रौतहट । रौतहटको कटहरिया बजारमा चोरीको खसी खरिद–बिक्रीमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कटहरिया नगरपालिका–५ का २० वर्षीय मुकेश कुमार राम, १७ वर्षीय रुपेश राम, चोरीको खसी खरिद गरेको आरोप लागेका १८ वर्षीय समीर मन्सुरी र उनका साझेदार ४७ वर्षीय दिनेश दास बानियाँ रहेका छन् ।
प्रहरीका अनुसार मुकेश र रुपेशले स्थानीय सफ्रुला भनिने सफरुदिन मियाँ मन्सुरीको करिब १५ देखि २० किलो तौलको एउटा खसी बुधबार राति चोरी गरेका थिए। चोरी गरिएको उक्त खसी उनीहरूले समीर र दिनेशलाई १३ हजार रुपैयाँमा बिक्री गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
खसी चोरी भएको थाहा पाएपछि पीडित सफ्रुदिनले खोजी गर्ने क्रममा मुकेश र रुपेशलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय कटहरियामा बुझाएका थिए ।
त्यसपछि इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक जयप्रकाश साहको टोलीले उनीहरूसँग सोधपुछ गर्दा चोरीको खसी खरिदमा समीर र दिनेशको समेत संलग्नता खुलेको भन्दै दुवैलाई पक्राउ गरेको हो ।
चारै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाउने क्रममा केही बिचौलियाले घटनालाई गाउँमै मिलापत्रमार्फत टुंग्याउने प्रयास गरेको प्रहरी स्रोतले जनाएको छ ।
बिचौलियाले चारै जनालाई एकमुष्ट १ लाख २० हजार रुपैयाँ जरिवाना तिराएर मिलापत्र गराउने प्रयास गरे पनि वरिष्ठ सई साहले त्यसलाई अस्वीकार गरेको बताइएको छ ।
‘चोरीको घटना मिलापत्र गरेर आरोपीलाई छाड्दा गलत सन्देश जान्छ। दोषीमाथि कानुनी कारबाही हुनुपर्छ’ भन्दै साहले थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि चारै जनालाई शनिबार इलाका प्रहरी कार्यालय गरुडा पठाएको जनाइएको छ ।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायब उपरीक्षक शंकरप्रसाद आचार्यले चोरीको खसी खरिद–बिक्रीमा संलग्न रहेको आरोपमा चार जना नियन्त्रणमा रहेको पुष्टि गर्नुभएकाे छ ।
उनका अनुसार शनिबार साँझसम्म पीडित पक्षबाट औपचारिक जाहेरी प्राप्त भएको थिएन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







विपद् व्यवस्थापनमा संसदीय उच्चस्तरीय समिति
विपद् उद्धारका लागि भक्तपुर प्रशासनले
न्याय परिषद्को निर्णय : तीन
आईसीयूभित्रै अन्तर्वार्ता प्रकरण संसदमा प्रवेशः
पुर्चौडीमा पहिरोले एक घर पूर्ण
पहिचान भइसकेका शव तत्काल परिवारलाई