काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला परेको छ । बाढीमा परेर ५ हजार जना अझै सम्पर्कविहीन रहेका छन् ।
विनाशकारी बाढीपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार फेला परेका शवमध्ये चितवनमा सबैभन्दा बढी ३६० वटा रहेका छन् ।
त्यस्तै नवलपरासी पूर्वमा २२२, नवलपरासी पश्चिममा २१९, नुवाकोटमा १९५, रसुवामा १५६, गोरखामा ७४, धादिङमा ६७ र तनहुँमा ३८ वटा शव फेला परेका छन्। हालसम्म फेला परेकामध्ये ९८ वटा शवको मात्रै सनाखत भई आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार बेपत्ता हुनेहरूमा नुवाकोटका करिब २ हजार ३४० जना, रसुवाका १ हजार ९६७ जना, ५८९ जना विदेशी नागरिक तथा १०० जना सुरक्षाकर्मी र सरकारी कर्मचारी रहेका छन्।
बाढी प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार १०१ जनाको सकुशल उद्धार गरिएको छ। जसमा नेपाली सेनाले ४ हजार १६२, नेपाल प्रहरीले ४ हजार ६८ र सशस्त्र प्रहरी बलले ४ हजार ८७१ जनाको उद्धार गरेका हुन्।
बाढीका कारण घाइते तथा प्रभावित भएका ५ हजार ९२९ जनाको उपचार गरिएको छ। जसमध्ये सेनाबाट ३ हजार २९७, सशस्त्र प्रहरीबाट २ हजार ३१६ र विभिन्न अस्पतालमा ३१६ जनाले स्वास्थ्योपचार सेवा लिएका छन्।
विस्थापित प्रभावितका लागि काठमाडौं, रसुवा, नुवाकोट र धादिङमा स्थापना गरिएका ४१ होल्डिङ सेन्टरमा ३ हजार ९८२ जनाले सुरक्षित आश्रय लिइरहेका छन्। विस्थापितहरूलाई राहत तथा पुनर्स्थापनाका लागि सरकारी निकायहरू निरन्तर खटिएका छन्।







आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा
भोटेकोशी बाढी : चिन्तित छन्
प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै
उत्तरगयाका १६५ बाढीपीडित परिवारलाई पोखराबाट
आज ऋषिपञ्चमी : ऋषेश्वर मन्दिरमा
बाढीले क्षति पुर्याएका झोलुङ्गे पुल