बाजुरा । अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्दा बाजुरा जिल्ला सदरमुकाम मार्तडी जोड्ने साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भएको छ ।
गएरातिदेखि लगातार परेको वर्षाका कारण बडीमालिका नगरपालिका–९ अन्तर्गत कारागार मोड, विनोद स्मृति प्रतीक्षालय, सेलागाड र सुवाकाँधलगायत स्थानमा सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
त्यस्तै, बडीमालिका नगरपालिका–८ को राप्का तथा वडा नं. ६ को जडाङ्गाललगायत स्थानमा पनि पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गगनसिंह भाटका अनुसार सडक अवरुद्ध भएको जानकारी प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक लक्ष्मी दत्त भट्टको कमान्डमा पाँच जनाको प्रहरी टोली घटनास्थलतर्फ खटाइएको छ ।
प्रहरी टोलीले बडीमालिका नगरपालिका र सडक विभागको जेसिबीको सहयोगमा पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास गरिरहेको छ । लगातार वर्षा भइरहेकाले सडकका अन्य स्थानमा समेत पहिरो खस्ने जोखिम रहेको प्रहरीले जनाएको छ ।
पहिरोका कारण सडक अवरुद्ध भएपछि साँफे–मार्तडी सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ । विभिन्न गन्तव्यतर्फ जाने सवारीसाधन बाटोमै रोकिएका छन् ।
वर्षा नरोकिएका कारण पहिरो पन्छाउने काममा समेत चुनौती देखिएको प्रहरीले जनाएको छ । सडक सुचारु गर्न सुरक्षाकर्मी, स्थानीय तह र सडक विभागको टोलीले आवश्यक समन्वय गरिरहेको छ ।







विपद् उद्धारका लागि भक्तपुर प्रशासनले
न्याय परिषद्को निर्णय : तीन
आईसीयूभित्रै अन्तर्वार्ता प्रकरण संसदमा प्रवेशः
पुर्चौडीमा पहिरोले एक घर पूर्ण
पहिचान भइसकेका शव तत्काल परिवारलाई
सम्पत्ति शुद्धीकरण विभागका डिजीलाई पेस्तोल