छ । यसैले पृथ्वीमा उत्पन्न भएर देवतासम्म हवि पुर्याउने माध्यम पनि अग्नि हुन् । यसरी अग्निले भौतिक र आध्यात्मिक जगत्लाई जोड्ने प्रतीकको रूप धारण गर्छन् । अग्निको ज्वाला सधैं ऊर्ध्वगामी हुन्छ । यस कारण अग्निलाई मानव चेतनाको उन्नतिको प्रतीकका रूपमा पनि व्याख्या गर्न सकिन्छ । स्थूल पदार्थलाई ग्रहण गरेर अग्निले त्यसलाई प्रकाश र ऊर्जामा परिणत गर्छन् ।
ऋग्वैदिक कालदेखि प्रारम्भ भएको अग्निको महत्त्व उत्तरवर्ती वैदिक, ब्राह्मण, श्रौत, गृह्य तथा स्मार्त परम्परामा निरन्तर विकसित भएको छ । यज्ञीय अग्निका विभिन्न रूप, गार्हपत्य, आहवनीय र दक्षिणाग्नि आदिको व्यवस्थापछि विकसित वैदिक श्रौतपरम्परामा अत्यन्त महत्त्वपूर्ण पाइन्छ । गृह्यसूत्रीय संस्कारमा पनि अग्नि केन्द्रमा रहेका छन् । विवाहमा अग्निप्रदक्षिणा, अग्निसाक्षी, लाजाहोम, गृहप्रवेश तथा अन्य संस्कारहरू यसै परम्पराको निरन्तरता हुन् ।
सर्वकल्याणका मूल स्रोत अग्नि बहुआयामी देवताका रूपमा शास्त्रले वर्णन गरेको पाइन्छ । प्रत्यक्ष देखिने प्राकृतिक अग्नि हुन् भने अर्कोतर्फ यज्ञका पुरोहित, होता, ऋत्विज्, हव्यवाहन र देवदूत पनि हुन् । यसैगरी अग्निलाई गृहपति, रक्षक, धनदाता, पावक, कवि, ऋतका रूपमा पनि पूजा गरिन्छ । ऋग्वेदको प्रथम मन्त्रबाटै अग्निलाई यज्ञको पुरोहित र रत्न प्रदान गर्ने देवताका रूपमा स्थापित गरिएको छ । वैदिक परम्परामा अग्निलाई केवल जलिरहेको आगो भनेर बुझ्नु अपूर्ण हुन्छ । अग्नि ऊर्जा, प्रकाश, यज्ञ, शुद्धीकरण, ज्ञान, त्याग, रूपान्तरण र देव–मानव सम्बन्धका प्रतीक हुन् ।







न्याय परिषद्को निर्णय : तीन
आईसीयूभित्रै अन्तर्वार्ता प्रकरण संसदमा प्रवेशः
पुर्चौडीमा पहिरोले एक घर पूर्ण
पहिचान भइसकेका शव तत्काल परिवारलाई
सम्पत्ति शुद्धीकरण विभागका डिजीलाई पेस्तोल
आइतबारको बिदा कटौती गर्न राप्रपा