पाल्पा । पछिल्लो समय आधुनिकता र नयाँ पुस्ताको बदलिँदो जीवनशैलीका कारण परम्परागत कला, संस्कृति र मौलिक पहिचान ओझेलमा पर्दै गइरहेका बेला पाल्पाका युवाहरू भने लोपोन्मुख लाखे संस्कृति संरक्षणमा सक्रिय भएका छन् ।
कुनै समय नेवार समुदायको परम्परा, पहिचान र मनोरञ्जनसँग अभिन्न रूपमा जोडिएको लाखे नाँच पछिल्लो समय नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा लोप हुने अवस्थामा पुगेको छ । पुरानो पुस्ताले बिर्सिँदै गएको यही परम्परालाई जोगाउन पाल्पाली नाट्य कला सांस्कृतिक समूहमा आबद्ध युवाहरू अहिले सक्रिय भएका छन् । उनीहरूले घण्टाकर्णदेखि भगवती जात्रा सम्म हरेक दिन साँझ लाखे नाँच प्रदर्शन गर्दै संरक्षणमा जुटे ।
विशेषगरी विभिन्न चाडपर्व, जात्रा तथा सांस्कृतिक कार्यक्रममा लाखेको नाच प्रस्तुत गर्दै युवाहरूले पुरानो पुस्ताबाट हस्तान्तरण हुँदै आएको यो मौलिक संस्कृतिलाई नयाँ पुस्तासम्म पुर्याउने प्रयास गरिरहेका छन् । लाखे नाच केवल मनोरञ्जनको माध्यम मात्र नभई स्थानीय समुदायको इतिहास, धार्मिक विश्वास, कला र सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण परम्परा हो । तर पछिल्लो पुस्तामा यसको महत्व र अभ्यासबारे जानकारी कम हुँदै जाँदा लाखे संस्कृति नै लोप हुने जोखिम बढेको छ ।
नाट्य कला सांस्कृतिक समूहका अध्यक्ष किरण चित्रकार भन्छन् “बाबु–बाजेको परम्परा बिर्सिन थाल्यौं, त्यही भएर आफ्नो संस्कृति संरक्षणमा लागेका हौँ,” चित्रकार भन्नुहुन्छ, “लाखे नाच विस्तारै लोप हुँदै जान थालेको छ ।” नेवारी संस्कृति अन्य समुदायमाझ लोकप्रिय भए पनि आफ्नै समुदायले त्यसको संरक्षण गर्न नसकेकोमा चित्रकारको चिन्ता छ । “अरू समुदायमाझ नेवारी संस्कृति एकदमै लोकप्रिय छ, तर नेवार समुदायले नै संरक्षण गर्न सकिरहेका छैनौँ,”उहाँ भन्नुहुन्छ ।
चित्रकारका अनुसार पाँच सय वर्षअघि तत्कालीन पाल्पाली राजा मणिमुकुन्द सेनको पालादेखि पाल्पा र आसपासका जिल्लामा लाखे नाच्ने प्रचलन सुरु भएको र त्यसले अहिलेसम्म निरन्तरता पाएको छ । मणिमुकुन्द सेनले काष्ठकला र संस्कृतिकलामा निपुण नेवार समुदायलाई पाल्पा ल्याएको र उनीहरूमार्फत गुठी तथा जात्रा परम्परामार्फत लाखेनाँच पाल्पा भित्र्याएको इतिहासका जानकार बताउँछन् । लाखेनाचको आकर्षण यसको मुखौटा, वेशभूषा, बाजाको तालले दर्शकलाई छुट्टै रौनकता थप्ने गरेको छ । लाखेनाचमा डरलाग्दो मुखौटाको आकर्षणले बालबालिकादेखि पाका पुस्तासम्म यसको अवलोकनका लागि झुम्मिने गरेको इतिहासका जानकार पुष्करराज रेग्मीले बताउनुभयो । बाजाको तालमा लाखेको हाउभाउ, ढोल र झ्याम्टाको ताल र आकर्षक वेशभूषासहितको नाचले सबैलाई आकर्षित गर्ने गरेको उहाँले बताउनुभयो ।
लोप हुन लागेको लाखे नाँच संरक्षणका लागि पाल्पाली नाट्य कला सांस्कृतिक समूहले जात्राको अवरमा तानसेनका बसपार्क, हुलाकचोक, टक्सार, शीतलपाटी, नारायणस्थान, असनटोल र वसन्तपुरलगायतका स्थानमा हरेक दिन साँझ ६ बजेदेखि करिब तीन घण्टासम्म लाखे नाच प्रदर्शन गरे । यो नाँच काठमाडौँ उपत्यकामा प्रचलित परम्पराका रूपमा चिनिए पनि पछिल्लो समय पाल्पासहित अन्य स्थानमा पनि विस्तार हुँदै गएको छ । तानसेनबाहेक नेवार बस्ती रहेका रामपुर, सराई, हार्थोक र आर्यभञ्ज्याङमा समेत लाखे नाच नाच्ने परम्परा रहेको छ ।
संस्कृति संरक्षणमा युवाको सक्रियताले समुदायमा पनि सकारात्मक प्रभाव पारेको छ । स्थानीय तह, सांस्कृतिक संस्था तथा समुदायले आवश्यक सहयोग, प्रशिक्षण र नियमित सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न सके लाखे संस्कृतिको संरक्षण अझ प्रभावकारी हुने युवाहरूको अपेक्षा छ ।
पुस्तान्तरणको अभाव, आधुनिक मनोरञ्जनका साधनको बढ्दो प्रभाव र परम्परागत सामग्रीको अभावजस्ता कारणले चुनौतीमा परेको लाखे संस्कृतिलाई जोगाउन अब युवा पुस्ताको भूमिका महत्वपूर्ण हुने स्थानीय राजेन्द्र गोपाल सिंह बताउनुहुन्छ । पुराना पुस्ताको ज्ञान र नयाँ पुस्ताको सिर्जनशीलतालाई जोड्न सके लोपोन्मुखलाखे संस्कृति आगामी पुस्तासम्म सुरक्षित रूपमा पुर्याउन सकिने उहाँको भनाई छ । संस्कृति जोगाउने जिम्मेवारी सरकार वा कुनै एक संस्थाको मात्र नभई सम्पूर्ण समुदायको साझा दायित्व हो । त्यसैले आफ्नो मौलिक पहिचानप्रति सचेत हुँदै युवाहरूले थालेको लाखे संस्कृति संरक्षणको अभियानलाई निरन्तरता दिन सके यसले परम्परा जोगाउनुका साथै स्थानीय कला र संस्कृतिको प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्याउनेछ । मुखमा डरलाग्दो मुकुण्डो लगाएर दुईमध्ये एक जना लाखे र अर्को भुच्चा भएर नाचिने यो नाचमा लाखेले पछाडीपट्टि चौरी गाईको चमर र महिलाले लगाउने घाँघर, चोलो लगाउने गरेको पाइन्छ भने भुच्चाले पुरुष भेषमा पछाडीपट्टि मकैको पात वा कपडाको पुच्छर लगाउने गर्छन् ।







क्यासिनोमा नेपाली प्रवेश गराई जुवा
पहिरोको जोखिम मोलेर बजारसम्म कृषि
बाढीपछि रसुवामा हैजाविरुद्ध २१ हजार
कृष्णभीरमा खोलिएको ‘ट्रयाक’ लाई फराकिलो
खेतमा पानी तान्ने क्रममा करेन्ट
वर्षासँगै काठमाडौं उपत्यकामा पहिरोको जोखिम